त्रिशुली अस्पतालमा अस्पतालजन्य फोहोरबाट बायोग्यास उत्पादन

विदुर खबर २०७९ साउन २७ गते १५:३०

नुवाकोट । नुवाकोटको त्रिशुली अस्पतालले बायोग्यास प्लान्ट राखेर अस्पतालको फोहोर व्यवस्थापन गर्न थालेको छ।

Advertisement

गर्भवती महिलाहरूलाई सुत्केरी गराउदा निकस्ने प्लासेन्टा, अन्य मानव अंग, खेर गएका खानेकुरा र अन्य सड्ने गल्ने फोहरबाट अस्पतालमा बायोग्यास प्लान्ट जडान गरी ग्यास उत्पादन गर्न थालिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा दिपेन्द्र पाण्डेले बताए।

फोहोरबाट  बायोग्यास  उत्पादन गर्दा फोहोर र दुर्गन्धको समस्या निराकरण हुनुका साथै अस्पताललाई सस्तो ऊर्जा पनि प्राप्त भएको उनको भनाइ छ।

Advertisement

त्रिशुली अस्पतालमा वार्षिक औषत एक हजार ६ सय जना महिलाहरूले सुत्केरी सेवा लिँदै आएका छन्। डा पाण्डेका अनुसार बायोग्यास प्लान्टमा सुत्केरी गराउँदाका सालनाल, बिभिन्न मानवजन्य अंगहरू, मासुका टुक्राहरू, अन्य सड्ने फोहोरहरू सवै प्लान्ट भित्र राखिने छ।

स्वास्थ्य मन्त्रालय बागमती प्रदेशको अस्पताल सुदृढीकरण कार्यक्रमको करिब ९ लाख  रुपैयाँको लागतमा त्रिशुली अस्पतालले बायोग्यास प्लान्ट निर्माण गरेको डा पाण्डेले जानकारी दिए।

Advertisement

उनका अनुसार  ४० घनमिटरको सो प्लान्ट उत्पादन भएको बायोग्यासबाट दैनिक ७० जना व्यक्तिलाई बिहान बेलुका खाना बनाएर खुवाउन सकिन्छ।

प्लान्टमा निस्किएको ग्यास अस्पतालको चिकित्सकहरूको मेसमा तथा बिरामीहरूलाई निशुल्क खाना बनाउने प्रयोजनको  लागि प्रयोग गरिने अस्पतालका अध्यक्ष राजु पण्डितले जानकारी दिए।

अस्पतालले मासिक १० हजार बराबरको एलपी ग्यास बिरामीलाई निशुल्क खाना खुवाउनको लागि खर्च गर्दै आएको छ। अस्पतालले नकुहिने फोहोरमैला पनि मासिक तीन हजारमा बेच्न थालेको छ।

‘बायोग्यासबाट  सड्ने गल्ने फोहोरको दीर्घकालिन व्यवस्थापन हुनेछ,’ मेसु डा पाण्डेले  भने, ‘फोहरले अस्पतालमा दुर्गन्ध फैलिन पाउने छैन भने, फोहरबाट मोहर पनि कमाउन सकिन्छ ‘

अस्पतालकी मेट्रोन देवकी खतिवडाले अस्पतालबाट निस्कने फोहोरमैलाको उचित व्यवस्थापन हुन थालेपछि फोहोरबाटै सर्ने विभिन्न संक्रमणजन्य रोगको जोखिम समेत न्यूनीकरण हुने बताइन्।

प्रतिक्रिया