गोसाइकुण्ड मेलामा १५ हजार आन्तरिक पर्यटक भित्राउने लक्ष्य, सबै तयारी पुरा

विदुर खबर २०७५ साउन २८ गते १४:४४

Advertisement

ज्ञानेन्द्र न्यौपाने रसुवा, यस वर्षको गोसाइँकुण्ड मेलामा १५ हजारभन्दा बढी भक्तजन आगमन हुने लक्ष्य राखिएको छ ।
मेला जनैपूर्णिमाका अवसरमा आगामी भदौ १० गते लाग्ने छ । नुवाकोटको बाटोमा सुधार आइसकेको र रसुवाको सडकमा आउनसक्ने पहिराको अवरोध हटाउन तीन स्काभेटरसहितको उपकरण तयारी अवस्थामा राखिएको छ । कतै पहिरो आइहाले एकाध घण्टामै व्यवस्थापन हुने रसुवाको सडक हेर्ने डिभिजन सडक कार्यालय नुवाकोटले जनाएको छ ।

यसैबीच गोसाइँकुण्ड मेलामा आउने तीर्थयात्रुका लागि प्राथमिक उपचार स्थान तय भएको छ । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डीएमका अनुसार धुञ्चेदेखि माथि पाँच स्थानमा स्वास्थ्य शिविर राखिनेछ । गोसाइँकुण्डमा हिमालय उद्धार सङ्घ, बुद्ध मन्दिरमा सक्षम नेपाल गैसस, लौरी विनायकमा पाटन स्थास्थ्य विज्ञान प्रतिष्ठान, चोलाङ्पाटी र चन्दनबारीमा नेपाली सेना कालीजङ्ग गणलाई प्राथमिक उपचारको जिम्मा दिने तय भएको छ ।

Advertisement

जिल्ला स्वास्थ्य कार्यालय रसुवाले भने यात्रु उकालो लाग्ने प्रवेशद्वार मिनी गोसाइँकुण्डमा स्वास्थ्य परामर्श दिने कार्यक्रम तय भएको बताएको छ । स्वास्थ्य शिविर सञ्चालन गर्ने सबै निकायले जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा काम गर्नुपर्ने व्यवस्था गरिएको निमित्त जिल्ला स्वास्थ्य प्रमुख शिवप्रसाद बडालले जानकारी दिनुभयो । तीर्थमा आउने यात्रुलाई यथेष्ट सुरक्षा व्यवस्था मिलाइसकिएको प्रजिअ कृष्ण पौडेलले बताउनुभयो ।

समुद्र मन्थन गर्दा निस्केको कालकूट विष पिई प्राणीजगत्लाई बचाएर नीलाद्री पर्वतमा विराजमान शंकर गोसाईँको दर्शन जीवनमा एक पटक भए पनि दर्शन गर्ने धार्मिक मान्यता रहिआएको पण्डितले बताएका छन् ।

Advertisement

गोसाइँकुण्ड समुद्री सतहबाट १४ हजार एक सय फिटको उचाइमा पर्छ । विस्तारै विस्तारै हिडी ग्लुकोज पानी प्रशस्त पिउन, खाली पेट नराख्न, थोर थोरै खान, टाउको दुखेमा भिक्स लगाउन र अदुवा, लसुन र कागती चपाउँदै जान समितिका पूर्वउपाध्यक्ष बाबुराम श्रेष्ठले यात्रुलाई सुझाव दिनुभयो । यात्राका क्रममा भेटिएका रङ्गीबिरङ्गीका फूल नचलाउन पनि सुझाव दिइएको छ ।

गोसाइँकुण्ड हिन्दू र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मानिन्छ । चन्दनबारीबाट उकालो लागेपछि हिन्दू यात्रुले जय शम्भो र बौद्ध धर्म मान्नेले ॐ गोसार्इँकुण्ड ली ल्हा झ्याली निमा भन्दै हिँड्छन् । त्यस्तै लामा झाँक्री आआफ्ना बाजा र झ्याम्टा बजाई नाच्दै कुण्ड पुग्ने चलन रहिआएको स्थानीय बासिन्दा किप्पा छिरिङ तामाङले जानकारी दिनुभयो । कुण्डमा पुगी डुबुल्की मारेपछि सबै थकाई समाप्त भई नयाँ अनुभूति प्राप्त हुने तीर्थबाट फर्केका यात्रु बताउँछन् । कुनैकुनै यात्रुले एक हप्तासम्म लौरीविनायकमा बास लिने गर्छन् ।

हरेक वर्ष गङ्गादशहरामा १० दिन र जनैपूर्णिमाका समयमा पाँच दिन विशेष मेला लागे पनि विसं २०७२ को भूकम्पपछि दैनिक रुपमा सरदर ३० देखि ४० यात्रु गोसाइँकुण्ड जाने गरेको चन्दनबारीका होटल व्यवसायी पासाङघ्युर्मी तामाङले जानकारी दिनुभयो ।

हिमालयपुत्री पार्वती विराजमान गतलाङको पार्वतीकुण्डमा पनि जनैपूर्णिमाका दिन ठूलो मेला लाग्ने गरेको गतलाङका कामीगारा तामाङले बताउनुभयो । गोसाइँँकुण्डपछि पार्वतीकुण्ड पुग्ने र दुवै कुण्डको जल धैबुङस्थित कालिका मातालाई चढाई घर पुग्ने यात्रुलाई जिन्दगीको उत्तराद्र्धमा सुखका साथ अगाडि बढ्न सहज हुने पुरोहित टङ्कप्रसाद ढकालले बताउनुभयो ।

प्रतिक्रिया