एमाले महाधिवेशन: ओलीको अघि एमालेका नेताहरू चुपचाप

विदुर खबर २०७८ मंसिर ७ गते ८:४२

नुवाकोट । पार्टीको नेतृत्व चयनका लागि हुन लागेको नेपाल कम्युनिस्ट पार्टी एमालेको १०औं राष्ट्रिय महाधिवेशन आउन अब तीन दिनमात्र बाँकी छ । पार्टीका उपाध्यक्ष भीम रावलबाहेक अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिने गरी अन्य नेताले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छैनन् ।

Advertisement

अध्यक्षमा मात्र होइन, पदाधिकारी र केन्द्रीय सदस्यका लागि पनि एमाले नेताहरूले उम्मेदवारी घोषणा गर्ने आँट गर्न सकिरहेका छैनन् ।
अध्यक्ष ओलीले सकेसम्म सर्वसम्मत रूपमा नै अध्यक्ष बन्ने चाहना राख्दै आउनुभएका कारण ओली निटकका नेताहरू उपाध्यक्ष रावलको उम्मेवारी सकेसम्म फिर्ता गराएर सर्वसम्मत रूपमा अध्यक्ष र पदाधिकारी चयन गर्ने गृहकार्यमा लागिरहेको बताइएको छ । ओली निकट एक नेता भन्छन्– ‘अहिले पार्टीमा चुनाव नभई सर्वसम्मत रूपमा ओलीको नेतृत्वमा पार्टी अगाडि बढाएर अगाडि बढ्नुको विकल्प छैन्, त्यो कुरा भीम रावलले पनि बुझेको हुनुपर्छ ।’

सकेसम्म ओलीले रावलाई पनि उचित जिम्मेवारी दिएर चुनाव नहोस् भन्ने चाहना राखेको ती नेताले बताए । उनका अनुसार चुनाव नै हुने अवस्था बन्यो भने कसको उम्मेदवारी कुन पदमा हुने भन्ने उद्घाटन सत्र सकिएपछि मात्रै टुंगो लाग्नेछ । स्वतन्त्र रूपमा उम्मेदवारी घोषणा गर्दा हारिने डरको कारणले पनि आफ्नो पद सुरक्षित बनाउन उम्मेदवारका आकांक्षीहरू ओलीको बाटो कुरेर बसेका छन् । पार्टीको केन्द्रीय सदस्य र पदाधिकारीमा आउन चाहने सबैजसो नेताले ओलीलाई भेटेर आफ्नो कुरा राख्दै आएको बताइएको छ । भेटमा ओलीले नेताहरूको कुरा मात्र सुनेको र कुनै जवाफ नदिएका कारण नेताहरू जवाफको प्रतीक्षामा रहेको बताइएको छ ।

Advertisement

पार्टीभित्र पदाधिकारीसहित केन्द्रीय सदस्यमा निर्वाचन हुँदा पूर्वमाओवादी र १० बुँदे सहमति पक्षधरका नेताहरू पराजित हुने भएकाले पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म नै सहमतिको आधारमा टुंगो लगाउनुपर्ने बाध्यता ओलीसँग रहेको छ । दुई समूहलाई मिलाउँदा पदाधिकारीमा आफू निकट नेताहरूको व्यवस्थापन गर्न उहाँलाई चुनौती थपिएको छ ।पदाधिकारीमा वरिष्ठ उपाध्यक्ष र महासचिव को हुने भन्ने विषयमा अहिलेसम्म नेताहरूले खुलेर बोल्न सकिरहेका छैनन् । पूर्वमाओवादीबाट आएका रामबहादुर थापा, महासचिव ईश्वर पोखरेल र सुभाषचन्द्र नेम्वाङमध्ये ओलीले कसलाई अगाडि बढाउलान् भन्ने चासोको विषय बन्न पुगेको छ । महासचिवमा विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवालीलगायतका नेताले आकांक्षा देखाएका छन् । तीनै जना ओलीको विश्वास पात्र हुन् ।

महाधिवेशनमा सहभागी हुनका लागि देशभरबाट २ हजारभन्दा बढी प्रतिनिधि चुनिएका छन् । चुनाव भएको खण्डमा २ हजार प्रतिनिधिले पदाधिकारीसहित २ सय २५ जना केन्द्रीय सदस्यको चयन गर्नेछ ।महाधिवेशनमा यसपटक विधानको विषयमा कुनै छलफल हुने छैन । एमालेले विचार र विधान टुंगो लगाउन गत असोजको १५ देखि १७ सम्म विधान महाधिवेशन आयोजना सम्पन्न गरिसकेको छ । महाधिवेशनको उद्घाटन सत्रपछि सोझै नेतृत्व चयनको प्रक्रिया अगाडि बढ्नेछ ।

Advertisement

यसअघि महाधविशेनअघि नै पार्टीभित्र नेतृत्वमा उम्मेदवारी घोषणा हुने गर्दथ्यो । तर, यसपटक अध्यक्ष ओलीलाई चुनौती दिने नेताहरू पार्टीबाट बाहिरिएसँगै अन्य नेताले ओलीको चाहनाविपरीत उम्मेदवारी घोषणा गर्ने र खुलेर आफ्नो पक्षमा प्रचार गर्ने आँट देखाउन सकिरहेका छैनन् ।नेताहरूले आफू उठ्ने पदको घोषणा गर्न नसकेपछि आफू निकटका नेताहरू र सचिवालयमार्फत ब्यानर बनाएर सुस्त गतिमा प्रचारप्रसारको काम अगाडि बढाएका छन् ।

पदाधिकारी र केन्द्रीय सदस्य बन्ने आकांक्षी नेताहरूले आ–आफ्नो समूहमा घनीभूत ढंगले छलफल अगाडि बढाइरहेका छन् । तर, अध्यक्ष ओलीको कुनै संकेत नआएका कारण उम्मेदवारी घोषणा गर्न भने सकिरहेका छैनन् ।अध्यक्ष ओलीले यसअघि सम्पन्न वडा र पालिका तहको अधिवेशनमा सर्वसम्मत रूपमा नेतृत्व चयन गर्न निर्देशन दिनुभएको थियो । उहाँका निर्देशनबमोजिम अपवादबाहेक अधिकांश वडा र पालिका अधिवेशनले सहमतिकै आधारमा नेतृत्व चयन गरेको थियो । ओलीकै निर्देशनमा कात्तिक २७ गते देशभर एकैसाथ भएको महाधिवशेन प्रतिनिधि पनि सर्वसम्मत रूपमा चयन भइसकेको छ ।

पार्टी एकताको महाधिवेशन भएकाले ओलीले पार्टीभित्र कुनै पनि समस्या नभएको सन्देश दिनका लागि सहमतिबाटै नेतृत्व चयन गर्न जोड दिँंदै आउनुभएको छ । अहिले एमालेभित्र घोषित कुनै गुट नभएका कारण ओली सर्वेसर्वाका रूपमा देखिनुभएको छ । गुटको आधारमा पदाधिकारीमा दाबी गर्ने अवस्थामा पनि पार्टीभित्र छैन ।

माधवकुमार नेपालको साथ छोडेर १० बुँदे सहमतिमार्फत पार्टीभित्र रहेका १० जनामध्ये रावल र उपमहासचिव घनश्याम भुसालबाहेक बाँकी आठै जनाले अध्यक्ष ओलीलाई साथ दिँदै आइरहेका छन् ।एमालेको महाधिवेशनमा पदाधिकारी तहमा सर्वसम्मति भए पनि खुला केन्द्रीय सदस्यमा भने आकांक्षी धेरै भएकाले चुनाव हुन सक्ने सम्भावना रहेको बताइएको छ ।

स्थायी कमिटीको बैठक स्थगित

महाधिवेशनको तयारी र पाँच प्रतिशत महाधिवेशन प्रतिनिधि चयन गर्न सोमबार बस्ने भनिएको एमालेको स्थायी कमिटीको बैठक स्थगित भएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले आज मंगलबार तुलसीलाल प्रतिष्ठानमा बैठक बस्ने तय भएको जानकारी दिनुभयो । बैठकले पाँच प्रतिशत महाधिवेशन प्रतिनिधि चयन गर्नेछ ।

प्रतिक्रिया