​रसुवागढी नाकाबाट भरियालाई बोकाएर सामग्री नेपालतर्फ ल्याइँदै

विदुर खबर २०७५ साउन १७ गते १२:५९

रसुवा, चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा सवारी सञ्चालनमा रोक लगाइएपछि व्यापारीले भरियालाई सामग्री बोकाएर टिमुरेतर्फ ल्याउन थालेका छन् । पाँच दिनदेखि सवारी सञ्चालन हुन नसक्दा स्याउ, लसुनलगायतका सामग्री कुहिन थालेपछि भरियालाई बोकाएर सामग्री सीमावारी ल्याउन थालिएको व्यापारीले बताएका छन् ।

Advertisement

जिल्लाको गोसाईकुण्ड गाउँपालिका–२ घट्टेखोलामा बाढीले पुलमा क्षति पु¥याएपछि करिब तीन किलोमिटर सामग्री बोकेर यात्रा गर्नुपर्ने अवस्था आएको रसुवा सीमापार व्यापार संघका अध्यक्ष कामी नुर्पु तामाङले बताए । सवारी साधन सञ्चालनमा आउन नसक्दा नाका पारी आइपुगेका स्याउ कुहिन थालेपछि भरिया खोजेर सामग्री वारी ल्याइएको अध्यक्ष तामाङको भनाई छ ।

‘सीमापारी ७४ वटा स्याउ बोकेका कन्टेनर आएका छन्, अध्यक्ष तामाङले भने, पुल निर्माणले गति नलिएपछि बिकल्प खाजेका हौँ ।’ सवारी सञ्चालन रोकिएपछि राजश्व कम उठेको भएपनि राजश्व नियमित उठिरहेको रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत गोपाल कोइरलाले बताए । उनका अनुसार मंगलबार तीन करोड २० लाख राजश्व उठेको छ । साउन महिनामा कार्यालयले ५० करोड राजश्व उठाउने लक्ष्य लिएको छ ।

Advertisement

‘बुधबारसम्म २२ करोड राजश्व उठेको छ, प्रमुख भन्सार अधिकृत कोइरलाले भने, लक्ष्य अनुसारको राजश्व उठाउन सक्छौँ ।’ यसअघि लक्ष्यभन्दा बढी राजश्व बढी उठ्दै आएको भएपनि यो महिनामा बढी राजश्व उठ्ने सम्भावना कम रहेको उनले बताए । पानीको बहाव बढेको कारण मर्मत कार्य प्रभावित भएको डिभिजन सडक कार्यालयले नुवाकोटले जनाएको छ  ।

‘पानीको बहाव उच्च छ, डिभिजन प्रमुख निरज शाक्ले भने, ढुङ्गा ओसार्नका लागि ल्याउन लागिएको ट्रक पनि पहिरोको कारण नुवाकोटतर्फ नै रोकिएको छ ।’ ‘पानीको बहाव उच्च भएकाले ठुलाठुला ढुङ्गा खसालेर ढलान गर्न पर्ने डिभिजन प्रमुख शाक्यले बताए । सामग्री आयातका लागि चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङ पुगेका सवारी रसुवागढी नाका पारी नै रोकिएका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए ।

Advertisement

‘पुल मर्मत नसकिँदासम्म सवारी सञ्चालनका लागि अनुमति दिन सकिदैन, प्रमुख जिल्ला अधिकारी पौडेलले भने, मर्मत कार्य छिटो गर्नका लागि समन्वय गरिरहेका छौँ ।’ सामग्री ओसारपसारमा गर्ने समय अवधिभरका लागि सुरक्षाकर्मी परिचालन गरिने प्रजिअ पौडेलको भनाई छ ।

प्रतिक्रिया