मुहार फेर्दे त्रिशूली अस्पताल

विदुर खबर २०७९ साउन १५ गते २१:५३

नुवाकोट । झण्डै ६ दशक अगाडि त्रिशूली जलविद्युत गृह निर्माणमा खटिएका मजदुरहरूको उपचारका लागि स्थापना गरिएको उपचार केन्द्र अहिले त्रिशूली अस्पतालको नाममा परिचित छ। २०७२ सालको भूकम्पले अस्पतालको पुरानो भवन खण्डहर भएको थियो।

Advertisement

सुरुका दुई वर्षसम्म टेण्टमार्फत बिरामीहरूको सेवा गरेको त्रिशूली अस्पतालले हाल आफ्नो अत्याधुनिक नयाँ भवनबाट नुवाकोट, रसुवा र धादिङको उत्तरी क्षेत्रका बिरामीहरूको सेवा गरिरहेको छ। यस अस्पतालमा हाल बहिरंगतर्फ दुई सय र आकस्मिकतर्फ ५० जना भन्दा बढी बिरामीहरूले सेवा लिइरहेका छन्।

यस अस्पतालले ५८ औँ वार्षिकोत्सवको अवसरमा डायलासिस सेवासमेत सुरु गरेको छ। विदुर नगरपालिका- ९ कोलोनी बाघटारमा रहेको त्रिशूली अस्पतालमा आयोजित कार्यक्रममा स्वास्थ्य सेवालाई नियमित, गुणस्तरीय तथा प्रभावकारी बनाउने क्रममा डायलासिस सेवा सञ्चालनमा ल्याइएको हो।

Advertisement

अस्पतालले सेवा विस्तारको क्रममा उक्त सेवाको सुरुवात भएको घोषणा गर्दै जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरीले अस्पतालले बनाएको छवी कायम राख्दै विस्तारित सेवालाई प्रभावकारी बनाउन सुझाव दिए। उनले अस्पतालले मानवीय सेवाको भावनाअनुसार बिरामीहरूको सेवा गर्नुपर्ने बताए।

अस्पतालले सेवा विस्तार गर्ने क्रममा डायलोसिस सेवा सुरु भएसँगै मिर्गौला परीक्षणको लागी काठमाडौं जानुपर्ने बाध्यता अन्त्य भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. दीपेन्द्र पाण्डेले बताए। यसबाट बिरामीहरूको समय र पैसा दुवै बचत भएको उनको भनाइ छ।

Advertisement

यसबाहेक बिरामीहरूलाई अस्पतालले अन्य सेवाहरू पनि  दिइरहेको छ। नुवाकोटसहित रसुवा, धादिङलगायतका जिल्लाका बिरामीलाई सेवा दिँदै आएको त्रिशूली अस्पताल ५० शैय्याको भए पनि हाल एक सय शय्यामा स्तरोन्नतिको लागि प्रयास भइरहेको छ। यसको कार्यान्वयन गराउन सबै पक्षबाट सहयोग हुनुपर्ने अस्पतालका प्रमुख डा. पाण्डेले बताए।

सरकारले त्रिशूली ‘अस्पतालमा ५९ जनाको स्थायी दरबन्दी गरे पनि हाल २८ जना मात्र कार्यरत रहेका छौं’, उनले अगाडि भने। डा. पाण्डेका अनुसार ‘सेवा नियमित राख्न एक सय ४० स्वास्थ्यकर्मी/कर्मचारीलाई विभिन्न स्रोतबाट अस्पतालले व्यवस्थापन गरेको छ।’ गत आर्थिक वर्षमा अस्पतालले सात सय ५३ जनालाई विशेष शल्यक्रिया र पाँच हजार १ सय ३ लाई सानो शल्यक्रिया सेवा उपलब्ध गराएको छ।

त्रिशूली अस्पतालका अध्यक्ष राजु पण्डितका अनुसार एक वर्षमा बहिरङ्ग सेवामार्फत ६५ हजार १ सय २० जनालाई सेवा दिइएको थियो। चालु आर्थिक वर्षमा एक लाख बिरामीलाई सेवा दिने लक्ष्य राखिएको छ।

त्रिशूली अस्पतालले ‘न्यूनतम सेवा मापदण्डमा देशभरका सरकारी अस्पतालमध्ये आव २०७७/७८ मा ८३ अङ्क ल्याएकोमा गत आव २०७८/०७९ मा ९४ अङ्कको साथ उत्कृष्ट अस्पताल घोषित भएको थियो।

अस्पतालले हासिल गरेको सेवाको गुणस्तर जोगाउनु नै अस्पतालको लक्ष्य छ’, अध्यक्ष पण्डितले भने। अस्पतालमा २४ सैं घण्टा आकस्मिक उपचार सेवा उपलब्ध रहेको छ।

प्रतिक्रिया