मंसिरबाट दाल भात तरकारी,७६ को वैशाख १३ गते अल नेपाल रिलिज हुने घोषणा

विदुर खबर २०७५ साउन ३१ गते ७:३८

Advertisement

गत वर्ष शत्रु गते नामक सुपर डुपर हिट भएपछि मह सञ्चारले निर्माण गर्न लागेको अर्को कमेडी फिल्म दाल भात तरकारीको कलाकारसहित औपचारिक घोषणा गरिएको छ।

मह सञ्चारको ब्यानरमा किरण केसी प्रस्तुतकर्ता रहने फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, किरण केसी, शिवहरि पौडेल, राजाराम पौडेल, निरुता सिंह, प्रियंका कार्की, पुष्पल खड्का, स्वस्तिमा खड्का, वर्षा राउत, वसुन्धारा भुसाल, शिशिर बाङ्देल, विल्सनविक्रम राई, यमन श्रेष्ठलगायतका कलाकारले अभिनय गर्ने जानकारी बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा गराइएको छ।

Advertisement

मंसिर पहिलो साताबाट छायांकन गरिने फिल्म आगामी २०७६ को वैशाख १३ गते अल नेपाल रिलिज हुने घोषणासमेत गरिएको छ। फिल्मले हरेक मानिसले दाल भात तरकारी खानका लागि गर्ने संघर्षको कथा बोल्ने निर्देशक सुदन केसीले जानकारी गराए। सुदन फिल्मका प्रस्तुतकर्ता तथा कलाकार किरण केसीका पुत्र हुन्। सुदनले यसअघि २ हलिउड फिल्म रिमेम्बर मि र माई लभमा सह–निर्देशकका रूपमा काम गरेका थिए। उनी शत्रु गतेमा पनि सहायक निर्देशक थिए।

दाल भात तरकारीको कथा, पटकथा र संवाद हरिवंश आचार्यले लेखेका छन्। शम्भुजित बास्कोटाको संगीत रहने फिल्मका लागि गीतसमेत हरिवंश आफैंले लेखेका छन्। फिल्ममा पुष्पल, स्वस्तिमा तथा हरिवंश र निरुताको जोडीको रूपमा देखिनेछन्। यसअघि शत्रु गतेमा दीपाश्री निरौला हरिवंशको जोडी थिइन् भने प्रियंका कार्की दीपकराज गिरीको जोडी रहेका थिए। यसमा भने दीपक र दीपाको नाम आएको छैन। प्रमिला आचार्य, यमन श्रेष्ठ, नरेन्द्र कंसाकार, शिवहरि पौडेल, राजाराम पौडेल, दीर्घ गुरुङ, अनुराग कुँवर, विल्सनविक्रम राई, दीपेन्द्र खनियाँ र सुमित मैनाली निर्माता रहेको फिल्ममा कविराज गहतराजको कोरियोग्राफी, दीर्घ गुरुङको छायांकन र मित्र डी गुरुङको सम्पादन रहनेछ।

Advertisement

‘यसमा हामीले आम मानिसकै कथा पेस गर्दैछौं। यसमा पनि केही भिन्न भूमिकामा मलाई दर्शकले देख्न पाउनुहुनेछ’ –कार्यक्रममा मदनकृष्णले भने। त्यसैगरी हरिवंश आचार्यले पछिल्लो फिल्म शत्रु गतेमा काम गरेपछि दाल भात तरकारी बनाउन लागेको बताए। निर्देशक सुदन केसीले दाल भात तरकारीमार्फत मह सञ्चारको शाख अभैm बढाउने प्रयास गर्ने बताए।

प्रतिक्रिया