‘सरकारको निरन्तरताका लागि गठबन्धन जरुरी’

विदुर खबर २०७८ चैत १४ गते ८:२४

नुवाकोट । कांग्रेस केन्द्रीय समिति बैठक स्थानीय निर्वाचनमा अन्य दलसँग गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा केन्द्रित रही छलफल भइरहेको छ ।

Advertisement

‘घर–घर जाऔं कांग्रेस जिताऔं’ अभियानको प्रारम्भिक समीक्षा र केन्द्रीय संसदीय समिति गठन गर्ने प्रमुख एजेन्डा लिएर शुक्रबारदेखि बैठक बसी छलफल चलिरहेको छ । बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले स्थानीय निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा केन्द्रित भएर आफ्नो विचार राखिरहेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभएको छ । सबैको धारणा आइसकेपछि एउटा निर्णयमा पुग्ने भन्दै प्रवक्ता महतले अन्य दलसँग गठबन्धन गरेर चुनावमा गए पनि कांग्रेस एक्लै प्रतिस्पर्धा गरे पनि धेरैभन्दा धेरै पालिका र वडामा अध्यक्ष जित्ने गरी केन्द्रीय सदस्यहरूको धारणा आइरहेको बताउनुभयो ।

बैठकमा कतिपय केन्द्रीय सदस्यहरूले स्थानीय निर्वाचनमा गठबन्धन र तालमेल सरकारको निरन्तरतासँग पनि जोडेका छन् । केन्द्रीय सदस्य पुष्पा भुसाल, जीवनबहादुर शाहीलगायतले अहिले गठबन्धनको सरकार भएको भन्दै यो सरकारको निरन्तरताका लागि पनि निर्वाचनमा सत्ताघटक दलहरूबीच गठबन्धन गर्नुपर्ने धारणा राखेका थिए । आगामी निर्वाचनमा हुने गठबन्धनलाई सरकारको निरन्तरताको विषयसँग गाँसेर हेर्नुपर्ने धारणा आए पनि धेरैजसो केन्द्रीय सदस्यले आवश्यक्ताको आधारमा स्थानीय संरचनाले नै गठबन्धनबारे निर्णय लिनुपर्ने धारणा राखेका छन् ।

Advertisement

बैठकमा आफ्नो धारणा राख्ने क्रममा केन्द्रीय सदस्य मधुप्रसाद आचार्यले कांग्रेसभित्र आन्तरिक एकता मजबुत बनाएमा अन्य दलसँगको गठबन्धन आवश्यक नभएको बताउनुभएको थियो । ‘अरु पार्टीसँग गठबन्धन गर्नुभन्दा पनि आफ्नै पार्टीभित्र आत्मबन्धन नेतृत्व पंक्ति गम्भीर हुनुपर्छ’, आचार्यले भन्नुभयो– ‘कांग्रेस एकताबद्ध भएको सन्देश दिन सके आम नेता, कार्यकर्तामा उत्साह बढ्छ र यसले चुनाव जित्ने तागत सिर्जना गर्छ ।’

अन्य दलसँग गठबन्धन वा तालमेल गर्नै पर्ने भए पनि विधानमा व्यवस्था भएबमोजिम उम्मेदवार छनौट गर्ने जिम्मेवारी पाएको तत्तत् निकायलाई नै यसको जिम्मेवारी दिनुपर्ने भन्दै बैठकमा कतिपय केन्द्रीय सदस्यले पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका थिए । कांग्रेसको वडा अध्यक्षसम्मको उम्मेदवार छनौट प्रतिनिधिसभा संसदीय समितिले गर्छ भने गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षका लागि उम्मेदवार छनौट जिल्ला संसदीय समितिले गर्छ । उपमहानगरपालिका र नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि उम्मेदवार छनौट प्रदेश संसदीय समितिले गर्ने कांग्रेस विधानमा उल्लेख छ । केन्द्रीय संसदीय समितिले महानगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार छनौट गर्छ । शुक्रबारको बैठकमा केन्द्रीय सदस्य दिनेश कोइराला र टेकप्रसाद गुरुङले चितवनमा अन्य पार्टीका उम्मेदवारलाई कांग्रेसले मत हाल्दैनन भन्दा सभापति शेरबहादुर देउवा गठबन्धन नगरी एक्लै चुनाव जितेर देखाउनु भन्दै रिसाउनुभएको थियो ।

Advertisement

स्थानीय निर्वाचन नजिकिएसँगै निर्वाचनमा जाँदा अन्य दलसँग गठबन्धन गर्ने कि नगर्ने भन्ने कांग्रेसभित्र चर्को बहस चलिरहेको र निर्णय के होला भनी आम चासो भइरहेको बेला कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल भन्नुहुन्छ– ‘गठबन्धनलाई बचाएर लैजाने गरी नीतिगत निर्णय आउँछ ।’ कांग्रेस प्रवक्ता डा. महत पनि पार्टीलाई जे फाइदा हुन्छ त्यति निर्णय आउने बताउनुहुन्छ ।

प्रतिक्रिया