बन्चरेडाँडामा मापदण्डविपरीत फोहोर विर्सजन

विदुर खबर २०७९ साउन २९ गते ११:१२

नुवाकोट । काठमाडौं उपत्यकाको फोहोर झण्डै ५० वर्षसम्म व्यवस्थापन गर्ने योजनाको साथ सञ्चालनमा ल्याइएको बन्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइटमा काठमाडौं महानगरपालिकाले मापदण्डविपरीत फोहोर विर्सजन गरेको पाइएको छ ।

Advertisement

कामपाले आधुनिक र व्यवस्थित रूपमा निर्माण गरिएको ल्यान्डफिल साइटबाट ग्यास निस्कासन हुने पाइप पुरेर मापदण्डविपरीत फोहोर विर्सजनको काम गरेको शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत रहेको बन्चरेडाँडा ल्यान्डफिल आयोजनाले बताएको छ ।

आयोजनाले दुई वटा सेलमध्ये पहिलो सेल निर्माण सम्पन्न गरेर फोहोर विर्सजन गर्नका लागि कामपालाई हस्तान्तरण गरिसकेको छ । सेल–१ मा फोहोर विर्सजन गर्ने क्रममा कामपाले ल्यान्डफिल साइटमा राखिएका ग्यास निस्किने पाइपलाई फोहोरले पुरेर फोहोरमाथि माटो बिछ्याएको छ । ल्यान्डफिलमा विर्सजन गरिएको फोहोरबाट निस्कने ग्यासको विसर्जनका लागि आयोजनाले तल्लो सतहबाटै ठाउँठाउँमा प्वाल पारेर ग्यास जाने पाइप ठड्याएको थियो ।

Advertisement

तर, कामपाले फोहोरको सतह थपिएसँगै उक्त पाइपलाई सुरक्षित गर्न ड्रम र पाइप थप्नुपर्नेमा सजिलोको लागि पाइप नै पुर्ने काम गरेको बन्चरेडाँडा ल्यान्डफिल आयोजनाका प्रमुख रवीन्द्र बोहोराले बताउनुभयो । उहाँले भन्नुभयो– ‘सरकारले ठूलो लगानी गरेर निर्माण गरेको संरचनाको दिगोपनको लागि हामीले बनाएको मापदण्डअनुसार फोहोर विर्सजन हुन सकिरहेको छैन, यसमा सुधार गर्नुको विकल्प छैन ।’

ग्यास निस्कने पाइपलाई फोहोरको सतहबाट माथिसम्म नै राख्नुपर्नेमा अहिले सेल–१ को फोहोर विर्सजन गर्दा मापदण्डको पालना भएको नपाइएको बताउँदै उहाँले भन्नुभयो– ‘ल्यान्डफिल साइटको दीर्घकालीन व्यवस्थापनको लागि कामपाले ध्यान दिन जरुरी छ ।’बन्चरेडाँडा ल्यान्डफिल साइटको सेल–२ को काम अन्तिम चरणमा पुगेको छ । आयोजनाले केही समयभित्र सेल–२ पनि कामपालाई हस्तान्तरण गर्ने तयारी गरेको छ ।

Advertisement

आयोजनाले फोहोर विर्सजन स्थलबाट निस्केर दुई वटा ट्याङ्कीमा जम्मा भएको लिचडलाई सेल– १ मा पम्प गरेर खसाल्ने प्रक्रिया पनि अघि बढाएको छ । ल्यान्डफिल साइटबाट निस्कने लिचडलाई खोलामा जान रोक्नबाट आयोजनाले आयोजना स्थलमा दुईवटा ठूलठूला लिचड जम्मा हुने पोखरी निर्माण गरेर सञ्चालमा ल्याएको छ ।

प्रतिक्रिया