कञ्चनपुरका एसपी बिष्ट निलम्बित, अन्य प्रहरीलाई मुख्यालय तानियो

विदुर खबर २०७५ भदौ ९ गते १४:२०

काठमाडौं,  निर्मला पन्तको बलात्कार तथा हत्या घटनाको अनुसन्धानमा लापरबाही गरेको आरोपमा गृह मन्त्रालयले एसपी दिल्लीराज बिष्टलाई निलम्बन गर्न निर्णय गरेको छ।

शनिबार मन्त्रालयले यस्तो निर्णय गरेको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए। छानबिन अवधिभरका लागि निलम्बन गर्ने निर्णय भएको हो। एसपी बिष्टलाई दुई दिनअघि कञ्चनपुरबाट हटाइएको थियो।

हत्याका मुख्य अभियुक्तलाई उनले जोगाउने प्रयास गरेको आशंका गरिएको छ। बैठकले डिएसपी ज्ञानबहादुर सेठी र इन्सपेक्टर एकेन्द्र खड्कालाई मुख्यालय तान्ने निर्णय पनि भएको छ। स्रोतका अनुसार प्रारम्भिक प्रतिवेदनका आधारमा अनुसन्धानमा प्रहरीको गम्भीर लापरबाही रहेको देखिएपछि एसपी बिष्टलाई निलम्बन गरिएको हो।

निर्मलाको बलात्कार तथा हत्यामा उनका निकट व्यक्तिको संलग्नताको आशंका गरिएको छ। प्रहरीले पन्तको बलात्कार तथा हत्या आरोपमा स्थानीय दिलीपसिंह बिष्टलाई पक्राउ गरी सार्वजनिक गरेको थियो।

तर, घटनामा उनको संलग्नताको प्रमाण दिन सकेको छैन। गृहले सहसचिवको नेतृत्वमा जिल्लामा छानबिन टोली पठाइसकेको छ। गत साउन १० गते साथी रोशनी बमको घरमा पढ्न जाँदा उनको हत्या भएको थियो। प्रहरीले रोशनीलाई  शनिबार मात्र पक्राउ गरेको छ। सुरुदेखि नै प्रहरीले शंकास्पद व्यवहार देखाएको भन्दै स्थानीय प्रहरीप्रति आक्रोशित भइरहेका छन्।

Advertisement

प्रतिक्रिया