सामुदायिक विद्यालयमा नयाँ विद्यार्थी भर्ना बढ्यो
नुवाकोट । नयाँ शैक्षिक सत्र सुरु भएसँगै असार १ गतेदेखि देशभरका विद्यालयमा भर्ना अभियान थालिएको छ ।
भर्ना अभियान सुरु भएको एक सातामै केही सामुदायिक विद्यालयहरूमा नयाँ भर्ना हुन आउने विद्यार्थीको संख्या बढेको छ ।कोरोना महामारीको प्रभावका कारण सामुदायिक विद्यालयहरूमा नयाँ भर्ना हुन आउने विद्यार्थीको संख्या बढिरहेको उनीहरूको भनाइ छ ।
कोरोना महामारीका कारण व्यापार, व्यवसाय सबै ठप्प हुँदा धेरै अभिभावकको आयस्रोत पनि बन्द भएको छ । यस्तो अवस्थामा पनि निजी विद्यालयले अनलाइन कक्षाका नाममा लिने महंगो शुल्क र पढाइएको प्रभावकारिता नदेखिँँदा सामुदायिक विद्यालयतर्फ आकर्षण बढेको प्रधानाध्यापकहरू बताउँछन् ।
अहिले विद्यालयहरूले विभिन्न विधिमार्फत भर्ना गरिरहेका छन् । विद्यालय आएर भर्ना गर्न सक्नेलाई भौतिक दुरी कायम राखेर भर्ना लिने, अनलाइनबाट, फोनबाट समेत भर्ना लिइरहेका विद्यालयहरूमा नयाँ भर्ना हुन आउने विद्यार्थीको संख्या बढेको हो ।
नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी भने अहिले नै सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या बढेको भन्न नसकिने बताउँछन् । उनी भन्छन्, ‘विद्यालयगत केही बढेको होला । तर समग्रमा सामुदायिक विद्यालयमा नै विद्यार्थीको संख्या बढेको भन्न सकिने अवस्था छैन । भर्ना प्रकृया सकिएपछि मात्रै भन्न सकिएला ।’
विश्व निकेतनले रोक्यो भर्ना
काठमाडौंको त्रिपुरेश्वरस्थित विश्व निकेतन माविले भर्ना अभियान सुरु गरेको पहिलो सातामै कक्षा ८ र ९ को भर्ना बन्द गरेको छ । पुराना विद्यार्थी नघटेको र नयाँ थपिनेको संख्या अत्यधिक बढेको भन्दै भर्ना रोकिएको हो । विद्यालयले धान्न सक्नेभन्दा बढी विद्यार्थी आउन थालेपछि भर्ना रोक्नुपरेको प्रधानाध्यापक प्रधानाध्यापक हेरम्बराज कँडेलले बताए ।
‘यसपटक हाम्रो विद्यालयमा नयाँ भर्ना हुन आउने विद्यार्थीको संख्या अत्यधिक छ । त्यसैले कक्षा ८ र ९ मा भर्ना बन्द गरेका छौं,’ उनले भने, ‘भर्ना लिएर मात्रै हुँदैन । धेरै विद्यार्थी भएपछि पढाउनका लागि शिक्षक पनि आवश्यक हुन्छ । बाध्य भएर भर्ना नै रोक्नुपरेको छ ।’ साना कक्षामा पनि नयाँ भर्ना हुन आउनेको संख्या बढेको उनको भनाइ छ ।
ललितपुरको मदन स्मारकमा पनि गत वर्षको तुलनामा विद्यार्थी भर्ना बढेको प्रधानाध्यापक गोविन्द पौडेलले बताए । पौडेल भन्छन्, ‘यो वर्ष बढ्छ भन्ने कुरा त यो सुरुवाती एक हप्ताले नै देखाएको छ । दैनिक नयाँ भर्नाका लागि फोन आउने, भौतिक रुपमा बुझ्न आउने अभिभावकहरू बढिरहनुभएको छ ।’
कोरोनाको कारण व्यापार, व्यवसाय, रोजगार, मजदुरी सबै ठप्प हुँदा अभिभावक आर्थिक संकटमा परेका छन् । दैनिक ल्यालादारी गरेर भए पनि आफ्ना बालबालिका संस्थागत विद्यालयमा पढाउने अभिभावकहरू छन् । अब उनीहरूले मासिक महँगो शुल्क तिरेर संस्थागत विद्यालयमा पढाउन सक्ने सम्भावना छैन । त्यसैले सामुदायिक विद्यालयको खोजी बढेको सामुदायिक विद्यालयहरूको भनाइ छ ।
तनहुँको रत्न माध्यमिक विद्यालयले पनि नयाँ भर्ना हुन आउने विद्यार्थी बढिरहेको जनाएको छ । संस्थागत विद्यालय पढिरहेका निम्न मध्यम वर्गका बालबालिका भर्ना हुन आउने क्रम बढेको प्रधानाध्यापक रमेशबाबु भट्टराईले बताए ।
अनलाइन कक्षाको नाममा संस्थागत विद्यालयहरूले उठाउने अतिरिक्त शुल्कको भारका कारण पनि कतिपय अभिभावक सामुदायिक विद्यालयतर्फ आउन थालेको प्रधानाध्यापक भट्टराईको अनुभव छ ।
अहिले संस्थागत विद्यालयबाट सामुदायिक विद्यालयतर्फ जाने मात्रै नभएर शहरबाट, सदरमुकाम, सदरमुकामबाट गाउँ फर्कने क्रम पनि देखिन थालेको ईलाम नगरपालिकाको नन्द मावि गोदकका प्रधानाध्यापक उमेश बुढाथोकीको अनुभव छ ।
भीडभाडमा जाँदा सर्ने भाइरसले महामारी फैलायो । उनको भनाइअनुसार संक्रमणको डरले शहरमा पढाइरहेका सदरमुकामका अभिभावकले आफूसँगै राख्ने क्रम बढेको छ ।
ग्रामीण क्षेत्रमा संस्थागत विद्यालय पढ्ने बालबालिकाका अभिभावकहरूमध्ये केही बैदेशिक रोजगारीमा रहेका र केही व्यापार व्यवसाय गर्ने गर्छन् । अहिले यी सबै क्षेत्र प्रभावित छन् । जसका कारण संस्थागत विद्यालयबाट सामुदायिक विद्यालयमा बालबालिका सार्ने क्रम पनि बढेको छ । उनी भन्छन्, ‘अहिलेको स्थिति हेर्दा करिब १० प्रतिशत निजीबाट आउने सम्भावना छ ।’
सामुदायिक विद्यालयमा विद्यार्थी बढ्नुको कारण
सामुदायिक विद्यालयमा नयाँ भर्ना हुन आउनेको संख्या बढ्नुमा विभिन्न कारण औंल्याएका छन् अभिभावक र प्रधानाध्यापकहरूले । उनीहरूका अनुसार मुख्य कारण कोभिडले निम्त्याएको आर्थिक मन्दी नै हो । दोस्रो कारण भने सामुदायिक विद्यालयले उकासेको शैक्षिक गुणस्तर र तेस्रो अंग्रेजी माध्यमप्रति बढ्दो आकर्षणलाई मानिएको छ । अर्को कारण चाहिँ सरकारले दिने उच्च शिक्षाको छात्रवृत्ति ।
कोभिडका कारण अभिभावकको आयस्रोत घटेका बेला संस्थागत विद्यालयले लिने चर्को शुल्क र आयस्रोतमा कमी भएका कारण सामुदायिक विद्यालयमा नयाँ भर्ना हुन आउने विद्यार्थीको संख्या बढेको बताउँछन् विश्व निकेतन माविका प्रधानाध्यापक हेरम्बराज कँडेल ।
उनी भन्छन्, ‘पहिलो त अभिभावकको आयस्रोत घटेको छ । दोस्रो हामीले विद्यालयको शैक्षिक गुणस्तर पनि उकासेका छौं । त्यसले पनि अभिभावक आकर्षित हुनुभएको हो ।’
तनहुँ रत्न माविका प्रधानाध्यापक भट्टराई विद्यालयको गुणस्तरसँगै कोरोनाका कारण अभिभावकले झेल्नु परेको आर्थिक संकटलाई मान्छन् । उनी भन्छन्, ‘समयसँगै सामुदायिक विद्यालयहरूको गुणस्तर बढ्दो छ । तर अहिले सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या बढ्नुको मुख्य कारण अभिभावकको आर्थिक संकट होजस्तो लाग्छ ।’
केही सामुदायिक विद्यालयले लकडाउन, निषेधाज्ञामा संस्थागत विद्यालयभन्दा व्यवस्थित वैकल्पिक माध्यामबाट कक्षा चलाए । त्यस्ता केही विद्यालयका कारण पनि सामुदायिक विद्यालयतर्फ अभिभावकहरू आकर्षित हुन थालेको नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी बताउँछन् ।
उनी भन्छन्, ‘लकडाउन, निषेधाज्ञाको समयमा केही सामुदायिक विद्यालयहरूले उत्कृष्ट काम गरे । जसको कारण सामुदायिक विद्यालयप्रतिको धारणा सकारात्मक बन्दै गइरहेको छ ।’
सरकारले उच्च शिक्षामा दिने छात्रवृत्तिका लागि अहिले कक्षा ६ देखि सामुदायिक विद्यालयमा पढेको हुनुपर्नेछ । त्यसले पनि सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या बढ्नसक्ने भण्डारीको तर्क छ ।
इलाम गोदकस्थित नन्द माविका प्रधानाध्यापक बुढाथोकी सामुदायिक विद्यालयहरूले अपनाउन थालेको अंग्रेजी माध्यमका कारण पनि सामुदायिक विद्यालयमा अभिभावकको आकर्षण बढेको देख्छन् । उनी भन्छन्, ‘अंग्रेजी माध्यममा पढाउनु सफलता मान्ने अभिभावकहरूको कारण अंग्रेजी माध्यममा पढाउने सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या बढिरहेको छ ।’
धरानस्थित पब्लिक उच्च माविमा गएको केही वर्षयता हरेक वर्ष नयाँ भर्ना हुन आउनेको चाप बढेको छ । त्यसको मुख्य कारण अंग्रेजी माध्यममा पढाइ हुनु मान्छन् प्रधानाध्यापक इन्द्रमोहन झा । भन्छन्, ‘केही वर्षयता नयाँ भर्ना हुन आउने विद्यार्थीको चाप बढ्दो छ । त्यसको मुख्य कारण अंग्रेजी माध्यममा पढाइ हुनु हो ।’
अनलाईन खबरबाट ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया