काठमाण्डौ उपत्यकामा सार्वजनिक यातायात चलाउन दिने तयारी

विदुर खबर २०७८ असार १३ गते १९:२३

उपत्यकाका तीन जिल्लामा जोर–विजोर प्रणालीका आधारमा सार्वजनिक यातायात चलाउन दिने तयारी गरिएको छ ।

Advertisement

तर कति सिटसम्मका सवारी साधन चल्न दिने भन्ने निर्णय हुन बाँकी छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको बैठकमा यो विषयमा छलफल भए पनि टुंगो लागेन । भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार सोमबार बिहान ९ बजे पुनः बैठक बसेर यो विषयमा टुंगो लगाइनेछ ।

आइतबारसम्म काठमाडौं उपत्यकाको निषेधाज्ञाको मोडलबारे सीसीएमसी र गृहमन्त्रालयको निर्णय आइनसकेकाले निषेधाज्ञाको विषय सीडीओकै तहबाट टुंग्याइएको स्रोतले बतायो ।

Advertisement

काठमाडौं जिल्ला संकट व्यवस्थापन केन्द्र ( सीसीएमसी) का एक पदाधिकारीले भने, ‘निषेधाज्ञा थप्ने विषयमा सबै एकमत हुनुहुन्छ, सवारीसाधनको विषयमा टुंगो लागेको छैन ।’ ललितपुरको डीसीसीएमसीले भने जनस्वास्थ्यको मापदण्ड पालना गरी आधा सिट क्षमतामा सार्वजनिक सवारी साधन चल्न दिने र १५ दिन निषेधाज्ञा थप गर्न सिफारिस गरेको छ ।

एक अधिकारीका अनुसार संक्रमण निरन्तर घटेको र यातायात व्यवसायी तथा मजदुर संगठनले पनि निरन्तर दबाव दिएकाले सार्वजनिक सवारी सञ्चालनका लागि सिफारिस गरिएको हो ।

Advertisement

उपत्यकाको प्रशासन कार्यालयले १६ वैशाखदेखि लगाएको निषेधाज्ञा पछिल्लो पटक ७ असारमा एक साताका लागि थप्ने निर्णय भएको थियो । थपिएको निषेधाज्ञाको अवधि सोमबार राति १२ बजेबाट सकिँदैछ । पछिल्लो निषेधाज्ञा थप्दा निजी सवारीसाधन तथा ट्याक्सीलाई जोर–विजोर र व्यवसायलाई बारका आधारमा सञ्चालन गर्न दिइएको थियो ।

यी क्षेत्रमा कायमै हुनेछन् निषेधाज्ञा

प्रशासनले सबै प्रकारका सभा सम्मेलन, सैलुन, क्लब, ब्यूटी पार्लर, जिमलगायतमा लगाएको रोक कायमै रहनेछ । खुलास्थानमा धेरै मानिस भेला हुन पाइने छैन ।

सार्वजनिक स्थान र बाटोमा तरकारी तथा फलफूल बिक्री गर्न दिइनेछैन । शैक्षिक संस्थामा बन्द कायमै रहेछन् ।

खुकुलो गरिएका क्षेत्रमा पनि स्वास्थ्य मापदण्ड पालना भए, नभएको विषयमा अनुगमनलाई तीव्रता दिइने प्रशासन कार्यालयहरुले बताएका छन् ।

प्रतिक्रिया