पञ्चकन्याको ५३ लाख वृद्धभत्ता चोरी प्रकरण : वडा सचिवसहित तीनविरूद्ध भ्रष्टाचार मुद्दा दायर

नुवाकोट । नुवाकोटको पञ्चकन्या गाउँपालिकामा सामाजिक सरक्षा भत्ताको ५३ लाख चोरी भएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन जनाको विरूद्धमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले शुक्रबार विशेष अदालत काठमाडाैँमा मुद्दा दयार गरेको आयोगका सहप्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिएका छन । वडा सचिव सरिता राउत, कार्यालय सहायक रामकुमार गिरी र कार्यालय सहयोगी निलप्रसाद मिश्रका विरूद्धमा मुद्दा दर्ता गरेको हो ।
अख्तियारले विज्ञप्तिमा भनेको छ, ‘भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर हुन आएको हुँदा निजहरुलाई ऐ. ऐनको दफा १७ ले निर्देश गरेबमोजिम ऐ. ऐनको दफा ३ को उपदफा (१) र ऐ.ऐ. दफा ३ को उपदफा (१) को देहाय (ज) बमोजिम बिगो रु.५३,०१,८५६।– (अक्षेरुपी त्रिपन्न लाख एक हजार आठ सय छपन्न रुपैयाँ) कायम गरी सजाय हुन साथै, ऐ. दफा १७ बमोजिम हानिनोक्सानी भएको बिगो रकम निजहरु सरिता राउत, रामकुमार गिरी र निलप्रसाद मिश्रबाट असुलउपर हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५(१) एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज बिशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।’
अख्तियारले राज्यको सम्पत्तिको सुरक्षा गर्न नसकेको भनेर तीन जनाका विरूद्धमा मुद्दा दर्ता गरे पनि सरकारी रकम सीधै व्यक्तिको खातामा पठाउन पत्र लेख्ने प्रशासकीय अधिकृत, घटना ढाकछोपमा भूमिका खेल्ने गाउँपालिका अध्यक्ष, वडा अध्यक्ष लगायतका विषयका केही बोलेको छैन । सामान्य प्रशासन मन्त्रालयले प्रशासकीय अधिकृतलाइ कारबाही स्वरूप मन्त्रालयमा जगेडामा तानेका थियो भने आयोगलाइ कारबाहीका लागि लेखि पठाएको थियो ।

प्रतिक्रिया