नुवाकोटमा बुद्धभुमि हाइड्रोपावरको सेयर भर्न बैंकहरुमा सर्वसाधारणको भिड

विदुर खबर २०७८ भदौ १३ गते १५:१०
ज्योति विकास बैक बट्टार शाखामा सेयर भर्न लागेको भिड ।

नुवाकोट । बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित नुवाकोटका स्थानियलाई सेयर निस्कासन गरेपछि सेयर भर्न विभिन्न बैंक तथा वित्तिय संस्थामा सर्वसाधारणको भिड लाग्ने थालेको छ ।

Advertisement

हाइड्रोपावरले साउन ३२ गतेदेखि आयोजना प्रभावित जिल्लावासीहरुलाई सेयर निस्कासन गरेसँगै जिल्लाका विभिन्न बैंक तथा वित्तिय संस्थामा सेयर भर्न आउनेको भिड बढेको हो ।

हाइड्रोपावरले नुवाकोटको ज्योति, प्रभु, सिदार्थ, सेन्चुरी, सानिमा, मुक्तिनाथ तथा एनबी बंैकमार्फत सेयर भर्न सकिने बताएपछि बट्टार र आसपासमा रहेका बैंक तथा वित्तिय संस्थामा सेयर भर्न आउनेहरुको संख्यामा दैनिक रुपमा वृद्धि भएको बैंक तथा वित्तिय संस्थाका प्रतिनिधिहरुले बताएका छन् ।

Advertisement

सेयर भर्नकै लागि हरेक बैंकमा दैनिक एकसयभन्दा मानिसहरु बंैक खाता र डिम्याट खाता खोल्नकै लागि आउने गरेका छन् । अरु समय सुनसान रहने बैंकहरुमा समेत अहिले बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले जारी गरेको सेयर सेयर भर्नकै निम्ती भिड लाग्ने गरेको छ ।
बैंकमा दैनिक एकसयभन्दा बढी व्यक्तिहरु सेयर भर्न डिम्याट र खाता खोल्न आउने गरेको ज्योति विकास बैंक बट्टार शाखाका कर्मचारीहरु बताउँछन् । यस्तै भिड सिदार्थ बैंक , नेपाल वंगलादेश बैंक, सानिमा बैंक र प्रमुख बैंकमा शाखाहरुमा हुने गरेको बैकहरुले बताएका छन् ।

पछिल्लो समय विभिन्न कम्पनिले जारी गरेको आइपियोमा छिट्टै पूजीगत लाभ हासिल भएपछि सर्वसाधारण साधारण सेयरतर्फ आकर्षित भएका हुन् । यसकै उदाहरणका बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडललाई लिन सकिन्छ । आइपियोमा परेको सेयर दोस्रो बजारमा कारोवार हुनेवित्तकै फाईदा हुने भएको सेयर भर्न आएको विदुर नगरपालिका वडा नम्बर १० का श्याम पाण्डेले बताए । उनले आफुसँगै घरका अन्य ५ जनाको डिम्याट खाता खोलिसकेका छन् ।

Advertisement

यस्तै सेयर बेचेर तत्काल फाईदा हुने र सामान्य घरखर्च समेत टार्न सकिने भएकोले आफु सेयर बजारप्रति आर्कषित भएको ज्योति विकास बैंकमा सेयर भर्न आएकी माया मगरले बताइन् । नुवाकोटका स्थानियलाई आयोजनाले पसाउन ३२ गतेदेखि निस्कासन गरेको सेयरमा अहिलेसम्म २१ हजारभन्दा बढीले सेयर माग गर्दे आवेदन दिएका छन् ।

बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार शनिवारसम्म कम्पनीको आइपीओमा २१ हजार ६ सय ४६ जना आवेदकबाट १५ लाख ४८ हजार ७५ कित्ता शेयर खरिदको लागि आवेदन दिएका छन् । नुवाकोटमा हालसम्म ५९ हजार ६ सय १० जनाले डिम्याट खाता खोलिसकेका छन् । पछिल्लो २४ घण्टामा मात्र जिल्लामा २५ हजारभन्दा बढीले डिम्याट खाता खोलिसकेका छन् ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा संस्थापक शेयरधनीहरुका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका १२ लाख कित्ता साधारण शेयरमध्ये ४ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्र नुवाकोट जिल्लाका बासिन्दाहरुका लागि निष्काशन गरेको हो ।

निष्काशन बन्द छिटोमा भदौ १५ गते हुनेछ भने ढिलोमा भदौ २९ गते हुनेछ। आईपीओमा ज्योति विकास बैंक, प्रभु बैंक, सिदार्थ बैंक र सिभिल बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल रहेको छ।
लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ ।
यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

आयोजनाको ९८ प्रतिशत काम पुरा

निर्माणाधीन ५ मेगावाटको जलविद्युत आयोजनाको काम ९८ प्रतिशत पूरा भएको छ ।

आयोजनाको सिभिल संरचनाको काम सम्पन्न भएको कम्पनीका सचिव शुक्रराज ढंगोलले बताए । उनका अनुसार बाँध, पेनस्टक पाईपालाइन र विद्युतगृहको सिभिल संरचनाको काम सम्पन्न भएको छ ।

‘आयोजनाको हाइड्रोमेकानिकल उपकरण जडानको काम सकिएको छ,’ उनले भने, ‘इलेक्ट्रोमेकानिकल उपकरण जडानको काम पनि अन्तिम चरणमा पुगगेको छ, बाँकी भदौभित्र पूरा गरिनेछ ।’ आयोजनाको बाँकी २ प्रतिशत काम पूरा गरेर आगामी असोजभित्र विद्युत उत्पादन सुरु गर्ने लक्ष्य रहेको ढंगोलले बताए ।

आयोजनाबाट उत्पादन भएको विद्युत ३ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत प्राधिकरणको त्रिशुली ३ ‘बी’ हब सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक प्रसारण लाइन कम्पनी आफैले निर्माण गर्नेछ ।

प्रसारण लाइनको काम पनि अन्तिम चरणमा पुगेको छ । लाइनको टावर ठड्याउने काम सकिएको छ । तार तान्ने काम आधाभन्दा बढी पूरा भएको छ । आयोजना सम्पन्न गर्न १ अर्ब १९ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा सिद्धार्थ बैंकको अगुवाईमा माछापुच्छ्रे, बैंक अफ काठमाडौं, एनसीसी बैंकले ७० प्रतिशत ऋण लगानी गरेका छन् । बाँकी ३० प्रतिशत स्वपुँजी लगानी छ ।

तादी बेसिनमा योे आयोजनासँगै थप २५ मेगावाटका ४ जलविद्युत आयोजना निर्माणको विभिन्न चरणमा छन् । निजी क्षेत्रले अनुमतिपत्र लिएर स्वदेशी लगानीमा ३ देखि ११ मेगावाट क्षमताका जलविद्युत आयोजना निर्माण अघि बढेका छन् ।

                                                      ज्योति विकास बैक बट्टार शाखामा सेयर भर्न लागेको भिड ।

 

 

 

 

प्रतिक्रिया