त्रिशूलीमा डुबुल्की मारेर दशैं खर्च जुटाउनेहरु

विदुर खबर २०७८ असोज २८ गते २२:१२

नुवाकोट । दशैंको पाँचौं दिन अर्थात् पञ्चमी तिथिका दिन पृथ्वी राजमार्ग हुँदै दशैं मान्न घर जानेहरुले खचाखच बसको लर्काे थियो ।

Advertisement

राजमार्गको किनारामा उभिएर ३६ वर्षीय रामशरण सुवेदी यही दशैं बोकेर कुदिरहेको गाडीको गति नियाल्छन्, मनमा कुन्नी के सोच्छन् र त्यो उत्कण्ठदायक दृश्यलाई त्यसै छाडेर आफ्नै कामतिर लाग्छन् ।

उनको काम हो बिहान खाजा खाएर त्रिशूली नदीमा झर्ने । दिनभरि बालुवा निकालेर किनारामा थुपार्ने र दिनभरको पैसा लिएर साँझ घर फर्किने । ‘अरुको पो दशैं मनाउन तलब र पेस्की आउँछ, हाम्रो लागि त त्रिशूलीमा नडुबी दशैं आउँदैन,’ यति भन्दै उनी त्रिशूली किनारातिर झरे ।

Advertisement

उनको घर पृथ्वी राजमार्गबाट १५ मिनेट जतिको पैदल यात्रामा पुगिन्छ । घरमा श्रीमती र दुई छोराछोरी छन् । ‘खेती गर्न जमिन छैन, अरुको कमाउँ भन्यो अधियाँ दिन पनि मान्दैनन् । त्योभन्दा जोखिम भए पनि सिधै पैसा आउने काम गर्ने भनेर बालुवा उठाउन आउने गर्छु,’ उनी भन्छन्, ‘असारदेखि कात्तिकको मध्यसम्म यहाँ काम चल्छ । अरु बेला पाए कुल्ली काम, नपाए आराम !’

वर्षामा त अलिकति दौडधुप गर्यो भने दिनको दुई टिपसम्म पनि बालुवा निकाल्न भ्याउने सुनाउँछन् । तर अहिले त एकटिप जम्मा पार्दै दिन बित्छ ।

Advertisement

रामशरण खेती लगाउने र भित्र्याउने सिजनमा अरुको मेलामा गएर पनि खर्च जुटाउँछन् । अरु समयमा पनि कतै त्यस्तै काम छ भने जाने हो, होइन भने फुर्सदिलो भएर बस्नुपर्ने गुनासो गर्छन् । उनी भन्छन्, ‘त्रिशूलीबाट बालुवा निकाल्यो भनेर काठमाडौंमा बसेर धेरैले रिस पनि गर्छन्, तर यो ननिकाल्ने हो भने दर्जनौं परिवारको चुल्हो निभ्छ ।’

उनी पुग्ने बेलासम्म उनका साथीहरुले २ ट्रिपर बालुवा किनारामा थुपारिसकेका थिए । एउटा ट्रिपर भरिनेगरी बालुवा निकालेको ५ हजार रुपैयाँ पाइन्छ । एउटा समूहमा ५ देखि १५ जनासम्म हुन्छन् । आएको पैसा दामासाही वितरण गरिन्छ । रामशरण भन्छन्, ‘हुन त दैनिक एक हजार जति कमाइ हुन्छ, तर भारी बोक्नुपर्ने भएकाले त्यही अनुसार खानामा खर्च गर्नुपर्छ । बच्ने भनेको त त्यही ५÷६ सय नै हो ।’

डिलमा बसेर एकछिन गुनासो सुनाएपछि उनी त्रिशूली किनारतिर झर्छन् । किनारमा पुगेर त्रिशूली नदीलाई ढोग्छन्, अनि छिर्छन् पानीको बेगभित्र । सबैतिर दशैं आएको छ, उनलाई पनि दशैंले नछोएको होइन । तर एकदिन खटिन पाए पनि अलिकति खर्च आउँथ्यो भन्ने आसले उनी खोला झरेका हुन् ।कम्मरमाथिको टिसर्ट किनारामा राखेर उनले एकपटक त्रिशूली नदीलाई ढोगेर के मागे कुन्नी । सायद आफ्नो सुरक्षाको याचना गरे होलान् ।

अविरल बगिरहेको त्रिशूलीको चिसो पानी । त्यहीमाथि झण्डै डेढदेखि २ घण्टासम्म पानीभित्र बसेर निस्किएका रामशरणमा एक्कासी काम छुट्छ । उनी ठण्डी मौसममा चिसो पानीले नुहाउँदा जस्तै दाँत बजाउँदै कुरा गर्छन् । ‘यही दशैंको लागि पनि त्रिशूलीमा डुबुल्की नमारेसम्म चुलोमा आगो बल्दैन । अब फूलपातीको अघिल्लो दिनदेखि त दशैं मान्नुपर्छ,’ उनी भन्छन् ‘अब कात्तिक लागेपछि त्रिशूलीमा छिर्न सकिँदैन । त्यसैले अब त झण्डै ८ महिना बेरोजगार हो । बर्खा नै भए पनि यही दशैं तिहार र हातमुख जोड्नका लागि यही काम गर्ने गर्छाैं ।’

प्रतिक्रिया