नेपाल पनि निपा भाइरस संक्रमणको जोखिममा

विदुर खबर २०७८ भदौ २५ गते २२:१५

नुवाकोट । निपा भाइरसको संक्रमण फैलन नदिन नेपालमा पूर्वतयारी थालिएको छ ।

Advertisement

यो रोगको जोखिम नेपालमा पनि रहेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पूर्वतयारी स्वरुप देशभरका अस्पतालहरुलाई ‘अलर्ट’ हुन बिहीबार निर्देशन दियो ।

रोगको यकिन निदान नहुँदै वा तीव्र रुपमा बिरामीको स्वास्थ्य अवस्था बिग्रँदै गएमा वा मृत्यु भएमा त्यस्ता बिरामीहरुको विस्तृत विवरण लिई प्रयोगशालाको समन्वयमा नमुना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा यथाशीघ्र पठाउने व्यवस्था मिलाउन अर्ली वार्निङ एण्ड रिपोर्टिङ सिस्टम (इवार्स) सेन्टिनेल साइट/अस्पतालहरुलाई मन्त्रालयले निर्देशन दिएको हो ।

Advertisement

भारतको केरलामा भेटिएको निपा भाइरसको संक्रमणको अवस्थाबारे छलफल गर्दै मन्त्रालयले त्यस्ता केसहरु देखा परेमा विस्तृत विवरणसहित परीक्षणका लागि संकलित नमुना टेकुमा पठाउन अस्पतालहरुलाई निर्देशन दिएको थियो ।

केरलामा यो भाइरसबाट गत आइतबार १२ वर्षीय एक बालकको मृत्यु भएको थियो । केरलाको स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु भएका बालकको क्लोज कन्ट्याक्टमा रहेका १८ र संक्रमण सरेको हुन सक्ने सम्भावना भएका १५० भन्दा धेरैलाई क्वारेन्टिन राखेर नमुना परीक्षण गरियो । तर सबैको निपा परीक्षण नेगेटिभ आएको बताइएको छ ।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले शंकास्पद बिरामीहरुको नमुना परीक्षणका लागि प्रयोगशालासम्म ल्याउने मेकानिज पनि मन्त्रालयसँग रहेको बताए ।

डा. पौडेलका अनुसार देशभरका जिल्ला, प्रदेश, एवं केन्द्रीय गरी ११८ वटा अर्ली वार्निङ एण्ड रिपोर्टिङ सिस्टम (इवार्स) सेन्टिनेल साइट/अस्पतालहरु छन् ।

प्रतिक्रिया