वाग्मती प्रदेशमा बजेट पास गराउनै सकस

विदुर खबर २०७८ असार २१ गते १०:०५

नुवाकोट ।वाग्मती प्रदेश सरकारलाई आर्थिक वर्ष २०७८/७९ को बजेट पास गराउन सकस हुने भएको छ ।

Advertisement

असार १ गते आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले सदनमा पेस गरेको ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँको बजेट पास गराउने विषयमा आफ्नै दलभित्रसमेत मतभेद सिर्जना भएको हो ।

बजेटलाई फेल गराउन प्रतिपक्षी दलहरू एउटै कित्तामा उभिएर सदनमा अवरोध गरिरहँदा सत्तारूढभित्रकै खनाल–नेपाल पक्षसमेत बजेट पास गराउने पक्षमा छैन ।

Advertisement

पार्टी एकताका लागि सन्देश दिने भन्दै आगामी आवको नीति तथा कार्यक्रम सदनबाट पास गराउन एक ढिक्का भएको एमाले सांसदहरू पार्टीभित्रको विवाद चरमोत्कर्षमा पुगेसँगै पुनः विभाजित भएका हुन् । बजेट पास गराउनका लागि मुख्यमन्त्री डोरमणि पौडेलले दुईपटक संसदीय दलको बैठक राखे पनि सहमति जुटिसकेको छैन । वाग्मतीमा एमालेको एकल बहुमत छ । १०९ सांसद रहेको प्रदेशसभामा एमालेको सभामुखसहित ५६ जना सांसद छन्, जसमध्ये खनाल–नेपाल समूहका २२ जना छन् ।

बजेट पास गराउनका लागि बहुमत अर्थात ५५ मतको आवश्यकता पर्छ । खनाल–नेपाल समूहले बजेटको पक्ष वा विपक्षमा उभिने विषयमा केन्द्रको निर्देशन कुरिरहेको उक्त समूहका एक सांसदले बताए । ‘हाम्रो पक्षका योजनाहरू समेटिएको छैन । त्यसलाई समेट्नुपर्छ भन्ने हाम्रो माग हो,’ उनले भने । उनले बजेटलाई सन्तुलित बनाउने भन्दै सांसद राजेन्द्र पाण्डेको संयोजकत्वमा समिति बनाएर योजनाहरू माग गरिए पनि पूरा नहुँदा संसदीय दलको बैठकमा विवाद भएको बताए । गत शुक्रबार र शनिबार एमाले संसदीय दलको बैठक हेटौंडामा बसेको थियो ।

Advertisement

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सरेश नेपालले पार्टीभित्र बजेटको विषयमा केही असन्तुष्टि भए पनि बहुमतले पास हुने दाबी गरे । ‘पार्टीभित्र गम्भीर समस्या छैन । अलिअलि असन्तुष्टि मात्र हो । स्रोतसाधनको कमी भएको हुँदा एउटै बजेटमा सबै योजनाहरू समेट्न सकिँदैन । सकेसम्म बजेटलाई सन्तुलित बनाएका हौं । योजना समावेशको विषयमा सरकार पनि गम्भीर भएको छ,’ उनले भने । उनले सदनमा उठेको प्रश्नमा सरकारले जवाफ दिने र प्रदेशसभा सञ्चालन हुने वातावरण तयार पार्ने दाबी गरे । बजेटमा विपद् व्यवस्थापन र कोभिड महामारीलाई बेवास्ता गरिएको, योजनाहरू पक्षपाती ढंगले ल्याइएको र न्यायोचित वितरण नभएको भन्दै प्रतिपक्षी दलहरूले संसद अवरुद्ध गरेर मोर्चाबन्दी गरिरहेका छन् ।

प्रदेश सरकारले आफैं आमसञ्चार गृह सञ्चालन गर्ने विषय फिर्ता लिनुपर्ने पनि उनीहरूको माग छ । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र, नेपाली कांग्रेस, विवेकशील साझा, नेपाल मजदुर किसान पार्टी र राप्रपाले बजेटलाई लक्ष्यहीन, असन्तुलित र अमूर्त भन्दै टिप्पणी गरिरहेका छन् ।

मुख्यमन्त्रीले जवाफ दिने
प्रदेशसभा सञ्चालनको विषयमा दलहरूवीच सहमति नजुटेपछि वाग्मती प्रदेशसभाको बैठक सोमबार बस्ने भएको छ । विनियोजन विधेयकप्रति असन्तुष्टि व्यक्त गर्दै शनिबार विपक्षी दलहरूले संसद अवरुद्ध गरेका थिए । बैठक सञ्चालन गर्न सभामुख सानुकुमार श्रेष्ठको हेटौंडा–१० स्थित सरकारी निवासमा बसेको सर्वदलीय वैठकमा ठोस सहमति नभएपछि प्रदेशसभाको बैठक एक दिन पर सारिएको हो । आइतबार बिहान ११ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर दिउँसो ३ बजेका लागि बोलाइएको थियो ।

‘३ बजे हुने भनिएको प्रदेशसभाको बैठक विशेष कारणले गर्दा सोमबार दिनको १ बजे हुने भएको छ,’ प्रदेश सचिव कृष्णहरि खड्काले भने । ‘विपक्षी दलहरूले उठाएको विषयमा मुख्यमन्त्रीले सदनमा जवाफ दिने भएपछि बैठक बोलाइएको हो,’ विवेकशील साझा संसदीय दलका नेता रमेश पौड्यालले भने । उनका अनुसार मुख्यमन्त्रीले बैठकमा दिएको जवाफ चित्तबुझ्दो नभएको खण्डमा पुनः सदन अवरुद्ध गरिनेछ ।

सभामुखले बोलाएको सर्वदलीय बैठकमा सत्तापक्ष र विपक्षीको अडान यथावत् रहेपछि कुनै पनि सहमति नभएको सांसद पौड्यालले जानकारी दिए ।

प्रतिक्रिया