ल्यान्डफिल साइटमा फोहोर फाल्न सदाका लागि रोक्छौं : स्थानीय नेता

विदुर खबर २०७९ साउन २९ गते २१:२७

नुवाकोट । काठमाडौं उपत्यकामा उत्पादन हुने फोहोर ल्यान्डफिल साइटमा ल्याउन नदिने तीन राजनीतिक दलका स्थानीय नेताले घोषणा गरेका छन्।

Advertisement

आइतबार नेपाली कांग्रेस धुनिवेशी नगरपालिका सभापति पूर्ण तामाङ, माओवादी केन्द्रका नगर अध्यक्ष विष्णु तामाङ र एकीकृत समाजवादी पार्टीका नगर अध्यक्ष भिषण धितालले संयुक्त विज्ञप्ति निकाल्दै यस्तो घोषणा गरेका हुन्।

१७ वर्षदेखि काठमाडौं महानगरलगायत अन्य धेरै नगरपालिकाको फोहोर धादिङ र नुवाकोटको सिमाना सिसडोल र पछिल्लो समय बन्चरे डाँडामा अव्यवस्थित तरिकाले फाल्दै आएको भन्दै उनीहरुले आक्रोश पोखेका छन्।

Advertisement

अव्यवस्थित फोहोरका कारण स्थानीयको जनजीवन कष्टकर बन्नुका साथै स्वास्थ्यमा प्रतिकूल असर पर्दै गइरहेकाले अब सधैंका लागि सिसडोल र बन्चरेडाँडामा काठमाडौंको फोहोर फाल्न बन्द गर्ने उनीहरुले घोषणा गरेका हुन्।

मानव स्वास्थ्य दैनिक बिग्रँदै गए पनि महानगरपालिकालगायत सरोकारवालाले हलुका रुपमा लिएको उनीहरुको आरोप छ। स्थानीयले विभिन्न समयमा आफ्ना माग राखेर आन्दोलन गर्दा पनि राज्यले ध्यान नदिएकाले ल्यान्डफिल साइटमा अबदेखि फोहोर फाल्न बन्द गर्ने विज्ञप्तिमा उल्लेख छ।

Advertisement

स्थानीयको समस्यालाई गम्भीरताका साथ नलिई जनताको स्वास्थ्यमाथि खेलबाड गरे अबको संघ र प्रदेशसभा निर्वाचनसमेत बहिस्कार गर्ने विज्ञप्तिमा चेतावनी दिइएको छ। ‘स्थानीय पीडित जनताहरु अहिले पनि आन्दोलनमा नै भएकोले हामी पनि आजैको दिनबाट उक्त आन्दोलनमा सहभागिता जनाउने निर्णय गरेका छौं’, ३ दलले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

बञ्चरेडाँडामा गलत कसरत हुँदैछ– महानगर प्रमुख शाह  
जनीतिक दलहरुले फोहोर फाल्न सदाका लागि रोक लगाउने विज्ञप्ति जारी गरेपछि काठमाडौं महानगरका मेयर शाह आक्रोशित बनेका छन्। उनले सामाजिक सञ्जालमा एउटा पोस्ट गर्दै बञ्चरेमा गलत कसरत हुँदै गरेको भन्दै गुनासो गरेका छन्।

‘दुई अवरोध हटाउनेबित्तिकै अर्को अवरोधको कसरत हुँदै गरेको भन्ने जानकारी पाएका छौं,’ उनले थप लेखेका छन्, ‘वास्तवमै त्यो कसरत हो भने त्यो विडम्बनापूर्ण हुनेछ।’

उनले बञ्चरे डाँडामा फोहोर व्यवस्थापनका लागि कतिपय संरचनाहरु बनिसकेकाे बताउँदै अब अर्को कुनै बहानामा अवरोध गर्न नहुने बताएका छन्। भूमि अधिग्रहण तथा संरचना निर्माण र प्रभावितहरुले पाउने सुविधा तथा मुआब्जा जस्ता काममा ५ अर्ब खर्च भइसकेको उनले जानकारी गराएका छन्।

उनले भनेका छन्, ‘यो झुक्याएर गरिएको पनि थिएन। यसका वैधानिक सम्झौताहरु छन्। ती सम्झौताहरुको पालना गर्नु सबैको कर्तव्य हो।’

प्रतिक्रिया