अर्थतन्त्रमा सुधारको संकेत : निर्यातमा ब्रेक थ्रु

विदुर खबर २०७९ साउन १४ गते ८:१२

नुवाकोट । उच्च आयात, असन्तुलित व्यापार र त्यसबाट सिर्जित शोधनान्तर घाटा तथा घट्दो विदेशी मुद्राको सञ्चितिले देशको अर्थतन्त्र धर्मराइरहेका वेला निर्यातमा भएको ऐतिहासिक उपलब्धिले सकारात्मक संकेत देखाएको छ । खास गरेर स्वदेशी कच्चा पदार्थमा आधारित तथा अधिकतम मूल्य अभिवृद्धि हुने जलविद्युत्, सिमेन्ट, छडलगायतका वस्तु तथा सेवा निर्यातले आर्थिक क्षेत्र उत्साही बनेको छ ।

Advertisement

इतिहासमै पहिलोपटक नेपालले दुई खर्बभन्दा बढीको निर्यात गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष ०७८/७९ मा दुई खर्ब तीन करोड नौ लाखबराबरको वस्तु निर्यात भएको छ, जुन अघिल्लो वर्षको तुलनामा ४१.७४ प्रतिशतले बढी हो । आर्थिक वर्ष ०७७/७८ मा नेपालले एक खर्ब ४१ अर्ब १२ करोडबराबरको वस्तु निर्यात गरेको थियो ।

विद्युत्, सिमेन्ट र छडको निर्यात नियमित हुन सके चालू आर्थिक वर्षमै ५० अर्बभन्दा बढी अतिरिक्त आम्दानी गर्न सक्ने सरोकारवालाहरू बताउँछन् । त्यति मात्र होइन, आगामी वर्षमा वार्षिक पाँच खर्बबराबरको विद्युत्, सिमेन्ट र छड निर्यात हुन सक्ने सम्भावना रहेको उनीहरूको भनाइ छ ।

Advertisement

सरकारले चालू आवको बजेटमार्पmत निर्यातमा आठ प्रतिशतसम्म नगद अनुदान दिने घोषणा गरेपछि सिमेन्ट, छड, जस्तापातालगायत धेरै उद्योगले निर्यात सुरु गरेका छन् । घोषणाअनुसारको कार्यविधि बनेर आए निर्यातका लागि अझ बढी सम्भावनाको ढोका खुल्ने उद्योगीहरूको भनाइ छ ।

निर्यातमा ‘ब्रेक थ्रु’
पूर्ववाणिज्यसचिव चन्द्रकुमार घिमिरे विद्युत् र सिमेन्टको निर्यात नेपालको व्यापारमा ‘ब्रेक थ्रु’ नै भएको बताउँछन् । त्यस्तै, फलामे छडको निर्यातले पनि शुभसंकेत गरेको उनको भनाइ छ । यी वस्तुको निर्यात प्रवर्द्धन तथा वृद्धिमा सबै पक्षले पहल गर्न सके देशको व्यापार सन्तुलन गर्न महत्वपूर्ण योगदान मिल्ने उनको भनाइ छ । ‘हामीसँग एक अर्ब रुपैयाँभन्दा बढी मूल्यबराबरको निर्यात हुने वस्तुको सूची निकै कम छ, अहिले पनि स–साना मूल्य र कम मूल्य अभिवृद्धि हुने वस्तुको मात्रै निर्यात भइरहेको छ,’ उनले भने, ‘विद्युत्, सिमेन्ट, छडजस्ता वस्तुको निर्यातले ठूलो मूल्यमा निर्यात हुने वस्तु तथा सेवाको सूची बढाउनेछ । जसबाट मुलुकको चालू खाता घाटा कम गर्न तथा व्यापार घाटा न्यूनीकरणमा महत्वपूर्ण योगदान मिल्नेछ ।’

Advertisement

उत्साही निजी क्षेत्र
पछिल्लो समय विद्युत्, सिमेन्ट, छडजस्ता वस्तुको पनि निर्यात हुन थालेपछि निजी क्षेत्रलाई उत्साही बनाएको छ । घोषणा गरेका सुविधा दिँदै राज्यले थप वातावरण बनाए यस्ता वस्तु तथा सेवाको निर्यातले मुलुकको व्यापारमा दश गुणा बढी योगदान दिने नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बताए । ‘अहिलेसम्म हामीले विदेशबाट कच्चा पदार्थ ल्याएर त्यसमा धेरथोर मूल्य अभिवृद्धि गरेर निर्यात गरिरहेका छौँ,’ अध्यक्ष गोल्छाले भने, ‘अब शतप्रतिशत मूल्य अभिवृद्धि हुने विद्युत्, करिब ७० प्रतिशत मूल्य अभिवृद्धि हुने सिमेन्ट र ३०–४० प्रतिशत मूल्य अभिवृद्धि हुने छडले मुलुकको व्यापारमा दश गुणा बढी योगदान दिनेछ, त्यसले अर्थतन्त्रमा दश गुणा लाभ दिलाउनेछ ।’

विद्युत् निर्यात
नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् गत १९ जेठदेखि भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा बिक्री सुरु गरेको छ । आव ०७८/७९ मा प्राधिकरणले करिब पाँच अर्ब रुपैयाँबराबरको विद्युत् निर्यात गरिसकेको छ । प्राधिकरणले चालू आर्थिक वर्षमा मात्रै २२ अर्ब रुपैयाँको विद्युत् निर्यात गर्ने लक्ष्य राखेको छ । आगामी दुई–तीन वर्षभित्र वार्षिक ७० अर्बको विद्युत् निर्यात गर्न सकिने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बताउँछन् । ‘पाँच वर्षभित्र वार्षिक डेढ–दुई खर्बको विद्युत् निर्यात गर्न सकिने सम्भावना छ, सोहीअनुसारको पूर्वाधार, संरचना र बजार सुनिश्चितताका लागि काम गरिरहेका छौँ,’ उनले भने, ‘यसबाट मुलुकको व्यापार घाटा कम गर्न तथा भुक्तानी सन्तुलन कायम राख्न महत्वपूर्ण योगदान मिल्नेछ ।’

तीन सातामै दुई करोडको सिमेन्ट निर्यात
आरएमसी ग्रुपले सञ्चालन गरेको पाल्पा सिमेन्ट उद्योगले २४ असारदेखि उत्पादन भारत निर्यात गर्न सुरु गरेको छ । यो उद्योगले ‘तानसेन सिमेन्ट’ रुपन्देहीको नाका सुनौली बजारदेखि गोरखपुरसम्म हाल १३ वटा डिलरमार्फत बिक्री सुरु गरेको आरएमसीका सञ्चालक तथा नेपाल उद्योग परिसंघका उपाध्यक्ष राजेशकुमार अग्रवालले बताए । अहिलेसम्म करिब ५० हजार बोरा अर्थात् दुई करोड रुपैयाँबराबरको निर्यात भइसकेको उनले बताए ।

हाल नेपालमा करिब ६० वटा सिमेन्ट तथा क्लिंकर उद्योग छन् । उनीहरूले पनि निर्यातको तयारी गरिरहेको सिमेन्ट उत्पादक संघले जनाएको छ । नेपालबाट भारतमा सिमेन्ट निर्यात गर्न भारतीय गुणस्तर (आइएस) लिनुपर्ने हुन्छ । त्यसका लागि रिद्धिसिद्धि, अम्बे, अर्घाखाँची, घोराही, सर्वोत्तमलगायत सिमेन्टले प्रक्रिया सुरु गरिसकेका छन् । तीन उद्योगले पनि आइएस प्राप्त गरेपछि निर्यात गर्ने योजना बनाएका छन् । सरकारले घोषणा गरेका सुविधा दिँदै थप सहयोग गरेमा नेपालबाट वार्षिक एक खर्ब ५० अर्बको सिमेन्ट निर्यात हुने सम्भावना रहेको संघको भनाइ छ । भारतीय गुणस्तर प्राप्त भएपछि अन्य थुप्रै उद्योगले निर्यात गर्ने तयारी गरिरहेको अम्बे ग्रुपका अध्यक्ष हरि न्यौपानेले बताए । ‘हामीले पनि आइएसका लागि प्रक्रिया थालेका छौँ, त्यो प्राप्त भएपछि निर्यात थाल्नेछौँ,’ उनले भने, ‘सरकारले बजेटमा घोषणा गरेको निर्यातमा आठ प्रतिशतसम्म नगद अनुदान दिने व्यवस्था कार्यान्वयनको कार्यविधि आएपछि अझ निर्यात बढ्ने सम्भावना छ ।’ भारतपछि बंगलादेशमा पनि सिमेन्ट निर्यातको सम्भावना छ ।

वार्षिक ६०–७० अर्बबराबर निर्यातको सम्भावना
भैरहवास्थित श्री स्टिलले बुधबारदेखि फलामे छड (रड) निर्यात सुरु गरेको छ । रुपन्देहीको भैरहवामा सञ्चालित उद्योगले पहिलो चरणमा बुधबार दुई ट्रक रड भारत निर्यात गरेको उद्योगका सञ्चालक एवं नेपाल उद्योग वाणिज्य महासंघका विशिष्ट सदस्य पशुपति मुरारकाले बताए । ‘स्टिलमा ३०–४० प्रतिशत हाराहारी मूल्य अभिवृद्धि छ, भारतका सीमावर्ती सहरमा निर्यातको अधिक सम्भावना छ,’ उनले भने, ‘सरकारले मद्दत गर्न सकेमा तत्कालै वार्षिक ६०–७० अर्ब मूल्यबराबरका छड निर्यात गर्न सकिन्छ ।’ अहिले देशभर साना–ठूला गरी करिब ३० वटा स्टिल उद्योग छन् । त्यसमध्ये अम्बे स्टिल, जगदम्बालगायत ठूला स्टिल उद्योगले भारतीय गुणस्तर लिन प्रक्रिया सुरु गरिसकेका छन् । ‘अम्बे स्टिलले पनि आइएसका लागि प्रक्रिया अघि बढाइकेको छ, अन्य उद्योगले पनि प्रक्रिया अघि बढाएका छन्,’ अम्बेका अध्यक्ष न्यौपानेले भने, ‘अहिले भारतमा पनि सिजन नभएका कारण निर्यात नथालिएको हो, छिट्टै निर्यात गर्ने हाम्रो योजना छ ।’

९७३ वस्तु निर्यात, १३१ देशमा पुग्छन् नेपाली उत्पादन
भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा नेपालले नौ सय ७३ प्रकारका वस्तु निर्यात गरेको छ । यस्ता वस्तु विश्वका एक सय ३१ मुलुकमा पुगेका छन् । नेपालले सबैभन्दा बढी भारतमा एक खर्ब ५५ अर्बको निर्यात गरेको छ । सबैभन्दा कम ग्वाटेमालामा दुई हजार रुपैयाँबराबरको वस्तु निर्यात गरेको छ ।

नेपालले एक अर्ब रुपैयाँभन्दा बढी मूल्यबराबरको वस्तु १० वटा मुलुकमा मात्रै निर्यात गर्न सकेको छ । त्यसमध्ये अमेरिकामा १७ अर्ब ९९ करोड, जर्मनीमा चार अर्ब १९ करोड, टर्कीमा तीन अर्ब ७४ करोड र बेलायतमा तीन अर्ब १२ करोडको निर्यात गरेको छ । अस्ट्रेलिया, इटली, फ्रान्स, जापान र क्यानडामा एक अर्ब रुपैयाँभन्दा बढी र दुई अर्बभन्दा कमको निर्यात गरेको भन्सार विभागको तथ्यांक छ ।

छिमेकी मुलुक चीनमा ८० करोड ८७ लाखको निर्यात गरेको छ । दक्षिण एसियाली मुलुक बंगलादेशमा ७२ करोड, भुटानमा ४४ करोड, पाकिस्तानमा ११ करोड, माल्दिभ्समा २१ करोड र श्रीलंकामा २० करोडको निर्यात गरेको छ ।

त्यस्तै, नेपालले १० करोडभन्दा बढी एक अर्बभन्दा कम मूल्यबराबरको वस्तु निर्यात गरेका मुलुकको संख्या २५ छ । नेदरल्यान्डमा ८२ करोड ५२ लाख, डेनमार्कमा ७६ करोड ६४ लाख, स्विट्जरल्यान्डमा ४९ करोड ९९ लाख, युएईमा ४५ करोड ९६ लाख, बेल्जियममा ३७ करोड १० लाख, हङकङमा ३५ करोड ५० लाख, अस्ट्रियामा २९ करोड ८० लाख, स्पेनमा २९ करोड २९ लाख, कोरियामा २७ करोड १४ लाख, स्विडेनमा २३ करोड ७२ लाख, कम्बोडियामा २२ करोड २२ लाख रुपैयाँबराबरका वस्तु निर्यात गरेको छ । भन्सार विभागअनुसार रसियामा १९ करोड ८३ लाख, सिंगापुरमा १९ करोड ४१ लाख, चेक रिपब्लिकमा १९ करोड १५ लाख, नर्वेमा १८ करोड २७ लाख, न्युजिल्यान्डमा १५ करोड ७२ लाख, ताइवानमा १५ करोड ४३ लाख, भियतनाममा १४ करोड ९३ लाख, पोल्यान्डमा १२ करोड ४६ लाख, मलेसियामा ११ करोड २८ लाख र आयरल्यान्डमा ११ करोड १३ लाख रुपैयाँबराबरका वस्तु निर्यात भएको हो ।

नेपालले फिनल्यान्ड, म्यानमार, हंगेरी, थाइल्यान्ड, इन्डोनेसिया, अल्जेरिया, ब्राजिल, नाइगर, साउथ अफ्रिका, लिथुआनिया, मेक्सिको, रोमानिया, ग्रिस, इजरायल, गिनिया, लात्भिया, चिली, न्यु क्यालेडोनिया, पोर्चुगल, स्लोभेनिया, केन्या, जोर्डन, स्लोभाकिया, तान्जेनिया र क्रोएसियामा एकदेखि नौ करोड रुपैयाँसम्मको निर्यात गरेको छ ।

२० नाकाबाट भयो निर्यात, सबैभन्दा बढी वीरगन्ज नाकाबाट
नेपालले मुख्य २८ भन्सार नाकाबाट व्यापार गरिरहेको छ । त्यसमध्ये २० नाकाबाट निर्यात गरिरहेको छ । सबैभन्दा बढी वीरगन्ज नाकाबाट कुल निर्यातको ४०.२४ प्रतिशत निर्यात भएको छ । त्यस्तै, विराटनगर नाकाबाट २८.४४ प्रतिशत, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६.१३ प्रतिशत, मेचीबाट ६.४ प्रतिशत, भैरहवाबाट ३.८१ प्रतिशत, सुक्खा बन्दरगाह वीरगन्जबाट २.२४ प्रतिशत र नेपालगन्जबाट १.२७ प्रतिशत निर्यात भएको देखिन्छ । त्यस्तै, जलेश्वरबाट ०.७० प्रतिशत, कैलालीबाट ०.४२ प्रतिशत, कञ्चनपुरबाट ०.०१ प्रतिशत, कृष्णनगरबाट ०.२७ प्रतिशत  र सुनौली नाकाबाट ०.०७ प्रतिशतबराबरको निर्यात भएको छ । चीनसँगका नाकाहरू रसुवा र तातोपानीबाट भने निर्यात हुन सकेको छैन  समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । 

 

प्रतिक्रिया