धादिङका आधा भुकम्पपिडितले घर बनाएनन,सम्झौता गरेको धेरै भएपनि किस्ता आएन

विदुर खबर २०७५ साउन २० गते १५:१४

सीताराम अधिकारी 
धादिङ,  उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिका वडा नं ६ बसेरीकी हरिमाया ढकाल बसेरी बस्नुहुन्छ । भूकम्पले घर ध्वस्त भएपछि गाउँमा टहरामै बस्दै आउनुभएकी ढकाल सरकारले राहतस्वरुप अनुदानका लागि तत्कालीन बसेरी गाविसले २०७३ फागुन ९ गते अनुदान सम्झौता ग¥यो ।

Advertisement

सम्झौताको काम लामो समय भइसक्दा पनि उहाँले पहिलो किस्ताको रकम पाउनुभएन । वडा कार्यालय र गाउँपालिकामा बुझ्दा उहाँका नाममा रकम आएको जानकारी पाएपछि उहाँ घर बनाउने रकम झिक्न बैँकमा सम्पर्क गर्नुभयो । जब बैँकमा पुगेपछि उहाँ छाँगाबाट खसेजस्तै हुनुभयो । उहाँको नामको रकम अर्काे उहाँकै नाम भएकै व्यक्तिले झिकेर लगिसकेछ । बैँकले कसले झिकेको हो भनेर ढकाललाई जानकारी दिन मानेन । उहाँ गुहार माग्दै राष्ट्रिय पुनःनिर्माण प्राधिकरण अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार जिल्ला आयोजना कार्यान्वयन एकाइ पुग्नुभयो ।
प्राधिकरण अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार जिल्ला आयोजना कार्यान्वयन एकाइका वित्तीय व्यवस्थापनविज्ञ आनन्दराज पाण्डेले घटना के भएको भन्ने खोजी गर्दा ढकालका नाममा गैरलाभग्राहीले सो रकम झिकेर लगेको बताउनुभयो । गैरलाभग्राहीले पैसा लगेपछि तत्काल रकम फिर्ता गर्न ताकेता गरिए पनि ढकाल भने अझैसम्म रकम नपाउँदा टहरामै बस्न बाध्य हुनुहुन्छ ।

नेत्रावती डबजोङ गाउँपालिका वडा नं ४ का कृष्णबहादुर श्रेष्ठ, दिलबहादुर श्रेष्ठ र मीनबहादुर श्रेष्ठले पनि अनुदान सम्झौता भएको दुई वर्ष भइसक्दा पनि अनुदान रकम पाउन नसकेको गुनासो गर्नुभयो । उहाँहरुको अनुदानको पहिलो किस्ताको रकम कामना विकास बैँकमा गए पनि बैँकले पैसा नै नआएको भनेर उहाँहरुको रकम रोकिएको लाभग्राहीको गुनासो छ ।
आफैँले ऋण गरेर घर बनाइसकेको र ऋण लिएको साहूले रकम मागिरहेकाले तिर्न नसकेको गुनासो गर्दै सरकारले दिएको रकम किन बैँकले नदिएको खोजी गरेर रकम दिलाउन कृष्णबहादुरले आग्रह गर्नुभयो । नीलकण्ठ नगरपालिका वडा नं ५ खाल्टेका रामबहादुर नेपालीको अनुदान रकमसमेत अर्कैको खातामा गएपछि दुई वर्षसम्म लाभग्राही भएर पनि रकम पाउन सकेनन् । रकम झुक्किएर अर्को व्यक्तिको खातामा जाने र वास्तविक पीडितले अनुदानको राहत रकम नपाएपछि हारगुहार गर्दै जिल्ला समन्वय समिति, प्राधिकरणको जिल्ला कार्यान्वयन एकाइ, भवन तथा शहरी विकास कार्यालय र बैँक धाउँदै गर्दा दुई वर्षपछि रकम पाएको नेपालीले बताउनुभयो । गजुरी गाउँपालिका वडा नं ७ र ८ किराञ्चोकका १८८ परिवारको गुनासो सम्बोधन नगरी भत्किएको घरले समेत राहत नपाएपछि उहाँहरुले जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपालमार्फत आइतबार प्रधानमन्त्रीसमक्ष आफ्नो मागपत्र बुझाउनुभएको छ ।

Advertisement

जिल्लामा यस्तो समस्या लिएर हरेक दिन आठदेखि १० जनासम्म मानिस आउने गरेको, उनीहरुको समस्या जटिल हुँदा लामो समयसम्म पनि धेरै गुनासो गरेर पनि सम्बोधन गर्न नसकिएको र धेरैजसोको गुनासो सम्बोधन गरी सरकारले दिएको राहत रकम पाएको प्राधिकरण अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार जिल्ला आयोजना कार्यान्वयन एकाइका वित्तीय व्यवस्थापनविज्ञ आनन्दराज पाण्डेले बताउनुभयो ।

Advertisement

जिल्लामा ७४ हजार ३१५ घरपरिवार लाभग्राही सूचीमा परेकामा ७० हजार २१० जनाले मात्र पहिलो किस्ताको रकम पाएका छन् । तेइस हजार ३०६ परिवारले तेस्रो किस्ताको रकम लिएका छन् भने ३१ हजार ५४३ परिवारले घर निर्माण गरिसकेको शहरी विकास तथा भवन डिभिजन, जिल्ला अयोजना कार्यान्वयन एकाइ धादिङका इञ्जिनीयर नरेश भट्टले बताउनुभयो ।
लाभग्राहीका लागि पहिचान भएर पनि जिल्लामा चार हजार ४७९ जनाको अझैसम्म पनि सम्झौता भएको छैन भने लाभग्राही सूचीमा नपरेकामध्ये दुई हजार ७३७ परिवारलाई लाभग्राही सूचीमा नपर्नाका कारण स्पष्ट पार्दै प्राधिकरणले प्रत्येक व्यक्तिलाई पत्राचार शुरु गरेको छ ।

प्रतिक्रिया