एमालेका १४ प्रदेशसभा सदस्यलाई स्पष्टीकरण

विदुर खबर २०७८ जेठ ८ गते १४:३५

नुवाकोट । राष्ट्रिय सभा निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारलाई सहयोग नगरेको र पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै नेकपा एमालेको वाग्मती प्रदेश संसदीय बोर्डले १४ जना प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेको छ

Advertisement

हेटौंडास्थित मुख्यमन्त्री डोरमणि पौडेलको सरकारी निवासमा बसेको बैठकले एमालेका आधिकारिक उम्मेदवार रामबहादुर थापाको साटो स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटालाई सहयोग गरेको भन्दै उनीहरूलाई स्पष्टीकरण सोधेको हो ।

एमालेका मुख्य सचेतक दीपक निरौलाका अनुसार स्पष्टीकरण सोधिनेमा अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, अरुणप्रसाद नेपाल, रचना खड्का, कुसुमकुमार कार्की, वसुन्धरा हुमागाईं, मुनु सिग्देल, इन्द्रमाया गुरुङ, कृष्णप्रसाद खनाल, वसन्तप्रसाद मानन्धर, शान्तिराम पौडेल, मीना ज्ञवाली, लक्ष्मण लम्साल र पार्वती सिलवाल छन् ।

Advertisement

‘संसदीय दलको नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव आउँदादेखि राष्ट्रिय सभा निर्वाचनसम्म पार्टी निर्णयविरुद्ध काम गरेपछि हामीले स्पष्टीकरण सोधेका हौं । उहाँहरूलाई जवाफ दिनका लागि आइतबार साँझ ५ बजेसम्मको समय प्रदान गरिएको छ,’ उनले भने । बैठकमा कोभिड नियन्त्रणमा प्रदेशले गरेको कामको समेत समीक्षा गरिएको उनले जानकारी दिए ।

राष्ट्रिय सभा निर्वाचनमा सत्तारूढ एमालेका आधिकारिक उम्मेदवार थापालाई स्वतन्त्र उम्मेदवार देवकोटाले पराजित गरेका थिए । प्रदेशतर्फ थापाले ४५ मत प्राप्त गर्दा देवकोटाले ५८ मत प्राप्त गरेका थिए । एमालेको प्रदेशसभामा ५६ मत छ । नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले दुई मत प्राप्त गरेका थिए ।

Advertisement

स्थानीय तहतर्फ देवकोटाले २ सय ३३ मत खसेकोमा १ सय २८ मत प्राप्त गरेका थिए । थापाले १ सय ३ मत प्राप्त गर्दा नेमकिपाका उम्मेदवार तामाङले दुई मत प्राप्त गरेका थिए । देवकोटाले स्वतन्त्र रूपमा उम्मेदवारी दिए पनि नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमाले नेपाल–खनाल समूहको समर्थन रहेको थियो ।

प्रतिक्रिया