पत्रकारिता पृष्ठभूमिका नेता, जो उत्रिँदै छन् चुनावी मैदानमा

विदुर खबर २०७९ साउन २८ गते ८:४९

नुवाकोट । आगामी मंसिर ४ मा हुने आमनिर्वाचनमा पत्रकारिता पृष्ठभूमिका हस्ती पनि उल्लेख्य संख्यामा मैदानमा उत्रिने भएका छन् ।

Advertisement

उनीहरु विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट आम चुनाव लड्ने तयारीमा छन् । सत्तारुढ नेपाली काँग्रेसबाट अजयबाबु सिवाकोटी, किरण गिरी, तारानाथ दाहाल, इन्द्र रिजाल, वीरेन्द्र केएम लगायत चुनाव लड्ने तयारीमा छन् । काँग्रेस केन्द्रीय सदस्य सिवाकोटी दोलखाबाट चुनाव योजना बनाइरहेका छन् ।

सत्ता गठबन्धनको सिट बाँडफाँटमा काँग्रेसको भागमा दोलखा परे नेपाल प्रेस युनियनका पूर्वमहासचिव समेत रहेका सिवाकोटी चुनावी प्रतिस्पर्धामा उत्रिने तयारीमा छन् । दोलखाबाट चुनाव लड्दै आएका जिपछिरिङ लामाले चुनाव नलड्ने बताएपछि काँग्रेसबाट सिवाकोटी सशक्त दाबेदार देखिएका छन् ।

Advertisement

काँग्रेसका पूर्व केन्द्रीय सदस्य गिरी काठमाडौं–९ बाट प्रत्यक्षतर्फ चुनाव लड्ने तयारीमा छन् । यस्तै पत्रकार महासंघ र नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष दाहालले पनि सिन्धुपाल्चोक–२ बाट उम्मेदवार बन्ने आकांक्षा देखाएका छन् । रिजालले स्याङ्जाबाट चुनाव लड्ने आकांक्षा देखाएका छन् । यता काँग्रेस निकट पत्रकार केएम सुनसरी–२ बाट प्रत्यक्ष चुनाव लड्ने तयारीमा छन् ।

यस्तै, नेकपा एमालेबाट विष्णु रिजाल, सूर्य थापा, राजेन्द्र अर्याल र सुवास देवकोटा चुनाव लड्ने तयारीमा छन् ।  एमाले केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख  रिजालले दैलेख–२ बाट उम्मेदवार हुने गरी तयारी गरिरहेका छन् भने एमाले पोलिटब्युरो सदस्य तथा प्युठान जिल्ला इन्चार्ज थापा प्युठानबाट प्रत्यक्ष चुनाव लड्ने तयारीमा छन् ।

Advertisement

यस्तै प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष अर्याल पनि गुल्मी क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचनको तयारीमा छन् ।  एमाले केन्द्रीय सदस्य देवकोटा सिन्धुलीबाट उम्मेदवारी दिने तयारीमा छन् ।

यस्तै माओवादी केन्द्रबाट ओम शर्मा, महेश्वर दाहाल, गोविन्द आचार्य, लक्ष्मी पुन लगायतले चुनाव लड्ने तयारी थालेका छन् । माओवादीका पोलिटब्युरो सदस्य शर्मा धादिङ–२ बाट चुनाव लड्ने तयारीमा छन् । नेपाल पत्रकार महासंघका पूर्व महासचिव शर्माले प्रत्यक्ष निर्वाचनमा उत्रिने योजना बनाएका छन् ।

यस्तै पार्टीका पोलिटब्युरो सदस्य तथा प्रेस सेन्टर नेपालका पूर्व अध्यक्ष दाहाल पनि काठमाडौंबाट चुनाव लड्ने सोचमा छन् । माओवादीका केन्द्रीय सदस्य तथा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष आचार्य पनि दाङबाट चुनाव लड्ने तयारीमा रहेको बुझिएको छ । माओवादीकी केन्द्रीय सदस्य पुन र गोविन्द रोका (सचिन) रुकुमबाट चुनाव लड्ने चर्चा छ ।

यस्तै नेकपा एकीकृत समाजवादीबाट पार्टीका केन्द्रीय सदस्य शम्भु श्रेष्ठ, बालकृष्ण चापागाईँ, चमिना भट्टराई, खेम भण्डारीलगायत उम्मेदवारका आकांक्षी छन् । समाजवादी प्रेस संगठन नेपालका अध्यक्ष श्रेष्ठले पाल्पाबाट चुनाव लड्ने तयारी थालेका छन् भने चापागाईँ रुपन्देहीबाट चुनाव लड्ने चर्चा छ । भट्टराईले बाराबाट चुनाव लड्ने सोच बनाएकी छन् भने पत्रकार भण्डारीले प्रत्यक्षमा चुनाव लड्ने घोषणा गरेका छन् ।

यस्तै चर्चित सञ्चारकर्मी रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी बनाएर चुनावी मैदानमा उत्रिएका छन् । असार ७ गते राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका लामिछाने कुन क्षेत्रबाट उम्मेदवारी दिन्छन् भन्ने यकिन भएको छैन । यद्यपि लामिछानेले काठमाडौं–३ बाट चुनाव लड्ने सोच बनाएको चर्चा छ ।

उनको पार्टीबाट पत्रकार दीपक बोहोरा पनि चुनाव लड्ने तयारीमा छन् । स्वतन्त्र पार्टीको केन्द्रीय सदस्य बोहोरा डडेल्धुराबाट चुनाव लड्ने बुझिएको छ । यस्तै विवेकशील साझाका नेता रविन्द्र मिश्र, प्रकाशचन्द्र परियार, शरदराज पाठक लगायत पनि प्रत्यक्ष चुनाव लड्ने तयारीमा छन् । बीबीसी नेपाली सेवा छोडेर राजनीतिमा आएका मिश्रले काठमाडौं–१ बाट चुनाव लड्ने घोषणा गरिसकेका छन् । ०७४ मा पनि मिश्र सोही क्षेत्रमा चुनाव लडेका थिए । उनी काँग्रेसका उम्मेदवार प्रकाशमान सिंहसँग पराजित भएका थिए ।

यस्तै पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेका परियार सुनसरीबाट चुनाव लड्ने चर्चा छ भने पाठकले यो पटक पनि चितवन–३ बाट चुनाव लड्ने सोच बनाएको पाइन्छ । उनी ०७४ मा पनि सोही क्षेत्रमा चुनाव लडेर पराजित भएका थिए ।

यस्तै नागरिक उन्मुक्ति पार्टीबाट पत्रकार कृष्ण सर्वहारीले पनि चुनाव लड्ने मुड बनाएका छन् । उनी दाङबाट चुनाव लड्ने चर्चा छ । यता राप्रपाबाट पत्रकारिता पृष्ठभूमिकै प्रवक्ता मोहन श्रेष्ठ गोरखाबाट चुनाव लड्ने तयारीमा छन् भने राप्रपाकै सगुन लावती पाँचथरबाट चुनाव लड्ने चर्चा छ ।

जसपाबाट पत्रकार वृजकुमार यादव चुनाव लड्ने तयारीमा छन् । धनुषाबाट उनी प्रत्यक्षतर्फ चुनाव लड्ने तयारीमा रहेको चर्चा छ । यस्तै जनमत पार्टीका प्रेस संगठन प्रमुख बिपी साह धनुषा–३ बाट चुनाव लड्ने चर्चा छ ।

प्रतिक्रिया