जनमतका आधारमा एमाले पहिलो : रिमाल

विदुर खबर २०७९ जेठ १० गते २०:४३

नुवाकोट । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले स्थानीय तहको निर्वाचनमा आफ्नो दलले निकै राम्रो मत ल्याएको बताएका छन्। सिट, जितहार प्राविधिक विषय हो, समग्र मतदाताले व्यक्त गरेको जनमतले एमालेलाई पहिलो दलमा स्थापित गराएको रिमालले दावी गरेका छन्।

Advertisement

रसुवाको धुन्चेमा मंगलबार नेकपा एमालेवाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुलाई स्वागत तथा सम्मानमा आयोजित कार्यक्रममा प्रमुख अतिथी उपमहासचिव रिमालले देशमा एमालेले ४९ लाख पाँचसय मत प्राप्त गरिसकेको अवस्थामा यो मत अरु दलको भन्दा धेरै रहेको बताए।

केही सिटमा एमाले पराजित भएपनि समग्रमा पाएको मतलाई हेर्दा सत्तारुढ दलको घेरावन्दीकाबीच एमालेले पाएको जनताको समर्थन ठूलो रहेको रिमालको भनाई छ।   स्थानीय तहमा दलहरुले पाएको जनमतलाई आधार बनाउँदा बाम गठबन्धनको विषय फेरि एकपटक बहसको लागि आएको ठहर गर्दै उपमहासचिव रिमालले अबको निर्वाचनमा बाम तालमेलको विषयलाई छलफलमा अगाडि लयाउन सकिने बताए।

Advertisement

रिमालले देशमा कांग्रेसको भन्दा कम्युनिष्टको जनमत बढी रहेको र त्यसमा पनि नेकपा एमाले पहिलो रहेका कारण सम्मानजनक रुपमा बाम तालमेलको विषय अब बहसको विषयमा प्रवेश गरेको बताए।

सोही कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य तथा बागमति प्रदेश इन्चार्ज काशीनाथ अधिकारीले नेकपा एमाले सत्तारुढ दलहरुले गरेको चुनावी गठबन्धनसंग नआत्ति यत्ति धेरै जनसमर्थन पाउनु सफलता रहेको बताए।

Advertisement

सत्तारुढ दलहरुले एमालेलाई चुनावमा घेराबन्दी गरेका, स्थानीय चुनावमा जनमतको मसि सुक्न नपाउँदै व्यापक रुपमा मूल्यवृद्धि गरेर जनताको अपमान गरेको आरोप लगाएका छन्। कार्यक्रममा एमाले पोलिटव्युरो सदस्य विनोद श्रेष्ठले यो चुनाववाट एमाले खुम्चियो भन्नु र हात्ति दुव्लायो भन्नु एकै रहेको बताए।

प्रतिक्रिया