प्रतिनिधि सभाको पहिलो बैठक अर्जुननरसिंहले चलाउने

विदुर खबर २०८२ चैत ३ गते २१:५५
Screenshot

नुवाकोट । प्रतिनिधिसभाको पहिलो बैठकको अध्यक्षता नेपाली कांग्रेसका अर्जुननरसिंह केसीले गर्ने भएका छन् ।

Advertisement

जेष्ठ सदस्यको नाताले पहिलो बैठकको अध्यक्षता केसीले गर्ने भएका हुन् । प्रत्यक्ष र समानुपातिकतर्फबाट निर्वाचित २७५ सदस्यमध्ये केसी सबैभन्दा ज्येष्ठ हुन्। ७८ वर्षीय केसी समानुपातिकतर्फबाट निर्वाचित भएका हुन्।

पहिलो बैठकमा ज्येष्ठ सदस्यले आफ्नो अनुपस्थितिमा बैठक सञ्चालन गर्न अध्यक्ष मण्डलका सदस्यको नामसमेत प्रस्ताव गर्छन्। दलीय परामर्शमा नाम चयन हुनेछ।

Advertisement

निर्वाचन आयोगले समानुपातिकतर्फबाट निर्वाचित हुने ११० उम्मेदवारको नाम सोमबार सार्वजनिक गरेको छ। ती निर्वाचित सदस्यलाई आयोगले चैत ५ गते प्रमाणपत्र दिने छ । आयोगले त्यसैदिन निर्वाचन प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाउनेछ।

त्यसपछि राष्ट्रपतिले संघीय संसद्को बैठक आह्वान गर्छन् । संविधानको धारा ९३ अनुसार निर्वाचन आयोगले राष्ट्रपतिलाई निर्वाचन परिणामको प्रतिवेदन बुझाएको ३० दिनभित्र अधिवेशन आह्वान गर्नुपर्छ ।

Advertisement

राष्ट्रपति कार्यालयले निर्वाचन परिणाम प्राप्त भएको जानकारी गराएपछि संसद् सचिवालयले शपथ ग्रहणको मिति तोक्ने प्रावधान छ। पहिलो बैठक बस्नुअघि सांसदहरूको शपथग्रहण हुनेछ ।

सांसदहरुलाई ज्येष्ठ सदस्य केसीले शपथ गराउनेछन्। केसीले भने राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिनेछन्।

प्रतिक्रिया