सस्तो तर हेपिएका स्वादिलो ‘सुपर फुड’

विदुर खबर २०७९ साउन २६ गते १४:१९

नुवाकोट । कतिपयले सखरखण्डलाई ‘गुलियो आलु’ पनि भन्छन् । तर आलुसँग यसको सम्बन्ध छैन । नेपालमा प्रायः व्रत बसेको बेला खाइने सखरखण्ड भिटामिन ‘ए’ र ‘सूक्ष्म पोषक तत्वले’ भरिपूर्ण भएकोले नै यो विशेष भोजन भएको छ ।

Advertisement

तर यसलाई पकाउँदा केहीबेर मात्र पकाउनु ठीक हुन्छ । धेरैबेर पकाउँदा यसमा रहेका पौष्टिक तत्वहरु १२ प्रतिशतसम्म नष्ट हुने गरेको पाइएको छ ।

सखरखण्ड शिशुलाई ख्वाउँदा पनि उत्तम हुन्छ । यसमा क्याल्सियम, भिटामिन बी १२ र केही लौहतत्व पनि हुन्छ । यसलाई विभिन्न तरकारीमा मिसाएर खान सकिन्छ । हाम्रो दैनिक जीवनमा तरकारी, दाल, चना, चिउरामा हालेर खान सकिने यो ‘सुपर फुड’ लाई हामीले धेरै प्रयोगचाहिँ गरेका छैनौैं ।
विभिन्न वैज्ञानिक अनुसन्धान प्रतिवेदनहरुका अनुसार महत्व नपाएका फलहरु पनि अनेक सूक्ष्म पोषक तत्वले भरिपूर्ण हुन्छन् । यी फलहरुले मानिसको बुढ्यौलीलाई पछि सार्न पनि मद्दत गर्छन् । साथै यी फलहरुमा रेसादार तत्व पनि पर्याप्त हुन्छ, जुन स्वास्थ्यका लागि अति जरुरी हुन्छ । त्यसरी नै पैयुँ, बयर, काफल आदि फलफूल पनि महत्वपूर्ण छन् ।
बदाममा सखर हाली यसबाट विभिन्न किसिमका लड्डु बनाएर पनि खाने गरिन्छ । यसले शरीरको ऊर्जा बढाउँछ । बदाम सस्तो तर प्रोटिन र राम्रो चिल्लो भएको तत्व हो । बदामलाई उसिनेर, पिसेर, भुटेर र जुनसुकै भोजनमा हालेर खान सकिन्छ । भात, चिउरा, दाल आदिमा पनि यो प्रयोग गर्दा स्वाद र स्वास्थ्य लाभ दुवै मिन्छ । बालबालिकाको भोजनमा बदाम मिसाएर खान दिने हो भने उनीहरुलाई चाहिने प्रोटिन तत्व भरपूर मात्रामा उपलब्ध हुन्छ ।
टुसा उमारेको बदाम भनेर सुन्दा कतिलाई अचम्म लाग्न सक्छ । तर काँचो बदामलाई क्वाँटीजस्तै टुसा उमारेर खान सकिन्छ । यसो गर्दा त्यसको पौष्टिकता अझ बढ्न जान्छ । काँचो वा भुटेको दुवै बदामको अचार पनि बनाउन सकिन्छ । गोलभेँडा, तील, बदाम, आलस हालेर बनाएको अचार, रोटी, चिउरा, दालसँग मीठो गरेर खान सकिन्छ । बदाम तुलनात्मकरुपमा काजु, नरिवल आदिभन्दा धेरै सस्तो छ । तर पनि यो अपहेलित ‘सुपर फुड’ हो । वर्षभरि सहजैसँग पाइने बदामलाई हरेक हप्ता कुनै न कुनै छाकहरुमा प्रयोग गर्दा स्वास्थ्य राम्रो हुन्छ ।
ओमेगा ३ ले स्वास्थ्य राम्रो पार्छ भन्ने कुरा वैज्ञानिक अनुसन्धानबाट पुष्टि भइसकेको छ । दक्षिण अमेरिकामा पाइने ‘चिया सिडमा’ धेरै ओमेगा पाइन्छ भन्ने बुझेका नेपालीहरु जतिसुकै महँगो भए पनि किन्न तयार हुन्छन् । तर ओमेगा धेरै पाइने र स्थानीय स्तरमै सहजै र सस्तो मूल्यमा पाइने आलसचाहिँ प्रयोग गर्दैनन् । यो अलि अनौठो स्वभाव हो । आलस पनि ‘सुपर फुड’ नै हो ।
‘सुपर फुड’ आलसलाई अनेक तरिकाले प्रयोग गर्न सकिन्छ ।
यसलाई भिजाएर, टुसा उमारेर, छोप बनाई दहीमा हालेर, सुपमा हालेर खान सकिन्छ । यसमा भएको रेसादार तत्व क्याल्सियम, ओमेगा–३ ले बालबालिकाको शरीर र मस्तिष्क स्वस्थ राख्छ । अनेक रोगहरुबाट पनि बचाउँछ । विशेष गरी महिलाहरुको शरीरमा हड्डी कमजोर हुने प्रक्रियालाई रोक्न पनि आलसले मद्दत गर्छ ।
फर्सीका बियाँ प्रायः फालिन्छन् तर तिनको महत्व थाहा पाएकाहरुले भने भान्छामा जतन गरेरै राख्छन् । पहिले पहिले बुढाबुढीहरुले फर्सीको बियाँ सुकाएर राख्थे । धेरैले त्यसको बाहिरी पत्र छोडाएर दिउल मात्रै खान्छन् । कतिले चाहिँ बाहिरको बोक्रै समेत भुट्छन् र छोपका रुपमा समेत प्रयोग गर्छन् ।
दिउल मात्र खाए जस्तो मिठो स्वाद नभए पनि साह्रै पोषणयुक्त हुन्छ । पहाडतिर दूध, च्यूरा र दहीसँग फर्सीको दिउल मिसाएर पनि खान्छन् । कसैले यसलाई पिसेर सलाद वा सुपमा पनि हाल्छन् । यसले शरीरमा इन्सुलिन सन्तुलनमा राख्न मदत गर्छ । यसमा प्रशस्त मात्रामा जिंक पनि पाइन्छ ।
अहिले फर्सीको दिउलको प्रतिकेजी मूल्य झण्डै दुई हजार छ । हामीले ‘सुपर फुड’को नाममा महँगो भोजन किन्न पर्दैन । स्वस्थकर तरिकाले फलाएको अनि सकेसम्म आफ्नै जिल्ला वा देशभित्र फलेका, उम्रिएका भोजनलाई विभिन्न उचित तरिकाले तयार गरेर, पकाएर खाँदा त्यो भोजन ‘सुपर फुड’ बन्न पुग्छ ।
डा. अरुण उप्रेतीको फेसबुकबाट ।

प्रतिक्रिया