नेपालको पासपोर्ट विश्वकै कमजोर

विदुर खबर २०७९ साउन ५ गते ७:०८

नुवाकोट ।  संसारभरिका पासपोर्ट (राहदानी) हरूको एक सर्वेक्षणले जापानको राहदानी सबैभन्दा बलियो देखाएको छ ।

Advertisement

लन्डनमा रहेको हेन्ली कम्पनीले गरेको ‘पासपोर्ट इन्डेक्स’ नामक अध्ययनमा नेपालको राहदानी भने निकै कमजोर पाइएको छ ।अध्ययनले नेपाली राहदानीलाई उत्तर कोरियाभन्दा पनि तल अर्थात् १०६ औं स्थानमा राखेको हो । उत्तर कोरिया नेपालभन्दा एक स्थान अगाडि (१०५ औं) स्थानमा छ । गत वर्ष नेपाल १०९औं स्थानमा रहेको थियो ।

संसारका कति मुलुकहरूले भिसाबिनै(भिसाफ्री स्कोर) ती मुलुकमा प्रवेश गर्न दिन्छन् भन्ने आधारमा उक्त सूची तयार गरिन्छ । जसअनुसार जापान एक नम्बरमा छ । त्यस्तै सिंगापुर र दक्षिण कोरिया दोस्रो तथा जर्मनी र स्पेन तेस्रो स्थानमा रहेका छन् ।

Advertisement

जापानी नागरिकहरूले पहिले नै भिसा नलगाई संसारका १ सय ९३ मुलुकहरूको भ्रमण गर्न पाउँछन् भने नेपालीले मात्र ३८ मुलुकको भ्रमण गर्न मिल्छ । दोस्रो शक्तिशाली सिंगापुर र दक्षिण कोरियाको राहदानीले १ सय ९२ देश र तेस्रो स्थानमा रहेको जर्मनीको राहदानीले १ सय ९० देश घुम्न सकिन्छ ।

इटाली, फिनल्यान्ड, र लक्जेमवर्ग १ सय ८९ देशसहित चौथो र डेनमार्क, अस्ट्रिया, नेदरल्यान्ड्स र स्विडेनको राहदानी १ सय ८८ देशसहित पाँचौं शक्तिशाली पाइएको छ ।

Advertisement

फ्रान्स, पोर्चुगल, आयरल्यान्ड र बेलायत १ सय ८७ देशसहित छैटौं तथा १ सय ८६ देशसँगै स्विट्जरल्यान्ड, संयुक्त राज्य अमेरिका, नर्वे, बेल्जियम र न्युजिल्यान्ड ७ औंमा छन् ।

दक्षिण एसियाली मुलुकहरूमध्ये भारत ८७ औं स्थानमा, भुटान ९३ औं, बंगलादेश १ सय ४ औं र पाकिस्तान १०९औं स्थानमा रहेका छन् । सर्वेक्षण गरिएका मुलुकमध्ये अफगानिस्तान सबैभन्दा पुछारमा (१ सय १२ औं स्थानमा) छ ।

यस पटक पनि शीर्ष ३ बाहेक अन्य स्थानमा युरोपेली मुलुकको दबदबा देखिएको छ ।

 

प्रतिक्रिया