बेलकोटगढी नगरपालिकाको चिम्टेश्वर महादेव मन्दिर डाँडामा भ्यू टावर निर्माण हुने

विदुर खबर २०७५ साउन २७ गते १२:२४

Advertisement

नुवाकोट/ नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिकामा अवस्थित ऐतिहासिकस्थल चिम्टेश्वर महादेव मन्दिरको डाँडामा भ्यू टावर निर्माण हुने भएको छ । स्थानीयको दशकौँदेखिको मागका वाबजुद अहिले बनेको वमापन्थी नेतृत्वको प्रदेश तीनको सरकारले चिम्टेश्वरमा ‘भ्यू टावर’ निर्माणका निम्ति बजेट विनियोजन गरेको हो । बजेट बिनयोजनसँगै चिम्टेश्वरको विकासमा ठूलो परिवर्तन अाउने विश्वास स्थानीयले लिएका छन ।

Advertisement

प्रदेश सरकारले भ्यू टावर निर्माण र पिकनिक पार्कका लागिमात्र १ करोड ३२ लाख बजेट बिनियोजन गरेको सोही प्रदेशका सांसद एवम् नेकपाका नेता केशव पाण्डे बताउँछन । सांसद पाण्डेका अनुसार उक्त बजेट पर्याप्त नभए पनि काम अघि बढाउँदै लगिने छ । त्यस्तै नगरपालिकाले चिम्टेश्वरसम्म पुग्नका लागि सिँढी निर्माण गर्न भनेर २५ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ ।

राजनीति गर्नेहरुकै कारण पछि पारिदै आएको ऐतिहासिकस्थल प्रचारको अभावमा ओझेलमा परेको थियो । विक्रम संवत २०७० सालमा पदयात्राका क्रममा हालका प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल लगायतले यो ऐतिहासिकस्थलमा एक रात विताएका थिए । नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको पहलमा भएको उक्त पदयात्रामा सयौँ मानिस सहभागी भएका थिए ।

Advertisement

नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनका तत्कालीन अध्यक्ष एवम् वरिष्ठ पर्यटन व्यवसायी चन्द्र रिजाल चिम्टेश्वर पर्यटकीय सम्भावना बोकेर बसेपनि स्थानीय तदारुकता कम हुँदा सबैको आँखामा पर्न नसकेको बताउँछन । उनी भन्छन, यस्ता महत्वपूर्ण गन्तव्यको प्रचार र प्रवर्द्धनका निम्ति स्थानीयले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ ।’पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने क्रममा बेल्कोट र नुवाकोट आक्रमण गर्नका लागि बेलकोट, जिलिङ, कुमारी र दुईपिपल गाउँ विकास समितिको सँगमस्थल चिम्टेश्वर महादेवस्थानसँगै गढी निर्माण गरेका थिए । त्यस गढीलाई एकीकरण अभियानमा निर्मित पहिलो गढीका रूपमा इतिहासमा उल्लेख गरिएको पाइन्छ ।

अग्लो डाँडामा सैनिकहरू लुक्न बनाईएको सुरुङका अवशेषहरूले अझैपनि एकीकरण अभियानको स्मरण गराउँछ । पृथ्वीनारायण शाहले गढी निर्माण पछि चिम्टेश्वर महादेवको आराधना गरेपछि नुवाकोट विजय गरेको जनश्रुति समेत पाईन्छ । बेल्कोटगढीबाट लाङटाङ, गणेश, जुगल र मानापाथी हिमाल तथा तिब्बतको केरुङ, काठमाडौं, मकवानपुर जिल्ला, गोरखा सम्मको दृश्यावलोकन गर्न सकिन्छ ।

तत्कालीन वागमती अञ्चलका सबै जिल्ला जनकपुर अञ्चलका दोलखा र रामेछाप, नारायणी अञ्चलका मकवानपुर र चितवन तथा गण्डकी अञ्चलका गोरखा तथा लमजुङ र तनहुका हिमालहरुको एकै स्थानबाट दृश्यावलोकन गर्न सकिने स्थानीय समाजसेवी नारायण खनाल बताउँछन । अत्यन्तै सम्भावना युक्त ठाउँ भएर पनि विकास र प्रचारका निम्ति आर्थिक अभावले गर्दा काम हुन नसकेको उनको भनाइ छ ।

प्रतिक्रिया