प्रतिनिधिसभाको चुनाव कात्तिक-मंसिरभित्रै हुन्छ : प्रधानमन्त्री देउवा

विदुर खबर २०७९ जेठ २१ गते १५:५६

नुवाकोट । सत्ता गठबन्धनभित्र प्रतिनिधिसभा र प्रदेश सभाको चुनाव मंसिर कि फागनुमा गर्ने भन्ने विवाद चलिरहेका बेला प्रधानमन्त्री शेरबहादु देउवाले भने कात्तिक वा मंसिरभित्रै चुनाव हुने बताएका छन् ।

Advertisement

स्थानीय तह चुनावको परिणामले गठबन्धनका केही दलहरुबीच सम्बन्ध चिसिइरहेको र यस्तो अवस्थामा चुनाव गरिहाल्दा राम्रो नतिजा नआउने भन्दै केही नेताहरुले फागुनमा चुनाव गर्नुपर्ने धारणा राखिरहेका छन् ।

यसका लागि कतिपय नेताहरुले चुनाव भएको मिति भन्दा पनि संसद्ले काम सुरु गरेको मितिबाट अहिलेको प्रतिनिधि सभाको कार्यकाल गणना हुने भन्दै तर्क गरिहेका छन् । यी सबै तर्क र प्रयासलाई प्रधानमन्त्री देउवाले अस्वीकार गरेका छन् ।

Advertisement

‘हामी सरसल्लाह गर्दैछौं । कात्तिकमै गरे पनि हुन्छ । ढिलो गर्‍यो भने झन् विवाद हुन्छ । तपाईंहरुले पनि ढिलो भयो भनेर लेखिदिइहाल्नुहुन्छ । गठबन्धनका पार्टनरसँग कुरा गरेर कात्तिक वा मंसिरमै चुनाव हुन्छ,’ शनिबार ‘कान्तिपुर हाफ म्याराथन’ को उद्घाटनपछि प्रधानमन्त्री देउवाले भने ।

उनले अहिलेको चुनावी परिणाम राम्रो रहेको र आउँदो चुनावसम्म गठबन्धन कायम रहने पनि बताएका छन् । ‘जे गठबन्धन भने पनि नेपाल अब प्रतिस्पर्धात्मक नेपाल चुनाव प्रणालीमा गइसक्यो । यो खुल्ला लोकतन्त्रमा राम्रो कुरा हो । मलाई विश्वास छ यो गठबन्धन रहन्छ,’ उनले भने ।

Advertisement

उनले जे प्रयोजनका लागि गठबन्धन बनेको हो त्यसको उपादेयता नसकिएको उल्लेख गरे । ‘जे कारणले गठबन्धन बनेको हो । त्यो कारण सकिएको छैन,’ उनले भने ।

गठबन्धनभित्र समस्या रहे पनि त्यस्ता समस्या समाधान हुने खालका रहेको उल्लेख गर्दै उनले समाधान गर्नका लागि दलहरुबीच छलफल गर्ने बताए । चुनावअघि गठबन्धन बनाउने विषयमा कांग्रेसभित्रै पनि खटपट थियो । अहिले त्यस्तो गठबन्धन बनाउने विषयमा पार्टीमा कुनै विवाद नरहेको देउवाले बताए ।

‘पार्टीभित्र त निर्णय भएपछि भइहाल्छ नि ! डेमोक्रेटिक पार्टी हो आ-आफ्नो विचार त भइहाल्छ नि । हाम्रो पार्टीमा त्यस्तो समस्या छैन,’ प्रधानमन्त्री देउवाले भने ।

प्रतिक्रिया