एकीकृत समाजवादीका चार मन्त्रीको पद जोगियो

विदुर खबर २०७९ जेठ २४ गते ८:२९

नुवाकोट । सरकारमा सहभागी चार मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई मन्त्री बनाउने निर्णयबाट नेकपा एकीकृत समाजवादी पछि हटेको छ ।

Advertisement

प्रधानमन्त्री शेरबहादुर देउवा र सरकारमा रहेका मन्त्रीहरूको दबाबका कारण तत्काललाई सरकारमा रहेका मन्त्री नहट्ने भएका छन् । नेकपा (एस) ले चार मन्त्रीलाई फिर्ता बोलाएर चार जनालाई मन्त्रीका लागि सिफारिस गरेको थियो ।

आइतबार बसेको नेकपा (एस) को बैठकले चार मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गर्दै उक्त ठाउँमा नयाँ मन्त्रीको नाम सिफारिस गरेको थियो । पार्टीको निर्णयसँगै पार्टी अध्यक्ष माधवकुमार नेपालले पार्टीबाट मन्त्रीमा सिफारिस भएका चार जनाको नाम पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउनुभएको थियो । नयाँ मन्त्रीहरूको सोमबारका लागि शपथग्रहणको व्यवस्था मिलाउनु होला भनेर अध्यक्ष नेपाल आइतबार बालुवाटारबाट बाहिरिनुभएको थियो ।

Advertisement

पार्टीले फिर्ता बोलाउने निर्णय गरेपछि स्वास्थ्यमन्त्री विरोध खतिवडा, पर्यटनमन्त्री प्रेमबहादुर आले, श्रममन्त्री किसन श्रेष्ठ र शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष नेपालाई भेटेर सरकारबाट नहटाउन दबाब दिएका थिए । जवाफमा नेपालले सहमतिअनुसार नै मन्त्रीबाट फिर्ता बोलाउने निर्णय लिएको र चार जनालाई मन्त्री बनाउन लागिएको जानकारी दिनुभएको थियो । आइतबार रातीसम्म मन्त्री पद थमाउनका लागि चार मन्त्रीको दौडधुप चलेको थियो । सोमबार बिहान नै मन्त्रीका लागि सिफारिस भएकाहरू शपथको लागि तयारी अवस्थामा रहेका थिए । तर, प्रधानमन्त्री कार्यालयबाट कुनै पनि जानकारी नआएपछि चारै जनाले अध्यक्ष नेपाललाई भेटेर दबाब दिएका थिए । यता सरकारमा सहभागी चार मन्त्रीले भने प्रधानमन्त्री देउवालाई भेटेर मन्त्रीबाट नहटाउन आग्रह गरेका थिए ।

सरकारले संसद्मा प्रस्तुत गरेको बजेटमाथि विषगत मन्त्रीहरूले जवाफ दिने प्रक्रिया शुरू भएको भन्दै नेकपा (एस) का चार प्रधानमन्त्री देउवालाई आग्रह गरेपछि नयाँ मन्त्रीहरूको शपथ रोकिएको थियो ।सोमबार बिहानै नेकपा एकीकृत समाजवादीका चार जना मन्त्री विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आलेमगर र किसान श्रेष्ठले प्रधानमन्त्री देउवासँग भेट गरी मन्त्रीबाट हटाएको विषयमा गुनासो गरेका थिए । भेटमा सहभागी एक मन्त्रीले भने– ‘बजेट पारित हुन बाँकी छ, चुनाव नजिक आइसक्यो, यस्तो अवस्थामा मन्त्री हेरफेर गरियो भने सबैतिर असर पर्न सक्छ, त्यसैले यसलाई रोक्नुपर्छ भनेर हामीले आग्रह गरेका थियौं ।’

Advertisement

सोमबार नेकपा (एस) कोे निर्णयले गठबन्धन र सरकार दुवैमा असर पर्ने भन्दै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले बालुवाटार पुगेर प्रधानमन्त्री देउवालाई तत्काल मन्त्रिपरिषद् हेरफेर नगर्न सुझाव दिनुभएको थियो ।मन्त्रीहरूले आआफ्नो गुनासो राखिसकेपछि प्रधानमन्त्री देउवाले अहिले मन्त्री हेरफेर नहुने विश्वास दिलाउँदै आ–आफ्नो काममा लाग्न निर्देशन दिनुभएको थियो ।त्यसलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपालसँग छलफल गर्नुभएको थियो । छलफलमा तत्काल मन्त्री परिवर्तन नगर्ने र केही समयपछि मात्र हेरफेर गर्ने सहमति भएको कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार संसद्मा बजेटबारे मन्त्रालयगत छलफल हुने र त्यहाँ मन्त्रीहरूले जवाफ दिनुपर्ने भएकाले तत्काल मन्त्री परिवर्तन नगर्ने सहमति शीर्ष तहमा भएको छ ।

आइतबार नेकपा (एस)को बैठकले शहरी विकास मन्त्रीमा मेटमणि चौधरी, स्वास्थ्य राज्यमन्त्री रहेका भवानी खापुङलाई स्वास्थ्य, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमा जीवनराम श्रेष्ठ र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा शेरबहादुर कुँवरलाई मन्त्री बनाउन सिफारिस गरेको थियो । पार्टीले चारलाई नयाँ मन्त्रीको रूपमा सिफारिस गरेपछि आइतबार र सोमबार दिउँसोसम्म बधाई दिनेको ओइरो लागेको थियो । अन्ततः सोमबार दिउँसो मन्त्री हेरेफर नगर्ने सहमति भएपछि सिफारिस भएका चार जनाले उधारो बधाई लिएका छन् ।

प्रतिक्रिया