स्थानिय निर्वाचनकाे लागि मतपत्र छपाइ शुरू

विदुर खबर २०७८ चैत १८ गते ६:४५

नुवाकोट । जनक शिक्षा सामग्री संस्थान लिमिटेडले हिजो बिहीबार मतपत्र छपाई शुरू गरेको छ ।

Advertisement

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, आयुक्तहरू ईश्वरीप्रसाद पौडेल, रामप्रसाद भण्डारी, जानकीकुमारी तुलाधर, सचिव गोकर्णमणि दुवाडी र प्रवक्ता शालिग्राम शर्मा पौडेल र केन्द्रमा तैनाथ प्रमुख सेनानीसहितको टोलीले छापाखाना अवलोकन गरेलगत्तै छपाइ शुरू भएको हो ।

केन्द्रको मेसिन अवलोकन गर्न सानोठिमी पुगेका प्रमुख आयुक्त थपलियाले तोकेको समयमै काम सम्पन्न गर्न निर्देशन दिनुभएको थियो । उहाँले सम्झौताअनुसार काम सम्पन्न गर्न निर्देशन दिँदै केन्द्रको क्षमता देखाउन आग्रह गर्नुभएको थियो । त्यस क्रममा केन्द्रका महाप्रबन्धक अनिलकुमार झाले आयोग र सरकारको निर्देशनअनुसार काम गर्ने बताउनुभएको थियो ।

Advertisement

दिउँसो करिब २ बजे केन्द्र पुगेको आयोगका पदाधिकारीसहितको टोली करिब आधा घण्टासम्म केन्द्रको छापाखाना, बन्दोबस्तीको अवस्था, कागज, मसी र अन्य कच्चा पदार्थको अवस्थालगायतको बारेमा जानकारी लिएका थिए । केन्द्रले वैशाख २० गतेभित्र करिब २ करोड मतपत्र छपाइ र प्याकिङ गर्ने जनाएको छ ।

मतदान केन्द्रअनुसार फरकफरक प्याकिङ गरी प्लास्टिकको झोलामा राख्ने व्यवस्था गरेको छ । केन्द्रले छपाइ र प्याकिङको जिम्मा लिएको छ । आयोगले केन्द्रबाटै ढुवानी गर्नेछ । आयोगले उपत्यकाबाहेक अन्य जिल्लामा समयमै मतपत्र पुर्याउनेछ । यसअघि नियमित पत्रकार सम्मेलनका क्रममा आयोगले अति दुर्गम क्षेत्रमा हवाईमार्गबाट मतपत्र ढुवानी गर्ने जनाएको थियो ।

Advertisement

केन्द्रका प्रवक्ता चित्रकुमार आचार्यले सबै तयारी पूरा भएपछि आयोगका अधिकारी केन्द्र अवलोकन गर्न आउनुभएको जानकारी दिनुभयो । ‘उहाँहरूले बिहीबारबाट छाप्न निर्देशन दिएपछि तत्काल छपाइ शुरू गरेका हौं’ –प्रवक्ता आचार्यको भनाइ थियो ।

करिब २ करोड मतपत्र छाप्न ७ वटा मेसिन प्रयोग गरिएको छ । केन्द्रका १ सय ७५ कर्मचारीले मतपत्र छाप्नेछन् । मतपत्र छाप्न प्रेसमा प्रवेश गर्दा नेपाली सेनाले सम्पूर्ण सुरक्षा जाँच गर्नेछ । मोबाइल बोक्न पाइँदैन । कुनै पनि कागजात लैजान वर्जित गरीएको छ ।

नेपाली सेनाले सुरक्षा जिम्मा लिएपछि प्रेसका कर्मचारीले सेनाकै सुरक्षा निर्देशन मान्नुपर्नेछ । छापाखाना सुरक्षा गर्न १ सय ५० जना नेपाली सेना परिचालित छन् । अति न्यून मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भएका छन् । प्रेसका सबै गतिविधि नेपाली सेनाले निगरानी गर्नेछ । सीसीटीभीको अनुगमन सेनाबाटै हुनेछ । फुटेज राख्ने र अन्य सुरक्षा जाँचसमेत नेपाली सेनाबाटै हुनेछ । उच्च सुरक्षा निकायले केन्द्रको सुरक्षा अवस्थाबारे जानकारी लिइसकेको छ ।

तीन तहको सुरक्षा घेराभित्र मतपत्र छपाइ गर्न उच्च सुरक्षा संयन्त्र परिचालन हुनेछ । कर्नेलको नेतृत्वमा नेपाली सेनाले मतपत्र छपाइ गर्न पहिलो घेराको सुरक्षा दिनेछ । केन्द्रले ६ हजार ७ सय ४३ वडाका करिब २ सय प्रकारका पौने ६ लाख मतपत्र छपाइ गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया