वाग्मती प्रदेशमा आज राष्ट्रियसभाको उपचुनाव हुँदे

विदुर खबर २०७८ जेठ ६ गते ७:५१

नुवाकोट । वाग्मती प्रदेशमा रिक्त राष्ट्रिय सभा सदस्यका लागि आज उपचुनाव हुँदैछ । हेटौँडामा बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ ।

Advertisement

उपचुनावमा एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा, कांग्रेस र माओवादी केन्द्रको समर्थनमा खिमलाल देवकोटा तथा नेपाल मजदुर किसान पार्टीबाट कृष्णगोपाल तामाङले उम्मेदवारी दिनुभएको छ ।

माओवादी केन्द्रले गृहमन्त्रीसमेत रहेका राष्ट्रिय सभा सदस्य थापालाई दल त्यागको अभियोगमा कारबाही गरेकाले पद रिक्त भएपछि उपचुनाव हुन लागेको हो । एमालेले आधिकारिक रुपमा थापालाई उम्मेदवार बनाए पनि झलनाथ खनाल र माधव नेपाल पक्षले उम्मेदवारी दर्ताको बेला देवकोटालाई समर्थन गरेको थियो ।

Advertisement

यो उपचुनावमा वाग्मती प्रदेशसभा सदस्य १ सय १० र  प्रदेशअन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २ सय ३८ गरी ३ सय ४८  मतदाता  कायम रहेको  आयोगले जनाएको छ ।

जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र मकवानपुरले मतदाताको बसोबास र मतदान व्यवस्थापन स्वास्थ्य सुरक्षा मापदण्डका आधारमा प्रबन्ध मिलाइएको जानकारी दिएको छ । हेटौँडा नगरपालिका-४ को भुटनदेवी माध्यमिक विद्यालयमा कायम गरिएको तीन  केन्द्रमा मतदान हुनेछ ।

Advertisement

केन्द्रमा प्रदेशसभा सदस्य, पालिकाका जनप्रतिनिधि र  कोभिड सङ्क्रमित मतदाताका लागि बेग्लाबेग्लै मतदानको व्यवस्था मिलाइने छ ।

उपचुनावमा यसअघिका विभिन्न निर्वाचनमा जारी भएका मतदाता परिचयपत्र, नागरिकता वा राष्ट्रिय परिचयपत्रलगायत कागजात देखाएर मतदान गर्न सकिने व्यवस्था गरिएको छ  ।  लुम्बिनी प्रदेशको राष्ट्रिय सभा उपचुनाव भने जेठ १७ गते हुने छ ।

 

प्रतिक्रिया