प्रचण्डका घरबेटी अधिकारीको कम्पनीबाट खोसियो तीनपिप्ले-बञ्चरेडाँडा सडक निर्माण ठेक्का

विदुर खबर २०७९ भदौ १ गते ६:४०

नुवाकोट । तीनपिप्ले–बञ्चरे डाँडा सडक खण्डको बाटो निर्माणको ठेक्का पाएको शैलुङ इन्टरप्राइजेजकाे ठेक्का रद्द भएको छ। जिल्ला अदालत ललितपुरले यसअघि भएको अन्तरिम आदेशलाई खारेज गर्दै उक्त कम्पनीसँगको सडक विभागले गरेको ठेक्का रद्द गर्ने निर्णयलाई सदर गरेको हो।

Advertisement

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का घरबेटी शारदा अधिकारीको कम्पनी शैलुङ्ग इन्टरप्राइजेजले गत असार ५ गते सडक विभागले ठेक्का रद्द गर्ने निर्णय विरुद्ध जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गरेको थियो। उक्त मुद्दामा अदालतले अन्तरिम आदेश जारी गरेको थियो ।

मंगलबार ललितपुर जिल्ला अदालतकी न्यायाधीश सिता शर्माको एकल इजालसले उक्त अन्तरिम आदेशलाई खारेज गर्दै सडक विभागले गरेको ठेक्का रद्द गर्ने निर्णयको पक्षमा आदेश दिएको छ। सडक विभागले अधिकारीको कम्पनीलाई तीन वर्षसम्म कालो सूचीमा राख्न पनि  सिफारिस गरेको छ।

आठ वर्षअघि भएको ठेक्कामा सडक विभागले पटक पटक म्याद थप गर्दा पनि अधिकारीको कम्पनीले काम नगरेपछि गत चैतमा अन्तिम पटक थपिएको म्याद सकिएको थियो। कम्पनीलाई ७ पटकसम्म म्याद थप गर्दा पनि समयमा काम सम्पन्न भएको थिएन। अन्तिम पटक थपिएको गत चैतमा म्याद सकिएपछि सडक विभागले थप म्याद नथप्ने भन्दै गत असार ५ गते ठेक्का तोडेको थियो। तर, अधिकारीको कम्पनी ‘शैलुङ इन्टरप्राइजेज’ ले जिल्ला अदालत ललितपुरमा सडक विभागविरुद्ध मुद्दा दायर गरेको थियो।
गत असार १५ गते दायर गरिएको उक्त मुद्दामा साेमबार फैसला भएको हो। यसअघि जारी गरिएको अन्तरिम आदेशलाई खारेज गर्दै अदालतले सडक विभागले कम्पनीसँग गरेको ठेक्का रद्दलाई सदर गरेको छ। फैसलामा सडक विभागले कम्पनीसँग गरेको ठेक्का रद्द गरेर नयाँ ठेक्का गर्न खोजेको विषयलाई नै सदर गरिएको छ। अदालतले अधिकारीको कम्पनी ‘शैलुङ इन्टरप्राइजेज’ लाई तीन वर्षसम्म कालो सूचीमा राख्नसमेत आदेश दिएको तिनपिप्ले–वञ्चरेडाँडा सडक खण्ड निर्माण योजनाको योजना प्रमुख गौतम कुमार श्रेष्ठले बताए ।
Advertisement

शैलुङको बैगुन: आठ वर्षमा ५० प्रतिशत काम पुरा, सात पटक म्याद थप

हाल काठमाडौं महानगरपालिकाको फोहोर व्यवस्थापनको विषयमा सिसडोल तथा वञ्चरेडाँडा जाने सडक खण्ड नबनेका कारण निकै समस्या भइरहेको छ। हरेक वर्ष वर्षातको समयमा यो सडक खण्डमा फोहोर बोकेका ट्रक हिँड्न नसक्ने अवस्था हुन्छ । आठ वर्षअघि आर्थिक वर्ष २०७१/०७२ मा सडक विभागमार्फत यो सडक खण्डको निर्माणको जिम्मा शारदा अधिकारीको कम्पनीले पाएको थियो। सुरुवातमा दुई वर्षको म्याद तोकेर निर्माणको काम पाएको उक्त कम्पनीले समयमा काम गर्न नसक्दा पटकपटक म्याद थपिएको थियो।

Advertisement

सडक विभागअन्तर्गत उक्त सडक खण्ड निर्माण योजना प्रमुख गौतमकुमार श्रेष्ठका अनुसार कम्पनीलाई ७ पटकसम्म म्याद थप गरिएको थियो। ‘सुरुवातमा दुई वर्ष समय तोकिएको थियो’, नेपाल लाइभसँग कुराकानी गर्दै उनले भने, ‘बीचमा भूकम्प भयो । बीचमा जग्गाको विवाद आयो। के के समस्या भयो। हामीले म्याद थपि रह्यौं। निरन्तर म्याद थप गर्दा पनि ७ पटकसम्म म्याद थप भएको थियो। त्यसपछि भने ठेक्का रद्द गरेका हौं ।’ तर, निर्माण समयमा सम्पन्न नगरेपछि गत चैतमा ७ औं पटक थपिएको म्याद पनि सकिएको थियो। म्याद सकिएपछि विभागले ठेक्का रद्द गर्दा कम्पनीले भने अदालतमा मुद्दा हाल्दै ‘स्टे अर्डर’ को माग गरेको थियो ।

योजना प्रमुख श्रेष्ठकाअनुसार गत वर्ष चैतमा अन्तिम पटक थपिएको म्याद सकिँदा ५० प्रतिशत सडक निर्माण भएको अवस्था थियो। तर, हाल वर्षा र अन्य कारण निर्माणको प्रगति भने शून्य सरह भएको छ । ८ वर्षअघि ठेक्का लिएको उक्त कम्पनीलाई पटक पटक सडक विभागले समयमा नै काम सक्न ताकेता गरेपनि कम्पनीले भने काम गरेको थिएन् । तीनपिप्ले–बञ्चरे डाँडा सडकखण्ड कागजमा मत्रौ सिमित हुने अवस्था आएको थियो।

कुल २५ किलोमिटर सडक रहेको यो खण्डमा ८ किलोमिटर सडक उपत्यकाबाट फोहोर फ्यांक्न जाने गाडी कुद्ने बाटो थियो । ३१ करोड लागतमा शैलुङ्ग इन्टरप्राइजेजलाई जिम्मा दिइएको उक्त काम समयमा पुरा नहुँदा सो सडक खण्ड लामो समयदेखि निकै दयनीय अवस्थामा थियो। हाल जिल्ला अदालत ललितपुरले सडक विभागले ठेक्का रद्द गर्न गरेको फैसला नै सदर गरेसँगै अब सो सडक खण्डको निर्माणको काम नयाँ कम्पनीलाई दिइनेछ।

सार्वजनिक टेण्डर आह्वानमार्फत नयाँ कम्पनीलाई ठेक्का दिइने योजनाका प्रमुख श्रेष्ठले बताए। सँगै सडक विभागले कम्पनीलाई तीन वर्ष कालो सूचीमा राख्न सिफारिस गरेको छ भने शैलुङ्ग इन्टरप्राइजेजसंग १ करोड ५५ लाख जरिवाना असूलउपर गर्न समेत विभागले माग गरेको छ। ‘अदालतले स्टे अर्डर दिएकाले हाम्रो प्रक्रिया अघि बढेको थिएन। हामीले बैंकलाई चिट्ठी लेखेका छौं, बैकलाई जरिवाना जम्मा गर्न भनेका छौं । १ करोड ५५ लाख जरिवाना माग गरेका छौं,’ योजना प्रमुख श्रेष्ठले भने।

अदालतको फैसलापछि प्रचण्डमाथि बालेन्द्रको कटाक्ष

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको सचिवालयका एक सदस्यकाअनुसार सो सडक खण्डकै कारण पनि फोहोर व्यवस्थापनमा समस्या भइरहेको छ।

मेयर बालेन्द्र स्वयंले पनि समय समयमा सडकको अवस्थाका कारण फोहोर व्यवस्थापनमा समस्या भएको बताउँदै आएका थिए। मंगलबार अदालतले गरेको फैसलासँगै बालेनले सामाजिक सञ्जालमार्फत नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ लाई कटाक्ष गरेका छन्।

उनले फेसबुकमा सो सडक खण्डको भिडियो राख्दै लेखेका छन्, ‘श्रीमान प्रचण्डज्यु! उपत्यकाको फोहोर लैजान प्रयोग गरिने ककनीको बाटो विगत ८ वर्षदेखि यस्तो हालतमा बनाउने मान्छेको घरमै अंगरक्षक जस्तो बसेर कुन नैतिकताले भन्नु म देश बनाउँदै छु भनेर?’

प्रतिक्रिया