कांग्रेस निर्वाचन : पदाधिकारीमा देउवाको बहुमत
नुवाकोट । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट पदाधिकारीमा मिश्रित नतिजा आए पनि सभापति शेरबहादुर देउवा बहुमतमा रहनुभएको छ । सभापतिसहित १४ पदाधिकारी रहने कांग्रेस केन्द्रीय समितिमा कोषाध्यक्षबाहेक सबै निर्वाचित हुनुपर्छ ।

एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीका लागि भएको निर्वाचनमा एक उपसभापति र छ जना सहमहामन्त्री देउवा समूहका निर्वाचित भएका छन् । १४औं महाधिवेशनमा प्यानलसहित चुनावमा गएका सभापति देउवाले कोषाध्यक्ष आफ्नै समूहको मनोनित गर्ने निश्चित भएसँगै पदाधिकारीमा सभापति देउवासहित ९ जना हुने देखिएको छ ।
कांग्रेस केन्द्रीय समितिमा सभापतिइतर पक्षका पाँच जनामात्र पदाधिकारीमा निर्वाचित भएका छन् ।
देउवाइतर समूहबाट पदाधिकारीमा निर्वाचित हुने नेताहरूमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीमा जीवन परियार र बद्री पाण्डे हुन् । परियारले दलित कोटाबाट र पाण्डेले पिछडिएको क्षेत्र कोटाबाट सहमहामन्त्री जितेका हुन् । महामन्त्री शर्मा प्रकाशमान सिंह प्यानलबाट महाधिवेशनमा चुनाव लडेका थिए भने अन्य डा. शेखर कोइरालाको प्यानलबाट चुनाव लडेका थिए । कांग्रेसभित्र सभापतिपछि शक्तिशाली पदका रूपमा लिइने महामन्त्री दुवै फरक प्यानलबाट आएपछि देउवाको बहुमत भए पनि पदाधिकारीमा निर्णय गराउन देउवालाई सकस देखिएको छ ।
देउवा समूहबाट उपसभापतिमा पूर्णबहादुर खड्का, सहमहामन्त्रीमा आदिवासी जनजाति कोटाबाट भीष्मराज आङदम्बे, महिला कोटाबाट महालक्ष्मी उपाध्याय, मुस्लिम कोटाबाट फरमुल्लाह मन्सुर, थारू कोटाबाट उमाकान्त चौधरी, मधेसी कोटाबाट महेन्द्र यादव र खस आर्य कोटाबाट किशोरसिंह राठौर निर्वाचित भएका हुन् । सहमहामन्त्रीमा देउवा प्यानलबाट निर्वाचित भएकामध्ये चौधरी कृष्णप्रसाद सिटौला समूहका हुन् । सिटौला समूह यो अधिवेशनमा देउवा समूहसँग मिलेर चुनावमा गएको थियो ।
पदाधिकारीको मतपरिणाम आएसँगै हिजो शनिबार केन्द्रीय सदस्यको मतगणना भइरहेको निर्वाचन समितिले जनाएको छ । जसमा पहिले खुलातर्फ केन्द्रीय सदस्यको मतगणना भएको थियो । खुलामा ३५ जना केन्द्रीय सदस्यका लागि ९९ जनाको उम्मेदवारी परेको छ । महाधिवेशनले निर्वाचित गर्ने १ सय २१ जना केन्द्रीय सदस्यका लागि झन्डै साढे चार सय जनाको उम्मेदवारी परेको छ । जसमध्ये प्रदेश नम्बर २ बाट आनन्द ढुंगाना र रमेश रिजाल केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका थिए ।
विधानअनुसार सभापतिले मनोनित गर्ने ३३ जना केन्द्रीय सदस्यबाहेक महाधिवेशनबाट सबै निर्वाचित हुनुपर्नेछ । केन्द्रीय सदस्य खुलामा ३५ जना, महिला खुलामा ९ जना निर्वाचित हुने प्रावधान छ । प्रत्येक प्रदेशबाट एक महिलासहित तीन जनाको दरले कुल २१ जना निर्वाचित हुनुपर्ने विधानमा व्यवस्था छ । केन्द्रीय सदस्यमा समानुपातिक र समावेशीको सिद्धान्तअनुसार ५६ जना निर्वाचित हुन्छन् । जसअन्तर्गत दलित कोटामा चार महिलासहित ९ जना, आदिवासी/जनजाति कोटामा सात महिलासहित १५ जना, खस/आर्य कोटामा ६ महिलासहित १३ जना, मधेसी कोटामा चार महिलासहित ९ जना, थारू कोटामा दुई महिलासहित चार जना, मुस्लिम कोटामा एक महिलासहित तीन जना, पिछडिएको क्षेत्रअन्तर्गत एक जना र अल्पसंख्यक/अपांग कोटाबाट दुई जना केन्द्रीय सदस्य निर्वाचित हुने विधानमा उल्लेख छ ।
सभापतिले मनोनित गर्ने ३३ जनामा एकतिहाइ महिला कार्यसमितिमा पुग्ने गरी समानुपातिक समावेशी सिद्धान्तको आधारमा गर्नुपर्ने भनिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












अब दुई दिन सरकारी बिदा
नुवाकोटमा स्कुटर र्दुघटना हुँदा एक जनाको मृत्यु
रेग्मीको ‘अक्षरमा अनुभूति’ मुक्तक संग्रह लोकार्पण
कलाकार सागर लम्साल (बले) पक्राउ
आज धेरै ठाउँमा हावाहुरीको सम्भावना





प्रतिक्रिया