मिडियाप्रति आक्रोशित हुँदै प्रधानमन्त्रीले भने– माइतीघर देखाएर सरकारलाई नागरिक स्वतन्त्रताविरोधी करार गर्न खोजियो

विदुर खबर २०७५ साउन २७ गते १०:१६

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रकै लागि आफ्नो पार्टी स्थापना भएको र त्यसका लागि आफू १४ वर्ष जेल बसेको बताएका छन्। पार्टीका कैयौं  नेता, कार्यकर्ता सहिद भएकाले वर्तमान सरकार र नेकपा लोकतन्त्रलाई कहिले पनि खतरा नहुने उनको भनाइ छ।

नेपाल मिडिया सोसाइटीको नवनिर्वाचित कार्य समितिलाई आज प्रधानमनत्री निवास बालुवाटारमा बधाई दिँदै उनले माइतीघर मण्डलाको विषयलाई लिएर केही मिडियाले सरकारलाई नागरिक स्वतन्त्रता विरोधी करार गर्न खोजेको भनाइ राखे। ‘माइतीघर मण्डला आमसभा र जुलुस गर्न उपयुक्त ठाउँ हो त?’ प्रधानमन्त्री ओलीको प्रश्न गरे, ‘अनि यसलाई देखाएर सरकारलाई नागरिक स्वतन्त्रता विरोधी करार गर्न खोज्ने?’

नेकपा लोकतन्त्रको जन्मदाता भएको भन्दै उनले यही पार्टीको सरकार भएका बेला लोकतन्त्र, प्रेस स्वतन्त्रता, मानवअधिकार हनन हुने कुरा कल्पनासम्म गर्न नहुने उनले बताए।

केही सञ्चारमाध्यमले आफ्नो दायित्व भुलेर जथाभावी गरिरहेकोमा प्रधानमन्त्री ओलीले असन्तुष्टिसमेत व्यक्त गरे। ‘अहिले लेखिएका कुरा २० वर्षपछि हेर्दा पनि सत्य र सान्दर्भिक हुनुपर्छ,’ उनले भने।

१० वर्षमा नेपालको कायाकल्प गर्न सकिने भन्दै उनले कृषिमा आश्रित जनसंख्यालाई दुई वर्षमा २० प्रतिशतमा झार्ने लक्ष्य राखिएको बताए।

Advertisement

प्रतिक्रिया