रोजगारीका नाममा भारत हुँदै तेस्रो देशमा नेपाली महिलाको तस्करी

विदुर खबर २०७५ साउन १९ गते १:२०

दलालको आँखामा अशिक्षित महिला

काठमाडौं– पछिल्लो समय वैदेशिक रोजगारीको प्रलोभन देखाएर नेपाली युवातीलाई भारत हुँदै तेस्रो मुलुक पुर्‍याउने क्रम बढेको छ।

बुधबार बिहान भारतको राजधानी नयाँ दिल्लीबाट ३९ जना, मंगलबार राति बनारसबाट १६ जना र दिल्लीबाटै १८ जना गरी भारत हुँदै अवैध रुपमा वैदेशिक रोजगारीका लागि हिँडेका ७३ जना नेपाली महिलाको उद्धार गरिएको थियो।

एक सातामा विभिन्न सूचनाका आधारमा नयाँदिल्ली महिला अयोग र स्थानीय प्रहरीले ७३ महिलाको उद्धार गरेको भारतको दिल्लीस्थित नेपाली दूतवासले विज्ञप्तिमार्फत जनाएको छ।

मानव तस्करहरूले खाडी मुलुकमा आकर्षक रोजगार दिलाउने प्रलोभन देखाई भारतका विभिन्न स्थानमा पु¥याई तेस्रो मुलुक लैजान लागेका ती महिलाको उद्धार गरिएको दूतावासले जनाएको छ। सरकारले रोजगारीका नाममा हुने मानव तस्करी नियन्त्रणको प्रयास गरिरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता प्रकाश दाहाल बताउँछन्।

सरकारको आँखा छलेर वा लुकेर कामको खोजीमा विदेशिनेलाई नियन्त्रण गर्न समस्या हुने गरेको बताउँदै प्रवक्ता दाहाल भन्छन्, ‘अवैध बाटो भएर कामको खोजीमा विदेशिने नागरिकका विषयमा राज्य बेखर नै हुन्छ। कसैको लहैलहैमा लागेर अवैध बाटो भएर जाने कामदार नियन्त्रण गर्न गाह्रो हुन्छ। श्रम मन्त्रालयले रोजगारीका नाममा हुने मानव तस्कर नियन्त्रण गर्नेगरी योजना बनाइरहेको छ।’

नेपाली महिला भारत हुँदै रोजगारीको खोजीमा कसरी तेस्रो मुलुक जान्छन् भनेर सरकारी निकाय बेखर जस्तै देखिन्छ। आर्थिक वर्ष २०७४/७५ मा भारतबाट उद्धार गरिएका नेपाली महिलाको संख्याभन्दा धेरै नेपाली महिलाको पछिल्लो एक सातामा भारतका विभिन्न स्थानबाट उद्धार गरियो।

दूतावासका अनुसार अघिल्लो आर्थिक वर्षमा ६० नेपाली महिलाको भारतबाट उद्धार गरिएको थियो। जबकि पछिल्लो एक सातामा ७३ महिलालाई भारतमा उद्धार गरिएको छ। भारतको महिला आयोगले तस्करीमा परेका महिला उद्धार अभियान चलाइरहेको छ।

भारतसँग सीमा जोडिएका नाकाबाट दैनिक ठूलो संख्यामा नेपाली युवती रोजगारीका नाममा तस्करी भइरहेको आयोगले औंल्याएको छ।रोजगारीका नाममा हुने महिला तस्कर रोक्न दुवै देशले साझा अभियान चलाउनुपर्ने आयोगले बताएको छ।

महिला तस्कर नेपाल र भारतको साझा समस्या भएको भन्दै यो विषयमा गम्भीर हुनुपर्ने नयाँ दिल्ली महिला आयोगले जनाएको छ। भारतले रोजगारीका नाममा हुने मानव तस्करी सार्क राष्ट्रको समस्या भएको भन्दै सबैले मिलेर समाधानको उपाय खोज्नुपर्ने बताउँदै आएको छ।

मानव तस्करीको रुट भारत

प्रहरीको अध्ययन अनुसार भारतको स्थलमार्ग प्रयोग गरेर धेरै नेपाली महिला रोजगारीका लागि तेस्रो मुलुक जाने गरेका छन्।नेपाल प्रहरीको सहयोगमा विभिन्न संघसंस्थाले सीमा क्षेत्रमा अवैध रुपमा रोजगारीका लागि जाने महिलाको उद्धार गर्दै आएको छ। यस्तै, अवैध रुपमा भारतको बाटो हुँदै खाडीका देशमा रोजगारीमा जाने र त्यहाँ समस्यामा पर्ने महिलाको संख्या पनि ठूलो छ।

गत आर्थिक वर्षमा विदेशबाट सरकारले करिब ९ सय जनाको उद्धार गर्दा अधिकांश महिला नै थिए।  एक अध्ययनमा वार्षिक १५ हजारभन्दा धेरै नेपाली युवाती भारत हुँदै तेस्रो मुलुक पुर्याइने गरिएको छ।उद्धार गरिएका महिलासँगको सोधखोजमा उनीहरुले राम्रो रोजगारी पाइने आशामा विदेश जाने गरेको बताउने गरेका छन्। राम्रो आम्दानी हुने र कुनै समस्या नहुने भन्दै दलालले महिलालाई प्रलोभनमा पारी अवैध बाटोबाट विदेश लैजाने गरेको महानगरीय अपराध महाशाखाका प्रवक्ता नरेन्द्र उप्रेती बताउँछन्। मानव तस्करले नेपाली युवतीलाई आकर्षक रोजगारीका लागि भन्दै खाडी मुलुक लगायत अन्य देश पुर्‍याएर जबर्जस्ती देह व्यापारमा फसाउने गरेका उदाहरण पनि प्रसस्त छन्।

गत साउन ५ मा केन्याको डान्सबारमा काम गर्न पुगेका १३ नेपाली युवतीको केन्या प्रहरीले उद्धार गरी नेपाल फर्काउन सहयोग गरेको थियो। महानगरीय अपराध महाशाखाले विदेशमा पुगेर अप्ठ्यारोमा पर्ने कामदारको समस्या सुन्न र सहयोग गर्न विगत ३ वर्षदेखि हटलाइन टेलिफोन सेवा सुरु गरेको छ। महाशाखाका प्रवक्ता उप्रेतीले हटलाइन फोनमार्फत वैदेशिक रोजगारीमा समस्यामा परेका कामदारलाई उद्धार र सहयोग गर्न सहज भएको जनाए।

दलालबारे बोल्दैनन् महिला

कामको खोजीमा विभिन्न देश पुगेका नेपाली कामदारकै सम्पर्कमा धेरै महिला व्यक्तिगत भिसा लिई रोजगारीमा जाने गरेका छन्। यसरी विदेशमा कार्यरत कतिपय नेपालीले नै आफ्ना सम्र्पकमा रहेका दिदी–बहिनीलाई राम्रो काम छ भनेर तस्करको सम्पर्कमा पुर्‍याउने गरेको अनुसन्धानका क्रममा भेटिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ।

महिला कामदार प्रायः भारत हुँदै तेस्रो देश मेनपावरभन्दा बाहिरका व्यक्तिको सम्र्पकबाट जाने गरेको प्रहरी अनुसन्धानले देखाएको छ। त्यसरी भारत हुँदै तेस्रो मुलुक रोजगारीको खोजीमा जाने प्रायः महिला अशिक्षित, गरिब र वैदेशिक रोजगारीबारे केही जानकारी नै नभएकाहरु हुने गरेको केन्द्रीय अनुसन्धान ब्युरोका निरीक्षक राजकुमार सिलवालले जानकारी दिए।

उनले भने, ‘विदेश जाने भनेपछि केही नबुझी जाँदा धेरै सोझा महिला फस्ने गरेका छन्। प्रहरीले उद्धार गरेका महिलाले दलाल र तस्कारका विषयमा केही बताउँदैन। अनुसन्धानमा पनि समस्या हुने गरेको छ। एक तस्कर अर्को तस्करसँग परिचित नभई महिला ओसारपासर गर्ने गरेको उनको भनाइ छ प्रहरीले उद्धार गरेका महिलाले तस्करका विषयमा अनविज्ञता प्रकट गर्ने गरेको प्रहरीले जनाएको छ।

Advertisement

प्रतिक्रिया