सह-महामन्त्रीमा ‘ग्रीन सिंग्नल’ पाएको छु : बहादुर सिंह लामा

विदुर खबर २०७८ मंसिर २४ गते २०:०५

नुवाकोट । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सङ्घीय सभासद बहादुर सिंह लामाले कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा जनजाति तर्फबाट  सह-महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

Advertisement

नुवाकोटबाट चुनाव लड्दै केन्द्रीय राजनीतिमा उदाएका लामाले आसन्न १४ औं महाधिवेशनमा सह-महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका हुन् । हाल सङ्घीय सभासद समेत रहेका लामा लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय रहेका छन् । लामा संविधान सभामासमेत सदस्य रहेर काम गरेका व्यक्तित्व हुन् ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा तपाईंको तयारी के रहेको छ ? 

Advertisement

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा जनजाति तर्फबाट मैँले सह-महामन्त्री पदमा उम्मेदवारीको तयारी गरिरहेको छु । नेपाली कांग्रेसलाई पहिले जनजाति विरोधी पार्टीका रुपमा पनि चिनिने गरिन्थ्यो । नेपालमा धेरै जनजातिहरु छन् । उहाँहरुको प्रतिनिधित्व कांग्रेसमा हुनुपर्छ भनेर मैँले यसको तयारी गरेको हो । जनजातिहरुमा हाम्रो मान्छेले नेपाली कांग्रेसमा प्रतिनिधित्व गरिरहेको छ भन्ने एकखाले विश्वास र भरोसाको लागि मैँले यो तयारी गरिरहेको हो ।

म प्रतिनिधिका रुपमा आएपछि तामाङ लगायतका विभिन्न जनजातिमा हाम्रो मान्छे कांग्रेसमा रहेको छ भन्ने प्रभाव परेको मैँले पाएको छु । काभ्रे, रामेछाप, रसुवा, नुवाकोट र सिन्धुपाल्चोक लगायतका विभिन्न जिल्लाका साथीहरुले मलाई साथ र हौसला पनि दिनुभएको छ । योभन्दा अघि कांग्रेस पदाधिकारीमा जनजातिको प्रतिनिधित्व थिएन । यसपालि हुनेभयो भन्नेमा उहाँहरु आशावादी रहेको मैँले पाएको छु । कांग्रेस पदाधिकारीमा जनजातिको प्रतिनिधित्व भयो भने नेपाली कांग्रेसलाई अझ ठूलो पार्टी हुन पनि यसले अहम् भूमिका खेल्छ भन्ने मलाई पनि लागेको छ ।

Advertisement

तपाईंको राजनीतिक पृष्ठभूमि पनि अलिकति प्रकाश पारिदिनुहोस् न ?

राजनीतिक पृष्ठभूमिका कुरा गर्नुपर्दा मेरो पारिवारिक रुपमा नै राजनीतिक पृष्ठभूमि भएको परिवार हो । लालविर तामाङ मेरा हजूबाको पालादेखि नै गाउँको पनि नेतृत्व लिएर बसेको परिवारकोरुपमा हामी छौं । त्यसपछि काकाहरुले पनि सामाजिक कामहरुलाई र राजनीतिलाई साथसाथै लगेको पाउन सकिन्छ । त्यसपछि तेस्रो पुस्तामा मैँले नेतृत्व गरिरहेको छु ।

मैँले गाविस अध्यक्ष भएर पनि सामाजिक काम र राजनीतिलाई अघि बढाउने मौका पाएँ ।  नेविसंघको क्षेत्रीय सभापति र जिल्लाको उपसभापतिको रुपमा पनि काम गरेको थिएँ । मेरो कामलाई देखेर नै होला सायद्, ६४ सालमा संविधान सभाको लागि भएको चुनाव पनि लड्ने मौका पाएँ । जनताले विश्वास गरिरहेको कारण पनि पछिल्लो चुनाव पनि जितेको अनुभूति गरेको छु ।

संघीयता आएपछि जिल्लामा दुई वटा मात्र क्षेत्र भएकोले म समानुपातिक सांसद भएको हो । मलाई समानुपतिकमाभन्दा पनि चुनावबाट नै जितेर आउन राम्रो लाग्छ । जसमा जनता र नेताबीच एकखाले सुमधुर सम्बन्ध पनि कायम हुन्छ । त्यस्तो आकर्षणमा मलाई रुचि पनि लाग्छ । जनताकै विश्वास पाइरहेको र पार्टीमा सक्रिय भूमिका निभाएको कारण नै म महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य पनि लगातार हुँदै आएको जस्तो अनुभूति हुन्छ ।

विकास निर्माण र सामाजिक भलाइका काममा पनि मलाई रुचि लाग्छ । जिल्लामा मैँले त्यस्तो काम गर्ने अवसर पनि पाएको छु । जनताले पनि ती कामहरुमा साथ हौसला दिनुभएको छ । उहाँहरु खुशी पनि हुनुभएको मैँले पाएको छु । समूहगत हिसाबले पनि नुवाकोटमा अहिले जिल्ला सभापतिदेखि लिएर क्षेत्रीय तहमा पनि हाम्रो राम्रो सक्रियता रहेको मैँले पाएको छु । सहमहामन्त्रीमा दाबी गर्दैगर्दा पार्टीका सभापतिका तर्फबाट पनि ‘ग्रीन सिंग्नल’ पाएको छु । साथीहरुले पनि साथ दिइरहनुभएको छ । सकारात्मक रुपमा अघि बढिरहेको कारण सह महामन्त्री हुने सम्भावना धेरै छ ।

सह-महामन्त्री हुनुभयो भने तपाईंका एजेण्डा के के छन् ?

पहिलो कुरा सह-महामन्त्री भएँ भने जनजातिको प्रतिनिधित्व पनि कांग्रेसमा हुनेरहेछ भन्ने कुराको अनुभूति जनताले गर्नेछन् । पार्टीलाई यसले राम्रै हुन्छ फाइदा  पुग्छ । नेपाली कांग्रेसको आकर्षण पनि जनतामा बढ्ने अपेक्षा गर्न सकिन्छ । किनकी पार्टीमा यो ऐतिहासिक कुरा नै हो । नेपाली कांग्रेसभित्रका कमी कमजोरीलाई सुधार गर्दै लैजाने कुरामा पनि मेरो अहम् भूमिका रहनेछ ।

कांग्रेसभित्र रहेका विभन्न मनमुटाव र टकरावलाई साम्य पार्न म राम्रो भूमिका निभाउन सक्छु भन्ने लागेको छ । प्रजातान्त्रिक अभ्यासलाई सुदृढ बनाउँदै लैजानुछ । पार्टीमा गर्नुपर्ने काम धेरै छन् । त्यसको लागि म तयार भएको छु । पदाधिकारीमै  भएको खण्डमा मेरो क्षमता र कार्यशैली पनि साथीहरुमा देखाउने अवसर हुनेछ ।

यी र यस्ता काममा यसको सक्षमता छ भन्नेखाले एउटा अवसरका रुपमा पनि यसलाई लिनुपर्ने हुन्छ । यो देश र जनताकाप्रति काम गर्न पाउने एउटा अवसर र चुनौती पनि हो । मुख्य गरी जनजातिहरुमा पार्टीमा आकर्षण बढ्ने मैँले अपेक्षा गरेको छु । जसले पार्टीलाई ठूलो बनाउन सहयोग मिल्छ भन्ने कुरा हो । नेपाली कांग्रेसलाई जनताको भरोसाको केन्द्र बनाउन म अहम् भूमिका निभाउनेछु । मैँले जित्छु भन्ने पनि लागेको छ ।

१४औँ महाधिवेशनबाट कस्तो नेतृत्वा आउला भन्ने सोच्नुभएको छ ?

१४औँ महाधिवेशनबाट सबल र सबैलाई समेटेर लैजाने र सबै अट्ने नेतृत्व आउनुपर्छ । क्षमतावान् र पार्टीको हित गर्न सक्ने नेतृत्व आउनुपर्छ भन्ने नै हाम्रो मान्यता हो । सिनियारिटीका कुरा पनि होलान् । अनुभवका आधारका कुरा पनि निस्किहाल्छ । यो महाधिवेशनमा धेरै किसिमका आकर्षण र आकांक्षाहरु पनि देखिएको छ ।

जनजाति, आदिबासी, मधेसी, महिला, उत्पीडित वर्ग र युवा वर्गले विश्वास गर्ने सबल नेतृत्व कांग्रेसमा आउँछ भन्ने मलाई लागेको छ । पार्टीका सभापतिले पनि अन्तिम पटक सभापति हुने भन्नुभएको छ । यसले पक्कै पनि कांग्रेस रुपान्तरण भएर आउँछ भन्ने मलाई लागेको छ । पार्टीका सभापति लामो समयदेखिको अनुभवले खारिएका व्यक्ति हुनुहुन्छ । उहाँले सबैलाई समेट्ने प्रयास पनि गरिरहनुभएको छ । धेरै साथीहरुले उहाँलाई अहिले विश्वास गरिररेको पनि देखिन आएको हुँदा पार्टी नेतृत्व सबल भएर आउँछ भन्ने मेरो धारणा हो ।

महाधिवेशनका प्रतिनिधिहरुलाई के भन्न चाहनुहुन्छ ?

महाधिवेशनका प्रतिनिधि साथीहरुहरुलाई म सबै मिलेर जानुपर्छ भन्न चाहन्छु । कांग्रेस ठूलो पार्टी भएको कारण चाहना गरेको पद पाउन पनि अप्ठेरो रहेको छ । आपसी सद्भाव कायम भएको खण्डमा अर्को पटक पनि आकांक्षा राख्न सकिन्छ । हामी मिलेर गयौं भने कांग्रेस बलियो भएर जानेछ ।

कांग्रेस बलियो भएर गए देश बलियो हुनेछ । नेतृत्वको लागि प्रतिस्पर्धा र चुनाव पनि हुन्छ । हारजित पनि भइ नै हाल्छ । त्यसपछि पनि हामी मिलेर सहकार्य गरेर जानैपर्छ । हामी सबैको लक्ष्य कांग्रेसलाई बलियो बनाउने नै हो । चुनावमा समूहहरु पनि बनेका छन्, बन्छन् पनि । महाधिवेशनपछि फेरि हामीले सहमति सहकार्य र एकताबद्ध भएर अघि बढ्नुपर्छ । त्यो नै प्रजातन्त्रको सुमधुर पक्ष र यसको अभ्यास पनि हो ।

महाधिवेशनपछि फेरि हामीले इगो लिने, सहकार्य नगर्ने र निषेध गर्ने जस्ता कामहरु गर्न हुँदैन । हारे पनि जिते पनि प्रजातन्त्रको अभ्यासमा हामी सहभागी हुनैपर्छ । प्रजातन्त्रको अभ्यासमा हार भएको साथी र जितेको साथीले एक अर्कालाई साथ दिनैपर्छ । जितेको साथीले पनि हारेको साथीप्रति सद्भाव र भाइचारा देखाउनुपर्छ । यो नै प्रजातन्त्रको गहना हो । महाधिवेशनपछि लगत्तै अरु चुनावहरु आउँदैछन् । त्यसको लागि हामीले एकताबद्ध हुनु जरुरी रहेको छ ।

बहुदलीय प्रजातान्त्रिक अभ्यासमा दललाई राम्रो बनाउन सके मात्र देशको समृद्धिको ढोका खुल्ने हुँदा महाधिवेशनपछि पनि हामी मिलेर जाऔं । म साथीहरुलाई यही अपील गर्न चाहान्छु

प्रतिक्रिया