नुवाकोटमा मतदान अधिकृतहरुलाई तालिम

विदुर खबर २०७९ वैशाख २४ गते २१:३६

नुवाकोट । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि नुवाकोटमा तालिम सञ्चालन गरिएको छ ।

Advertisement

जिल्ला निर्वाचन कार्यालयमा भएको तालिममा एकसय ३२ वटा मतदानस्थलको २ सय ८७ मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृत सहभागी रहेको जिल्ला निर्वाचन नुवाकोटले जानकारी दिएको छ ।

तालिममा कानुनी, व्यवहारिक र सैद्धान्तिक पक्षका कुरा सिकाइएको छ । उनीहरूलाई मतदान अधिकृत र सहायक मतदान अधिकृतले गर्नुपर्ने काम, कर्तव्य, अधिकारको क्षेत्र, मतदान केन्द्र निर्माण गर्ने तरिकाको विषयमा तालिम दिइएको नुवाकोटका मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइटेलले जानकारी दिए । उनका अनुसार मतपेटिका राख्ने ठाउँ, रुजु गर्नेलगायत मतदान कार्यलाई व्यवस्थित गर्ने तरिकाको विषयमा सहभागीहरुलाई जानकारी दिइएको थियो ।

Advertisement

यस्तै मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइटेलले महिला, सुत्केरी, बृद्ध र अशक्त महिलाको लागि मतदान गर्ने समयमा विशेष प्राथमिकता दिन आग्रह गरे । मतदान अधिकृत र सहायक मतदान केन्द्रमा पुग्नुअघि र पुगेपछि गर्नुपर्ने काम, मतदातालाई भित्र भोट हाल्न कसरी पठाउने, भोट हालिसकेपछि सुरक्षित कसरी बाहिर ल्याउने, निर्वाचन सकिएपछि के गर्नेलगायत विषयमा तालिममा जानकारी गराइएको थियो ।

कार्यक्रममा नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले निर्वाचनमा कुनैपनि किसिमको सुरक्षा चुनौती सामना गर्न आफुहरु तयार रहेको बताए । उनले प्रत्येक पालिकामा नेपाल प्रहरीको २ ओटा र शसस्त्र प्रहरीको ३ ओटा मोवाइल टोली परिचालन गरिने बताए ।

Advertisement

दुई नगरपालिका र १० गाउँपालिका रहेको नुवाकोटमा मतदाता संख्या २ लाख २१ हजार एकसय रहेको छ । जसमा महिला एक लाख ८ हजार ९२ र पुरुष एक लाख १३ हजार ६६ र जना महिला तथा ३ जना तेस्रो लिङ्गी रहेको जिल्ला निर्वाचन कार्यालय नुवाकोटले जानकारी दिएको छ ।

यसैविच जिल्ला निर्वाचन कार्यालय नुवाकोटले मतदानमा सहभागी मतदान अधिकृत र सहायक निर्वाचन अधिकृतहरुको लागि नमुना मतदान कार्यक्रमको आयोजना गरेको छ ।

नमुना मतदान कार्यक्रममा निर्वाचनको समयमा देखिने चुनौती तथा समस्याको विषयमा सहभागीहरुलाई जानकारी गराइएको थियो ।

प्रतिक्रिया