सर्वाेच्च अदालतको आदेशपछि प्रकाण्ड थुनामुक्त,प्रहरीद्धारा पुन पक्राउ भोजपुर लाने तयारी

विदुर खबर २०७५ भदौ १८ गते १५:४४

Advertisement

नुवाकोट, सर्वाेच्च अदालतको आदेशपछि विप्लव माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई जिल्ला अदालत नुवाकोटले छाडेको छ । उनलाई अदालतले छाडेलगतै प्रहरीले पुन पक्राउ गरि भोजपुर लगेको छ ।

स्काभेटर जलाएको आरोपमा काठमाडौँमा भदौ ७ गते पक्राउ गरी भदौ ८ गते नुवाकोट ल्याइएको प्रवक्ता विश्वकर्मालाई आइतबार चौथोपटक अनुसन्धानका लागि जिल्ला अदालत नुवाकोटले तीन दिन म्याद थप गरेको थियो । अदालतबाट वाहिरीने क्रममा प्रकाण्डले संचारकर्मीहरुसँग सरकारले आफुलाई फसाउने नियतले आफुविरुद्ध मुद्धा दर्ता गरेको बताए । संचारकर्मीसँग निकै शालिन मुद्रामा प्रस्तुत भएका प्रकाण्डले भने “मैले गर्दै नगरेको काम सरकारले जबरजस्ती गरेको आरोप लगाउँदै छ । गरेको भए त मलाई अदालतले पनि त सफाइ दिँदैनथ्यो होला नी । ”

Advertisement

बेलकोटगढी नपा–९ देविस्थानस्थित सडकमा राखिएको बा२क ४८९३ र बा१क ६८८८ स्काभेटरमा गत साउन ७ गते राति आगजनी गरी क्षति पु¥याई फरार रहेको भनी विप्लव, प्रकाण्डसहित १५ जना विरुद्ध उजुरी दर्ता भएको छ । धमले–निरन्जना–नलगाउँ–दुईपीपल सडक निर्माणको काम गरिरहेको नागार्जुन कन्सट्रक्सनका ठेकेदार रामबाबु जिसीले उजुरी दर्ता गराउनु भएको थियो । स्काभेटर जलाएको आरोपमा परेको उजुरीमा नेत्रविक्रम चन्द ‘विप्लव’, खड्गबहादुर विक ‘प्रकाण्ड’, धर्मेन्द्र बास्तोला, सन्तोष बुढामगर, प्रकाश ओली, उमा भुलेज, चन्द्रबहादुर चन्द, मोहनबहादुर कार्की, मोहनलाल चन्द, अमर झाँक्री, उदय चलाउने, सविता तामाङ, सागर तिमल्सिना, विन्तोष सिलवाल र कृष्ण धमलाको नाम रहेको छ । उनको सर्मथनमा कार्यकर्ताले नाराजुलुस समेत गरेका थिए । कार्यकर्ताले प्रहरी प्रशासन विरुद्ध नाराबाजी समेत गरेका थिए ।

यसअघि आजै सर्वोच्च अदालतले प्रकाण्डलाई थुनामुक्त गर्न दिएको वन्दी प्रत्यक्षीकरण आदेशको पटक पटक उल्लंघन भएको ठहर गरेको थियो । न्यायाधीश सपना मल्ल प्रधान र टंकबहादुर मोक्तानको संयुक्त इजलासले नुवाकोटमा थुनामा रहेका प्रकाण्डलाई जिल्ला न्यायाधीशको रोहबरमा छाड्न आदेश दिएको थियो । यसअघि सर्वोच्चले दुई पटक थुनामुक्त गर्न आदेश दिएलगत्तै प्रहरीले प्रकाण्डलाई पक्राउ गरेको थियो । गैरकानुनी थुनाबाट मुक्त गर्ने आदेश दिँदादिँदै त्यसलाई उल्लंघन गरेर पुनः पक्राउ गरेको भन्दै सर्वोच्चले प्रकाण्डलाई थुनामुक्त गर्न आदेश समेत दिएको थियो ।

Advertisement

प्रतिक्रिया