नेपाल पृथ्वीनारायण शाहले निर्माण गरेका होइनन्’

विदुर खबर २०७८ जेठ २७ गते १४:२६

पृथ्वीनारायण शाहले गोर्खा राज्यलाई नै बिस्तार गर्ने उद्देश्यले काठमाडौंमा विजय प्राप्त गरे । यसै जगमा आधुनिक नेपाल बनेको हो ।

Advertisement

केही विषयहरु ख्यालख्यालमै बन्दा रहेछन् । केही दिनअघिको कुरा हो पूर्वसचिव भीम उपाध्यायले आफ्नो फेसबुकमा नुवाकोटमा बन्दै गरिएको पृथ्वी संग्रहालयको तस्वीर राखेर एउटा पोष्ट शेयर गर्नुभयो । त्यहाँ सकारात्मक र नकारात्मक दुबै प्रकारका दृष्टिकोण व्यक्त भएका छन् । जबकी पृथ्वीनारायणलाई बुझेर होइन बरु नबुझिकन, तथ्यसंगत नभएर वास्तवमा हचुवाका भरमा आफ्नो विचार व्यक्त गरिएको छ ।

आजको जमानामा सामाजिक सञ्जाल दार्शनिक पात्रदेखि भ्रममा बाँच्नेहरुसम्म हुने भएकाले थरीथरीका टिप्पणी राख्ने थलो भनौं या दिन कटाउने मेलो पनि बनिरहेको छ । सकारात्मक खबरको तुलनामा नकारात्मक सामाग्रीलाई प्रोत्साहन गर्ने हुँदा सर्वसाधारणले नकारात्मक विषयमा बढी विमर्श गर्ने गरिएको पाइन्छ । हुन त सामाजिक सञ्जालमा सकारात्मक विषयमा विमर्श नहुने भन्ने पनि होइन ।

Advertisement

यसका माध्यमबाट समाजमा सकारात्मक प्रभाव पार्ने धेरै मानवीय कार्य पनि हुँदै आएका छन् । कतिपय व्यक्तिले पृथ्वीनारायण शाह गोरखामा जन्मेका कारण संग्रहालय गोरखामा मात्र बन्नु पर्ने धारणासमेत राख्ने गरेका छन् । नुवाकोटमा बनाएको संग्रहालयले गोरखा जाने पर्यटक नुवाकोट तान्ने र यसले गोरखामाथि नकारात्मक असर पर्नेजस्ता भनाई राखेका पाइएका छन् । यो सरासर भ्रामक र अपरिपक्व धारणा हो ।

बरु नुवाकोट संग्रहालयले गोरखाको महत्व अरु बढाउँछ । नुवाकोट पुग्ने पर्यटकलाई गोरखा पनि जान प्रेरित गर्छ । कतिपयलाई लाग्ला आजको दिनमा इतिहास हेर्ने फुर्सद कसलाई छ र ? तर त्यस्तो होइन, इतिहास निकै महत्वपूर्ण विषय हो । तपाई आफै जन्मेको इतिहास नबिगारियोस्, कमजोर नगराइयोस् भन्न पनि इतिहास पढ्नु, बुझ्नु जरुरी छ । हामी नेपालमा बस्छौं, नेपाली भनेर चिनिन्छौं । तर हो पृथ्वीनारायण शाहले नेपाल निर्माण गरेका होइनन् ।

Advertisement

गोर्खा राज्यको बिस्तार गरेका हुन् । त्यो बेलाको इतिहास हेर्ने हो भने नेपाल भनेर काठमाडौं उपत्यकालाई चिनिन्थ्यो । पृथ्वीनारायण शाहले गोर्खा राज्यलाई नै बिस्तार गर्ने उद्देश्यले काठमाडौंमा विजय प्राप्त गरे । यसै जगमा आधुनिक नेपाल बनेको हो । त्यसैले पृथ्वीनारायण शाहलाई कोरा शासक र एक जना राजाको रुपमा मात्र नभएर गोरखा राज्यको बिस्तार गर्ने एक असाधारण फौजी र एक दूरदर्शी शासकका रुपमा वा राजनेताका रुपमा हेर्नु जरुरी छ ।

उनको यो कदम नेपालको इतिहासको कोसेढुंगा नै थियो । त्यसैले त उनी नेपालीमाझ लोकप्रिय छन् नै, नेपाल पढ्न चाहनेद्वारा यता तीन शताब्दीसम्म सबैभन्दा बढी पढिने व्यक्तित्व पनि हुन् । धेरैलाई लाग्छ आफूमात्र सही अरु सबै गलत । सबैमा सकारात्मक र नकारात्मक दुबै गुण हुन्छन् । उनले जितेका हरेक स्थानका संस्कृति उनले फिटिक्कै मासेनन्, बरु अवलम्बन गरे । विभिन्न जातजाति, भाषा, धर्म सुरक्षित राखेका थिए ।

सामाजिक सञ्जालमा जहाँ पृथ्वीनाराण शाहको प्रसंग चल्यो त्यहाँ आएका प्रतिक्रिया हेर्दा आलोचना र स्तुतिमा आजका नेताहरुसँग दाँज्ने काम भइरहेको छ । त्यसैले पृथ्वीनारायण शाह गोर्खामा जन्मेका र गोर्खामा मात्र पृथ्वी संग्रहालय हुनुपर्छ भन्ने तर्क गरिन्छ । पृथ्वी सबैका साझा धरोहर हुन् । उनकै नाम लिँदा गोरखा जिल्लाले मात्र लिनुपर्ने हो र कतै ? यो इतिहासलाई हामीले मेटेर मेट्न पनि सक्दैनौं ।

यो जीवन्त र अमर रहिरहन्छ । इतिहासलाई जति पछ्याउँदै गयो त्यति नै बढी जानकारी हासिल गर्न सकिन्छ । खासमा इतिहास के हो ? के इतिहास अमर हो ? हामीले हाम्रो समाज, माटो, वरपरको बसोवास तथा भूगोललाई कसरी चिन्यौ त ? यो सहज होइन रहेछ । इतिहास नजानेकाहरुले पृथ्वीसंग सम्बन्धित किताब जलाउने, सालिक भत्काउने, शाहका नामाकरण हटाउने, इतिहास मेट्ने जस्ता कार्यहरु उनीहरुको अल्प ज्ञानकै कारणले गरेका हुन् ।

इतिहास त इतिहासै हो मेटेर मेट्न सकिदैन । अब नुवाकोटमा किन बनाइयो त पृथ्वी संग्रहालय भन्ने कुरा पनि आउँछ । पृथ्वीनारायण शाहले गोरखा राज्य बिस्तारका क्रममा सबैभन्दा पहिले नुवाकोटबाट नै एकीकरणको प्रारम्भ गरेका थिए । उनले १८०१ साल असोज १५ गते नुवाकोट टाकुरेमाथि तेस्रो प्रयासमा विजय प्राप्त गरिसकेपछि सेनाद्वारा १८१६ सालमा साततले दरवार निर्माण गर्न लगाएका थिए ।

साततले दरवार निर्माण १८२४ मा सम्पन्न भएको थियो । गीर्वाणयुद्ध विक्रम शाहको पालामा २५ बर्षसम्म सोही दरवारबाट नेपालको शासनसत्ता सञ्चालन भएको थियो । नेपालको ऐतिहासिक तथा धार्मिक रुपमा सुपरिचित स्थलमध्ये एक हो नुवाकोट । इतिहासका पानाहरु पल्टाउदा पुग्नैपर्ने स्थान पनि हो । नुवाकोट जिल्ला ऐतिहासिक रुपमा आफैमा एक संग्रहालय मान्न सकिन्छ ।

वरिपरिका कोटहरुमध्ये बेलकोट, भैरुमकोट, सिमलकोट, मालाकोट, धुवाकोट, कालिकाकोट, धैबुङकोट, सल्यानकोट र प्यासकोट मिलि नुवाकोट नाम रहन गएको इतिहास पाइन्छ । नुवाकोटलाई धार्मिक एवं सांस्कृतिक निधिको रुपमा पनि लिन सकिन्छ । यहा अनेकौं देवीदेवताका स्थलहरु छन् । नेपालको इतिहासमा उल्लेख भएअनुसार साततले दरवारको दक्षिणतर्फ रहेको देवी भैरवीलाई देशको रक्षक मानिन्छ ।

राजसंस्थाको बेला हरेक वर्ष सरकारका प्रमुखले पुजाआजा गरिने गरिएको थियो । पृथ्वी संग्रहालय नुवाकोटमा नाम रहनुमा पृथ्वीसँग सम्बन्धीत अनेकौं चिजबिज रहेको र उनको देहावसान पनि नुवाकोटको देवीघाटमा भएको हुनाले पनि नुवाकोटमा संग्रहालय राख्ने औचित्य स्वतः सिद्ध हुन्छ । पुनश्चः भनौं, साततले दरबार आफैमा इतिहास बोकेको आफैंमा राष्ट्रिय संग्रहालय हो ।

बन्दै गरेको संग्रहालयमा नुवाकोटसँग सम्बन्धित विभिन्न ऐतिहासिक सामग्री पनि राखिने स्थानीय निकायहरुले बताउँदै आएका छन् । राष्ट्रिय एकताको जग बसाल्ने दूरदर्शी राजालाई हामी सबैले सम्मान गर्नु पर्छ । पृथ्वीनारायण शाहको कर्म र भूमिकालाई सकारात्मक रुपमा हेरिनुपर्छ । यसर्थ, उनीसित सम्बन्धित धरोहरहरुको रक्षा गर्दै भावी पुस्तामा हस्तान्तरण गर्नु हाम्रो धर्म हो । ती धरोहरमध्ये नुवाकोट आफैंमा एक महत्वपूर्ण र ऐतिहासिक स्थल हो । यहाँ ऐतिहासिककालदेखि रहेका जेजति स्थल र संरचनाहरु छन्, तिनको संरक्षण भइरहनु पर्छ ।

प्रतिक्रिया