कांग्रेस निर्वाचन : पदाधिकारीमा देउवाको बहुमत

विदुर खबर २०७८ पुष ४ गते ९:०८

नुवाकोट । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट पदाधिकारीमा मिश्रित नतिजा आए पनि सभापति शेरबहादुर देउवा बहुमतमा रहनुभएको छ । सभापतिसहित १४ पदाधिकारी रहने कांग्रेस केन्द्रीय समितिमा कोषाध्यक्षबाहेक सबै निर्वाचित हुनुपर्छ ।

Advertisement

एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीका लागि भएको निर्वाचनमा एक उपसभापति र छ जना सहमहामन्त्री देउवा समूहका निर्वाचित भएका छन् । १४औं महाधिवेशनमा प्यानलसहित चुनावमा गएका सभापति देउवाले कोषाध्यक्ष आफ्नै समूहको मनोनित गर्ने निश्चित भएसँगै पदाधिकारीमा सभापति देउवासहित ९ जना हुने देखिएको छ ।
कांग्रेस केन्द्रीय समितिमा सभापतिइतर पक्षका पाँच जनामात्र पदाधिकारीमा निर्वाचित भएका छन् ।

देउवाइतर समूहबाट पदाधिकारीमा निर्वाचित हुने नेताहरूमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीमा जीवन परियार र बद्री पाण्डे हुन् । परियारले दलित कोटाबाट र पाण्डेले पिछडिएको क्षेत्र कोटाबाट सहमहामन्त्री जितेका हुन् । महामन्त्री शर्मा प्रकाशमान सिंह प्यानलबाट महाधिवेशनमा चुनाव लडेका थिए भने अन्य डा. शेखर कोइरालाको प्यानलबाट चुनाव लडेका थिए । कांग्रेसभित्र सभापतिपछि शक्तिशाली पदका रूपमा लिइने महामन्त्री दुवै फरक प्यानलबाट आएपछि देउवाको बहुमत भए पनि पदाधिकारीमा निर्णय गराउन देउवालाई सकस देखिएको छ ।

Advertisement

देउवा समूहबाट उपसभापतिमा पूर्णबहादुर खड्का, सहमहामन्त्रीमा आदिवासी जनजाति कोटाबाट भीष्मराज आङदम्बे, महिला कोटाबाट महालक्ष्मी उपाध्याय, मुस्लिम कोटाबाट फरमुल्लाह मन्सुर, थारू कोटाबाट उमाकान्त चौधरी, मधेसी कोटाबाट महेन्द्र यादव र खस आर्य कोटाबाट किशोरसिंह राठौर निर्वाचित भएका हुन् । सहमहामन्त्रीमा देउवा प्यानलबाट निर्वाचित भएकामध्ये चौधरी कृष्णप्रसाद सिटौला समूहका हुन् । सिटौला समूह यो अधिवेशनमा देउवा समूहसँग मिलेर चुनावमा गएको थियो ।

पदाधिकारीको मतपरिणाम आएसँगै हिजो शनिबार केन्द्रीय सदस्यको मतगणना भइरहेको निर्वाचन समितिले जनाएको छ । जसमा पहिले खुलातर्फ केन्द्रीय सदस्यको मतगणना भएको थियो । खुलामा ३५ जना केन्द्रीय सदस्यका लागि ९९ जनाको उम्मेदवारी परेको छ । महाधिवेशनले निर्वाचित गर्ने १ सय २१ जना केन्द्रीय सदस्यका लागि झन्डै साढे चार सय जनाको उम्मेदवारी परेको छ । जसमध्ये प्रदेश नम्बर २ बाट आनन्द ढुंगाना र रमेश रिजाल केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका थिए ।

Advertisement

विधानअनुसार सभापतिले मनोनित गर्ने ३३ जना केन्द्रीय सदस्यबाहेक महाधिवेशनबाट सबै निर्वाचित हुनुपर्नेछ । केन्द्रीय सदस्य खुलामा ३५ जना, महिला खुलामा ९ जना निर्वाचित हुने प्रावधान छ । प्रत्येक प्रदेशबाट एक महिलासहित तीन जनाको दरले कुल २१ जना निर्वाचित हुनुपर्ने विधानमा व्यवस्था छ । केन्द्रीय सदस्यमा समानुपातिक र समावेशीको सिद्धान्तअनुसार ५६ जना निर्वाचित हुन्छन् । जसअन्तर्गत दलित कोटामा चार महिलासहित ९ जना, आदिवासी/जनजाति कोटामा सात महिलासहित १५ जना, खस/आर्य कोटामा ६ महिलासहित १३ जना, मधेसी कोटामा चार महिलासहित ९ जना, थारू कोटामा दुई महिलासहित चार जना, मुस्लिम कोटामा एक महिलासहित तीन जना, पिछडिएको क्षेत्रअन्तर्गत एक जना र अल्पसंख्यक/अपांग कोटाबाट दुई जना केन्द्रीय सदस्य निर्वाचित हुने विधानमा उल्लेख छ ।

सभापतिले मनोनित गर्ने ३३ जनामा एकतिहाइ महिला कार्यसमितिमा पुग्ने गरी समानुपातिक समावेशी सिद्धान्तको आधारमा गर्नुपर्ने भनिएको छ ।

प्रतिक्रिया