यही घरमा भेटिएको थियो पृथ्वीनारायण शाहको हस्तलिखित दिव्योपदेश
नुवाकोट । वि.सं. १८२५ असोज १३ गते गोरखाली सेनाको फौजले काठमाडौंमाथि कब्जा जमायो । इन्द्रजात्राको दिन सबै काठमाडौंवासी जात्रामा व्यस्त भएको दिन आक्रमण गरेर राज्य त कब्जामा लिए तर यहाँको संस्कृतिमाथि भने हस्तक्षेप गरेनन् ।
राज्य कब्जा गरेलगत्तै पृथ्वीनारायण शाहले पहिले कुमारीको अघि शिर निहुराए । यहाँको संस्कृतिलाई स्वीकार गरेपछि स्थानीयले पनि उनलाई सहजै राजा मानेका थिए भन्ने ऐतिहासिक दस्तावेजमा भेटिन्छ ।
काठमाडौं एकीकरणपछि गोरखाली सेना र मुख्य सहयोगीहरुले काठमाडौंमै बस्ने इच्छा व्यक्त गरे । सेना र राजाको मुख्य सहयोगीहरुले बसोबासको लागि काठमाडौंका विभिन्न ठाउँ रोजे । त्यसमध्ये सैन्य कमाण्डर समेत रहेका अभिमानसिंह बस्नेतले रोजेको क्षेत्र हो, हालको केलटोल ।
मच्छिन्द्र बहालबाट असनतर्फ करीब १०० मिटर अघि बढेपछि बायाँतर्फ एउटा पुरानो घर भेटिन्छ । तल्लो तलामा तिलिंगा आयुर्वेदालय छ । साथमा केही अन्य पसलहरु । पहिलो तल्लामा टुटफुट भइसकेका सिसाको झ्याल छ । त्यसभन्दा मुनि साना साना सिपाहीहरुको प्रतिमा । त्यसमाथि बरण्डा छ । त्यसमाथि झिंगटीको छानो । यही घरलाई कसैले तिलिंगा घर भनेर चिन्छन् त कसैले पल्टन घर । तर यसको पुरानो नाम भने मानमन्दिर हो । जुन सैन्य कमाण्डर अभिमानसिंह बस्नेतले आफू र आफ्ना सेनाहरुलाई बस्नको लागि बनाएका थिए । भनिन्छ, यही घरमा पृथ्वीनारायण शाहको हस्तलिखित दिव्योपदेश भेटिएको थियो ।
एकीकरणताका सैन्य बलको नेतृत्व गरेर सेना प्रमुख र राजा समेत युद्ध लड्न जान्थे । जुनसुकै बेला पनि आफूविरुद्ध आक्रमण हुनसक्ने भएकाले सेनालाई एकीकृत रुपमा राख्नुपर्थ्यो । तर त्यतिबेला ब्यारेकको संरचना नभएकाले बस्नेतले पनि आफ्नै घरमा ७३ जवान पाल्ने गरेको बताउँछन् नेपालका लागि मलेसियाका पूर्व राजदूत डा. निरन्जनमान सिंह बस्नेत । डा. बस्नेत अभिमानसिंहका छैटाैं पुस्ताका सन्तति हुन् । अहिले पल्टनघरको बाहिर देखिने प्रतिमा बस्नेतले पालेका सिपाहीहरुको हुनसक्ने उनको बुझाइ छ ।
उनका अनुसार त्यो घर आजभन्दा २४५ वर्ष पहिले बनाइएको हो । ‘तत्कालीन सैनिक कमाण्डर अभिमान सिंह बस्नेतले आफू एवं आफ्ना सैनिक अधिकारीहरुलाई बस्नको लागि यो घर बनाएका थिए’ बस्नेत भन्छन्, ‘वि.सं. १८३३ मा बनेको यो भवनलाई समयसमयमा फरक-फरक प्रयोजनको लागि प्रयोग गरियो, धेरै प्राकृतिक विपत्ति आयो तर यो भत्किएन ।’
अभिमानसिंह बस्नेत वि.सं. १८०१ मा जन्मिएका थिए । उनी दुई वर्षको हुँदा उनका पिता शिवरामसिंह बस्नेत युद्धमा मारिए । त्यतिबेला युद्धमा मारिएका सेनाको परिवार तथा बच्चाको हेरचाह दरबारकै तर्फबाट गरिन्थ्यो । जसका कारण अभिमानसिंह बस्नेतले पृथ्वीनारायण शाहको प्रत्यक्ष रेखदेखमा हुर्किने मौका पाएको कुरा डा. बस्नेतले तयार पारेको श्रीपाली बस्नेतहरुको एकीकरणमा योगदान सम्बन्धी पुस्तकमा उल्लेख छ ।
उनको लडाइँ यात्रा वि.सं. १८१२ को सिरानचोकको युद्धबाट भएको थियो । उनी त्यतिबेला मुश्किलले १० वर्ष पूरा भएर ११ वर्ष लागेका थिए । पछि मकवानपुरको वि.सं. १८१९ को लडाइँ, सिन्धुलीमा अंग्रेजसँगको लडाइँ र कीर्तिपुरको पहिलो लडाइँमा गोरखाको तर्फबाट लडेका थिए । सिन्धुलीमा किनलकले आक्रमण गर्दाको समयमा उनी हरिहरगढीमा खटिएका थिए । पछि काठमाडौं जितेपछि १८३३ सालमा पल्टन घर निर्माण गरेका हुन् ।
हाल पल्टन घर भनेर चिनिने मानमन्दिर अभिमानसिंह बस्नेतको समयमा पाहुनासँग भेटघाट गर्ने प्रयोजनको लागि बनाइएको थियो भन्ने दाबी गर्छन् डा. बस्नेत । पहिलो तलामा ठूलो इरानियन कार्पेट, बाहिर बेल्जियमबाट ल्याइएको सिसाको झ्याल । अन्य थरीथरीका सजावट सामग्री आदिले सजिएको बैठक कक्ष देशी तथा विदेशी पाहुनासँगको भेटका लागि प्रयोग गरिन्थ्यो । डा. बस्नेत दरबारबाहेक जनताको घरमा सिसाको ऐना राखेको यो पहिलो घर रहेको दाबी गर्छन् ।
एउटा घरमा छिरेपछि बरण्डा हुँदै त्यो क्षेत्रमा रहेको सबै घरमा जान मिल्नेगरी घरहरु जोडिएका थिए । सो क्षेत्रकै विशाल महलले करीब २४५ वर्षको कालखण्डमा धेरै विपत्तिको सामना गर्यो । ठूलाठूला भूकम्प र आगलागीबाट समकालीन घरहरुमा क्षति पुगे । कतिपयले आधुनिक शैलीमा पुनर्निर्माण गरेसँगै यसको अस्तित्व सकियो । अहिले अभिमानसिंह बस्नेतको निशानीको रुपमा एउटा जीर्णसहित दुई घर अस्तित्वमा छन् ।
पल्टन घरको पहिलो तलामा अहिले पनि सञ्चालित छ झण्डै उस्तै पुरानो इतिहास बोकेको तिलिंगा आयुर्वेदालय । औषधालयका सञ्चालक वासुकृष्ण वैद्य सो औषधालय आफ्ना पुर्खाले १८३२ सालबाट सञ्चालनमा ल्याएको दाबी गर्छन् । अहिले यो आयुर्वेदालयको कोठा समेत खुम्चिंदै गएको छ ।
अभिमानसिंह बस्नेतले बनाएको घरमा ७ वटा चोकहरु थिए । सबै घरहरु बराबर दूरीमा तीन तलाको बनाइएको थियो । झिंगटीको छानो थियो भने सातवटै चोकलाई घेर्नको लागि एक दर्जनभन्दा बढी घरहरु बनेका थिए । अभिमानसिंह बस्नेत कुन घरमा बस्थे भन्ने यकिन छैन । आसपासमा ठूला-ठूला दर्जन बढी घरहरु आधुनिक शैलीमा पुनर्निर्माण भइसकेका छन् भने उतिबेलाको सात चोक अहिले तीन वटा चोकमा सीमित भएको छ ।
अभिमानसिंहको पालापछि पल्टनघरको उपयोग
देशका विभिन्न ठाउँमा युद्ध र आक्रमणमा सक्रिय रहेका अभिमानसिंह बस्नेतको साढे ५५ वर्षको उमेरमा १८५७ सालमा निधन भयो । उनको निधनसँगै त्यो घर पहिलेको जस्तो सैन्य अड्डाको रुपमा प्रयोग हुन छाड्यो ।
तत्कालीन राजा रणबहादुर शाहको पालासम्म आइपुग्दा यो घर पहलमान लडाउने घरको रुपमा विकास भएको ऐतिहासिक दस्तावेजमा उल्लेख छ । असन बालकुमारीतर्फको पहिलो तल्लामा हुने पहलमान लडाइँको लागि राजा रणबहादुर शाह स्वयं त्यहाँ आउने गर्थे ।
त्यो घरमा रहेका सात चोकहरु बस्नेत परिवारले बिक्री गरेसँगै अस्तित्वविहीन बन्दै गए । कतिपय अतिक्रमणको चपेटामा परे । अहिले त्यो दरबार परिसरमा केवल तीन वटा चोक र तीन वटा मात्रै पुराना घरहरु बाँकी छन् । जसमा एउटा पल्टन घर, नारायण चोकको सम्मुखमा रहेको एउटा जीर्ण बनेको घर र गणेश चोकमा अर्काे एउटा घर छ ।
पुरानो दस्तावेज अनुसार श्री ३ चन्द्रशमशेरको पालामा त्यो घर अभिमानसिंह बस्नेतका पाँच जना सन्ततिको नाममा त्यो घर थियो । असनमा चन्द्रशमशेरलाई भेट्दा घोडाबाट नओर्लिकन सलाम गरेको भनेर उनीहरुलाई चन्द्रशमशेरले सर्वश्वसहित मृत्युदण्डको फैसला सुनाएका थिए । त्यो बेलामा घर राष्ट्रियकरण गरियो । तर अहिले यो घर धोकलसिंह बस्नेतका ८ जना सन्ततिको नाममा छ । सरकारीकरण गरिएको यो सम्पत्ति धोकलसिंह बस्नेतका सन्ततिमा कसरी आयो भन्नेबारेमा भने कुनै दस्तावेज नभेटिएको डा. बस्नेत बताउँछन् । पछि बस्नेतहरुले पल्टनघर परिसरका अधिकांश घरहरु भक्तपुरका जोशी र प्रधानाङ्ग (मल्ल)लाई बिक्री गरेका थिए ।
बस्नेत खलकले बिक्री गरेसँगै धेरैले नयाँ शैलीमा घर बनाए । कतिपय घर भूकम्प र १९७० को दशकमा केलटोलमा भएको आगलागीमा क्षति पुगेपछि नयाँ घर बनाइयो । अभिमानसिंह बस्नेतको इतिहास बोल्ने सग्लो घर त्यही पल्टन घरमात्रै बाँकी रहेको स्थानीय बताउँछन् । त्यही घरमा २००७ सालपछि पृथ्वीनारायण शाहको दिव्योपदेश हस्तलिखित अवस्थामा भेटिएको डा. विपिन अधिकारीले नेपाली सेनाद्वारा प्रकाशित ‘सिपाही’ नामक वार्षिक पत्रिकाको २०७१ को अंकमा लेखेको आलेखमा उल्लेख छ ।

पुरातत्व विभागको चासो
प्राचीन स्मारक संरक्षण ऐनको व्यवस्था अनुसार १०० वर्ष पुराना कुनै पनि भवन वा अन्य स्मारकको पुनर्निर्माण गर्दा पुरातत्व विभागसँग अनुमति लिनुपर्ने व्यवस्था छ । यस्ता घरहरु पुनर्निर्माण गर्दा सकेसम्म पुरानै सामग्री र उस्तै शैलीमा निर्माण गर्नुपर्ने ऐनमा उल्लेख छ । नारायण चोकमा रहेको एक जीर्ण भवन र पल्टन घर पनि उक्त ऐनको व्यवस्थासँग आकर्षित हुने भएपछि यसको पुनर्निर्माणमा पुरातत्व विभागले चासो देखाएको छ ।
यो घर अहिले बस्नेत खलकका आठ जना दाजुभाइको नाममा छ । उनीहरुले नयाँ मोडलमा घरको पुनर्निर्माणका लागि केही वर्ष पहिले नै तयारी गरेका थिए । एकातर्फ भाइहरुबीचको समझदारी नहुनु र अर्काेतर्फ पुरातत्वले चासो देखाएपछि लामो समय यो घरको पुनर्निर्माण रोकिएको स्थानीय नेपालकुमार मिश्र बताउँछन् ।
पुरातत्व विभागले चासो देखाएपछि सो पुनर्निर्माणको काम रोकिएको थियो । अहिले पुरातत्वको निगरानीमा अगाडिको मोहोडा जस्ताको त्यस्तै राखेर घर पुनर्निर्माण गर्ने समझदारी भएको छ ।
दरबारमा उजुरी
वि.सं. २०१८ मा बस्नेत परिवारले बाँकी रहेको पल्टन घर पनि राजमानसिंह जोशीलाई बिक्री गर्ने तयारी गरेका थिए । त्यतिबेला भर्खर प्राचीन स्मारक संरक्षण ऐन कार्यान्वयनमा आएको थियो । पल्टनघर क्षेत्रका एकाधबाहेक अरु घर आधुनिक शैलीमा पहिले नै बनिसकेका थिए । तर दिव्योपदेशको धेरै अंश भेटिएको घर भएकाले पनि पल्टनघर त्यतिबेला विशेष थियो ।
सो घर बिक्री गरेर नयाँ शैलीमा निर्माण गर्न स्वीकृति दिने बस्नेतहरुको योजनाविरुद्ध दरबारमा उजुरी पर्यो । प्राचीन स्मारकको अस्तित्व सकिनेगरी बिक्री गर्न लागिएको विरुद्ध तत्कालीन तिलिंगा आयुर्वेदिक औषधालयका सञ्चालक विश्वनाथ वैद्यले उजुरी दिएको उनका भतिजा वासुकृष्ण वैद्य बताउँछन् ।
दरबारमा उजुरी परेपछि त्यो घर नयाँ शैलीमा बनाउन नमिल्ने फैसला भयो र तत्कालका लागि बिक्री समेत रोकिएको वैद्य स्मरण गर्छन् ।
अनलाइनखबरबाट साभार ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशको आर्थिक वृद्धिमा उच्च सुधार
नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त
गल्छीमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु
गाेरखामा माइक्राेबस दुर्घटना हुँदा १७ जना घाइते
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नुवाकोटको अध्यक्षमा कार्की





प्रतिक्रिया