आफूलाई प्रधानमन्त्री नियुक्त नगरेकोमा शेरबहादुर देउवा रुष्ट

विदुर खबर २०७८ जेठ ८ गते १३:३५

नुवाकोट । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीले असंवैधानिक कदम चालेको आरोप लगाएका छन्।

Advertisement

सरकारको सिफारिसमा शुक्रबार राति राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा भंग गरेपछि रुष्ट देउवाले शनिबार मध्यान्ह प्रेस वक्तव्य जारी गर्दै यसको विरोध जनाएका हुन्।

देउवाले आफूले राष्ट्रपतिले आह्वान गरेको समयमै प्रक्रिया पुर्‍याएर दाबी प्रस्तुत गर्दा पनि त्यसलाई राष्ट्रपतिले लत्याएको आरोप लगाएका छन्।

Advertisement

‘राष्ट्रपतिले गरेको आह्वानको आधारमा मैले प्रतिनिधिसभामा तत्काल कायम रहेका सदस्य संख्याको स्पष्ट बहुमतसहित १४९ जना माननीय सांसदहरुको हस्ताक्षरसहित प्रधानमन्त्रीका लागि दाबी प्रस्तुत गरेँ। नेपालको संविधान बमोजिम राष्ट्रपतिले मलाई तत्काल प्रधानमन्त्रीमा नियुक्त गर्नु पर्नेमा त्यसलाई इन्कार गर्नु भयो,’ देउवाले भनेका छन्।

प्रतिनिधिसभाबाट विश्वासको मत गुमाइसकेका ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नु अनैतिकसमेत भएको देउवाको दाबी रह्यो। ‘बरु एक पटक प्रतिनिधिसभाबाट विश्वासको मत लिन असफल भई संसदमा स्पष्ट अल्पमतमा परिसकेका र अर्को पटक बहुमत देखाउन नसक्ने स्वयं घोषणा गरिसकेका माननीय ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने काम गरिन्,’ उनले भनेका छन्, ‘नेपालको संविधानको अक्षर र भावना अनुसार माननीय ओलीले प्रधानमन्त्रीका लागि दावी गर्न नसक्ने प्रष्ट अवस्था हुँदाहुँदै त्यस्तो गैर संवैधानिक दावीलाई स्वीकार गरी पुनः उनलाई नै प्रधानमन्त्री तोक्ने कार्य असंवैधानिक मात्र होइन अनैतिक पनि हो।’

Advertisement

सरकार गठनपछि निरन्तर रुपले गैर संवैधानिक र अलोकतान्त्रिक गतिविधि गर्दै लोकतान्त्रिक मूल्य, मान्यताको अवमूल्यन, विधि र पद्धतिको बेवास्ता र संसदीय पद्धतिको खिल्ली उडाउने काम भएको देउवाको दाबी रहेको छ।

संविधानजस्तो सार्वजनिक दस्तावेजलाई राष्ट्रपति  प्रधानमन्त्रीले निजी सम्पत्ति झैं आफू अनुकूल प्रयोग गरेको देउवाको थप आरोप रह्यो।

‘राष्ट्रपति र प्रधानमन्त्रीले नेपाली जनताको आस्थाको केन्द्र संविधान जस्तो सार्वजनिक दस्तावेजलाई निजी सम्पत्तिका रुपमा आफू अनुकूल प्रयोग गरिरहेका छन्,’ उनले भनेका छन्। प्रधानमन्त्रीले हठात् अर्को सरकार गठनको सिफारिस गर्ने, राष्ट्रपतिले २४ घण्टाको पनि समय नदिई प्रधानमन्त्री नियुक्तिको आह्वान गर्ने, संविधान बमोजिम नियुक्त गर्नु पर्नेमा प्रतिनिधि सभाका सदस्यलाई नियुक्त गर्नुपर्ने र दाबी नै गर्न नमिल्ने माननीय ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने कार्य घोर असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी कार्य भएको देउवाको ठहर छ।

‘यी काम राष्ट्रपति र प्रधानमन्त्रीको बदनियतपूर्ण ढंगले मिलोमतोमा षड्यन्त्रपूर्वक भएका छन् भन्ने तथ्य प्रधानमन्त्री नियुक्त भएको १ घण्टामा सबै नेपाली जनता सुतेको बेला मध्यराति प्रतिनिधि सभाको हत्या गरेको घटनाबाट प्रमाणित भएको छ। राष्ट्रपति र प्रधानमन्त्री षडयन्त्र गरी पदको चरम दुरुपयोग गरी नेपालको संविधान समाप्त गर्न उद्दत रहेका छन् भन्ने नेपाली कांग्रेस ठहर गर्दछ,’ देउवाले थप भनेका छन्, ‘नेपाली कांग्रेस यी सबै कार्यको घोर भर्त्सना र निन्दा गर्दछ। संघीय लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानको रक्षाका लागि सबै लोकतन्त्रवादी शक्तिलाई एकजुट भई कार्य गर्न म आह्वान गर्दछु।’

देउवाले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षार्थ राष्ट्रपति र प्रधानमन्त्रीका असंवैधानिक, अलोकतान्त्रिक कार्यका विरुद्ध राजनैतिक र न्यायिक लडाई लड्ने दृढ प्रतिबद्धतासमेत व्यक्त गरेका छन्। आफूलाई प्रधानमन्त्रीमा नियुक्त नगरेकोप्रति रुष्ट देउवाले निर्वाचन घोषणाबारे भने कुनै शब्द प्रयोग गरेका छैनन्। सरकारले प्रतिनिधि सभा विघटन लगत्तै कातिक २६ र मंसिर ३ गते गरी दुई चरणमा निर्वाचन घोषणा गरेको छ। यसअघि देउवाले निर्वाचनका लागि तयारी रहन कार्यकर्तालाई निर्देशन दिँदै आएका थिए।

प्रतिक्रिया