एकता जोगाउन एमालेका नेताहरू सक्रिय

विदुर खबर २०७८ जेठ २७ गते १४:१४

नुवाकोट । सत्तारूढ दल नेकपा एमालेका दोस्रा तहका नेताहरू पार्टीभित्रको विवाद समाधान गरेर पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने छलफलमा जुटेका छन् ।

Advertisement

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपीशर्मा ओलीले पार्टीलाई जेठ ३ पूर्वकै अवस्थामा फर्काउने ६ बुँदे घोषणा गरे पनि पार्टीका खनाल–नेपाल समूहले अस्वीकार गर्ने निर्णय गरेको छ ।

पार्टीबाट कारबाहीमा पर्नुभएका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहले ओलीले अलमल्याउने खेलअन्तर्गत ६ बुँदे प्रस्ताव गरेको जवाफ दिएको थियो । पार्टीलाई विभाजित हुन नदिनका लागि एमालेका दोस्रा तहका नेताहरू दैनिकरूपमा भेटघाट र छलफलमा जुटेका छन् ।

Advertisement

संस्थापन पक्षबाट सुवास नेम्बाङ, प्रदीप ज्ञवाली, विष्णु पौडेल, खनाल–नेपाल समूहबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र योगेश भट्टराईलगायतका नेताहरूबीच दैनिकरूपमा संवाद भइरहेको छ । दोस्रा तहका नेताहरूबीच पार्टी एकता बचाउने समझदारी भए पनि कसरी विवाद समाधान गर्ने भन्ने विषयमा ठोस सहमति भने जुट्न सकिरहेको छैन ।

नेता सुरेन्द्र पाण्डेले भेटघाट सकारात्मक भइरहेको बताउँदै आफूहरू पार्टी एकता बचाउने पक्षमा दृढ भएर लागेको बताउनुभयो । उहाँका अनुसार शीर्ष तहमा नेताहरूबीच संवाद गराउने वातावरण तयार गर्ने विषयमा कुराकानी भइरहेको छ ।

Advertisement

पार्टी एकता बचाउनुपर्ने पक्षमा दैनिकरूपमा छलफलमा जुट्दै आउनुभएका नेता योगेश भट्टराईले एमाले एकता नहुनुको मूल जड पार्टीभित्र आपसमा सहकार्य गर्न तयार नहुने रहेको बताउनुभएको छ । बुधबार उहाँले सामाजिक सञ्जालमार्फत प्रश्न गर्दै भन्नुभएको छ– ‘अरू दलसँग सहकार्य गर्न तयार हुने तर पार्टीका नेतासँग मिल्न किन तयार नभएको ?

’‘एमालेको एकताको मूल जड कमरेड केपीओली आफ्नै पार्टीका वरिष्ठ नेता कमरेड जेएन खनाल र कमरेड माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्त ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी र अन्य विषयमा गठबन्धन गर्न तयार हुने, कमरेड जेएन खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष कमरेड केपी ओलीसँग मिल्न तयार नहुने तर शेरबहादुर देउवा, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी र अन्य विषयमा गठबन्धन गर्न तयार हुने ? कसले, किन र केका लागि गर्दै छ यो सब ?’ –उहाँले प्रश्न गर्नुभएको छ ।

भट्टराईले एमाले एकताको समस्याको मूल जड यही रहेको बताउँदै यस विषयमा गम्भीर छलफल र साझा निष्कर्षका साथ साझा अभियानमार्फत एमालेको एकता बचाउन जरूरी रहेकोमा जोड दिनुभएको छ ।

प्रतिक्रिया