रसुवाको लाङटाङमा चिज उत्पादन बढ्यो

विदुर खबर २०७८ कार्तिक २ गते ७:००

नुवाकोट । नेपालको पहिलो चिज उत्पादन केन्द्र लाङटाङमा चिज उत्पादन बढेको छ ।

Advertisement

गत वर्षको तुलनामा यो वर्ष चिज उत्पादन बढेको हो । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४ क्यान्जिनमा रहेको चिज उत्पादन केन्द्रले यो पटक ३ हजार किलो चिज उत्पादन गरेको छ ।

गत वर्ष २२ सय किलो चिज उत्पादन भएको थियो । यो वर्ष ५ हजार किलो चिज उत्पादनको लक्ष्य राखिएको भए पनि उत्पादन गर्न नसकिएको केन्द्र प्रमुख ग्याल्बु तामाङले बताउनुभयो । ‘यसपटक लक्ष्यको तुलनामा कम उत्पादन भएको छ’, उहाँले भन्नुभयो, ‘तर गत वर्षको तुलनामा चिज उत्पादन बढाउन सफल भएका छौं ।’

Advertisement

जेठबाट उत्पादन सुरु गर्नुपर्ने भए पनि कोरोनाका कारण असारबाट मात्र सुरु भएको थियो ।  गएको असारदेखि असोज २८ गतेसम्म केन्द्रले चिज उत्पादन गरेको थियो ।

भूकम्प जानुपूर्व केन्द्रले वार्षिक ५ हजार किलो चिज उत्पादन गर्दै आएको थियो । पछिल्लो समय भने क्षमताभन्दा कम उत्पादन हुँदै आएको छ । केन्द्रको वार्षिक चिज उत्पादन क्षमता ६ हजार किलो रहेको छ । केन्द्रले हाल क्यान्जिन, छेप्चे र लाङसिसाबाट चिज उत्पादन गर्दै आएको छ ।

Advertisement

भूकम्पपछि चौरीपालक कृषक घटेको, उपकरणको अभाव, जनशक्तिको अभाव, अगाडि पेश्की दिने कार्य रोकिनु र पछिल्लो समय कोरोना लगायतका कारण क्षमता अनुसार चिज उत्पादन हुन नसकेको हो ।


केन्द्रले चिज प्रतिकिलो १ हजार ४ सय र मखन प्रतिकिलाे एक हजार दुई सय रुपैयाँमा बिक्री गर्दै आएको छ । पर्यटकीय क्षेत्र लाङटाङको क्यान्जिनमा रहेको चिज उत्पादन केन्द्र २००९ सालमा स्थापना भएको थियो । यो नेपालको पहिलो चिज उत्पादन केन्द्र हो ।

जिल्लाको गोसाइँकुण्ड गाउँपालिकामा रहेको पाङ्लेखर्क, चन्दनबारी र लाङटाङ तथा आमाछोदिङ्मो गाउँपालिकाको गत्लाङमा चिज उत्पादन हुँदै आएको छ ।

वार्षिक ३६ हजार केजी चिज उत्पादन गर्ने क्षमता रहेको भएपनि पर्याप्त मात्रामा दुध संकलन हुन नसक्दा ३४ हजारको हाराहारीमा चीज उत्पादन हुने गरेको केन्द्रहरुले जनाएका छन् ।

गत्लाङ, धुन्चे र चन्दनबारीको केन्द्रमा वार्षिक १० हजार किलो र लाङटाङमा ६ हजार किलो चिज उत्पादन गर्ने क्षमता रहेको छ । जिल्लामा बैशाखदेखि असोज मसान्तसम्म चिज उत्पादन हुने गरेको छ ।

प्रतिक्रिया