जेठ २ मा फर्कन सर्वोच्चबाट रिट फिर्ता लिनुपर्ने ओलीको सर्त

विदुर खबर २०७८ जेठ २० गते ६:५४

नुवाकोट । नेकपा एमालेका दोस्रो तहका नेताबीच जारी छलफलमा अध्यक्ष केपी शर्मा ओली नेपाल समूहको मागबमोजिम २०७५ जेठ २ कै कमिटी ब्युँताउन सकारात्मक हुनुभएको छ ।

Advertisement

तर, ओलीले जेठ २ अघिको अवस्थामा फर्कनका लागि सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिट निवेदनमा नेपाल समूहका २३ सांसदले गरेको हस्ताक्षर फिर्ता लिनुपर्ने सर्त राखेको नेपाल समूहका एक नेताले बताएका छन् ।

पार्टी एकताका लागि ओली समूहका पूर्वसभामुख सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली र नेपाल समूहका घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्टलगायतका नेताहरू सघन छलफलमा जुटेका छन् ।पार्टी एकता जोगाउन विभिन्न तहमा संवाद भइरहेको जानकारी दिँदै नेम्वाङले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘सहमति निर्माण गर्ने विषयमा हामी लागिरहेका छौं । आशा गरौं, पार्टी एकता बचाउन सकिन्छ ।’ नेपाल समूहका नेता पाण्डेले पनि पार्टी एकता जोगाउन र सहमति निर्माणका लागि प्रयास भइरहेको बताउनुभयो ।

Advertisement

यता, एमाले एकताका लागि एमालेका दुवै पक्षका दोस्रो पुस्ताका नेताहरू वार्तामा बसिरहेका बेला माधव नेपाल पक्षीय जनसंगठनका नेताहरूले भने त्यसलाई धोकाको संज्ञा दिएका छन् । एमालेका नेपाल समूहको भ्रातृ संगठनहरूको सामूहिक बैठकमा सहभागी नेताहरूले झलनाथ खनाल र माधव नेपालको सहमति तथा निर्देशनबिना कुनै नेता वार्तामा बसेका छन् भने त्यो अनाधिकृत हुने टिप्पणी गरेका छन् ।नेता नेपालको सहभागितामा जनसंगठनका प्रमुख तथा पदाधिकारीहरूको जुम बैठकले अब ओलीको अलमलमा नलागी पार्टी विभाजन गर्नुपर्ने सुझाव दिएका छन् ।

एकताको नाममा वार्ता गर्ने दोस्रो तहका नेताहरू सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराईलगायतलाई ओली पक्षसँगको वार्ताबाट फिर्ता हुन जनसंगठनका नेताहरूले माग गरेका छन् । नेपाल समूहका अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले अझै पनि वार्ता र एकताको नाममा धोका हुने भएकाले तत्काल पार्टी विभाजन गर्नुपर्ने सुझाव दिनुभएको थियो । बैठकमा खेलकुद महासंघका अध्यक्ष पुरुषोत्तम पौडेलले एकताको नाममा फेरि पनि ओलीले अलमल्याउने सम्भावना रहेकाले नेतृत्व थप सचेत हुन आवश्यक रहेकोमा जोड दिनुभएको थियो ।

Advertisement

वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालसहितका ११ जना नेतालाई पार्टीको साधारण सदस्यबाटै कारबाही गरे पनि पार्टी विभाजनको औपचारिक घोषणा हुन बाँकी रहेको अवस्थामा पार्टीका दोस्रा तहका नेताहरू एकता बचाउन दैनिक छलफलमा जुटेका हुन् । दोस्रा तहका नेताहरू छलफलमा जुटेपछि पार्टीले कारबाहीका लागि स्पष्टीकरण मागेको नेपाल पक्षका थप १२ जना नेताको कारबाही रोकिएको छ ।

पार्टीभित्र देखिएको विवादको समाधान गर्न एमालेका महासचिव एवं उपप्रधानमन्त्री ईश्वर पोखरेल र नेता योगेश भट्टराईबीच सिंहदरबारमा पनि छलफल भएको छ । नेताहरूबीच छलफल सकारात्मक बन्दै गएको र पार्टी एकताको विषयले पुनः प्रवेश पाएसँगै बुधबारका लागि बोलाइएको एमाले स्थायी कमिटीको बैठक अन्तिम समयमा आएर स्थगित भएको थियो ।

प्रतिक्रिया