काठमाडौंको सडकमै फेरि थुप्रिन थाल्यो फोहोर

विदुर खबर २०७८ चैत १९ गते ११:२८

नुवाकोट । फेरि काठमाडौंमा फोहोर उठाउने काम बन्द भएको छ ।

Advertisement

तारकेश्वर नगरपालिकाको मुड्खु–तीन पिप्ले सडकखण्डका बासिन्दाले सडक कालोपत्रे गर्न ढिलाइ भएको भन्दै शुक्रबार फोहोर बोकेर गएका गाडी फिर्ता पठाएका छन् ।फागुन महिनामा मात्रै काठमाडौंमा १९ दिन फोहोर उठाउन काम रोकिएको थियो ।

उठाउन बाँकी रहेको फोहोर व्यवस्थापन गर्न नपाउँदै फेरि फोहोर बिर्सजनमा तीन पिप्लेका स्थानीयले अवरोध गरेका हुन् । नुवाकोटको सिसडोलस्थित ल्यान्डफिल साइट जाने सडकमा भएको यो अवरोध डेढ महिनाभित्रको तेस्रोपटक हो ।

Advertisement

८ वर्षअघि शैलुङ कन्स्ट्रक्सनले ठेक्का लिएको सडक अहिलेसम्म बनेको छैन । ३१ करोड रुपैयाँमा ठेक्का लागेको यो आयोजनामा कुल ५८ प्रतिशत काम भएको छ । ठेकदार शैलुङ कन्स्ट्रक्सन कम्पनीका मालिक पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारी हुन् ।

गत १ फागुनदेखि तीन पिप्लेका स्थानीयले सडक कालोपत्रे गर्न माग गर्दै १२ दिन अवरोध गरेका थिए । फेरि फगुनको अन्तिम साता सिसडोल र बञ्चरेडाँडाका स्थानीयले एक हप्ता फोहोर फाल्न रोकेका थिए ।

Advertisement

फोहोर उठ्न नसकेपछि अहिले पनि काठमाडौंको धेरै ठाउँमा फोहोरको थुप्रो लागेका छन् । महानगरपालिकाको वातावरण विभागकी प्रमुख सरिता राई सडकमा अवरोध भएकोबारे सडक विभागमा जानकारी गराइएको बताउँछिन् । उनका अनुसार शुक्रबार करिब २०० सवारी फोहोर नफाली बाटैबाट फर्किएका छन् ।

हाल उपत्यकाभर १५ देखि २० हजार टन फोहोर थुप्रिएको महानगरपालिकाको वातावरण विभागको अनुमान छ । तर, दैनिक करिब १ हजार टन मात्रै फोहोर ल्यान्डफिल साइट जाने गरेको छ ।

सरकारी तथ्यांकअनुसार सामान्य अवस्थामा काठमाडौं महानगरपालिका र आसपासका नगरपालिकाबाट दैनिक औसतमा १ हजार ५४ टन फोहोर सिसडोलमा पुग्ने गरेको छ । काठमाडौंबाट दैनिक औसत ५१७ टन र ललितपुर महानगरपालिकासहित आसपासका नगरबाट ५३७ टन फोहोर उठ्नुपर्ने हो ।

तर, अव सडक अवरुद्ध भएपछि फोहोर उठाउने काम पूर्ण रुपमा बन्द भएको छ । टेकुको फोहोर ट्रान्सफर स्टेसनमा पनि स्थानीयले फोहोर जम्म गर्न दिंदैनन् ।

प्रतिक्रिया