त्रिशुली अस्पतालमा पर्याप्त जनशक्ति नहुँदा उपचारमा सकस

विदुर खबर २०७८ जेठ १ गते १२:४२

नुवाकोट । नुवाकोटको त्रिशुली अस्पतालमा जनशक्ति अभाव हुँदा कोभिड संक्रमितहरुको उपचार गर्न सकस परेको छ ।

Advertisement

त्रिशुली अस्पतालको कोभिड जनलर वार्डमा ३१ जना संक्रमितहरु उपचार गराइरहेका छन् । ५ जना आइसियू र २ जना भेन्टिलेटरमा गम्भिर संक्रमितहरु उपचाररत छन् । त्रिशुली अस्पतालमा स्वास्थ्यकर्मीको जनशक्ति अभाव हुँदा कोभिड बेड बढाउँदै लैजान समस्या भएको अस्पतालको मेडिकल सुपरिटेण्डेण्ट दिपेन्द्र पाण्डेले बताए ।

अहिले ४० संक्रमितलाई उपचार दिन सक्ने भएपनि ५० बेडसम्म पु-याउन आवश्यक छ । ‘संक्रमितलाई उपचार गर्ने बेडमात्र बढाएर के गर्नु जनशक्ति नै कम भएपछि’, उनले भने, ‘जसोतसो हामीले व्यवस्थापन गरिरहेका छौं ।’ 

Advertisement


शुक्रबार त्रिशुली अस्पतालमा २ वटा भेन्टिलेटर जडान गरिएको छ । यसअघि २ भेन्टिलेटर संचालनमा थिए । अस्पतालले पहिलै खरिद गरेर राखेको भेन्टिलेटर जडान भएको हो । अस्पतालमा ४ वटा हाइ डिपेन्डेन्सी (एचडियू) बेड भएपनि कोभिड–१९ संक्रमितको लागी प्रयोगमा ल्याइएको छैन ।

 ‘अस्पतालले कोभिड संक्रमित बाहेकका बिरामीहरुलाई पनि उपचार गर्दै आएको छ । उनीहरुलाई आवश्यक परेमा एचडियू बेडमा राख्ने गरेका छौं’  अस्पताल प्रमुख पाण्डेले भने । अस्पतालले अक्सिजन प्लान्ट राखेर आफै अक्सिजन उत्पादन गर्दै आएको छ । अन्य अस्पतालहरु अक्सिजन नभएर सन्त्रालय भइरहेको समयमा त्रिशुली अस्पतालमा अक्सिजन अभाव छैन । अस्पतालमा नुवाकोट, रसुवा र धादिङ जिल्लाका नागरिकहरुको पिसिआर परीक्षण हुँदै आएको छ । 

Advertisement


यता त्रिशुली अस्पतालमा स्वास्थ्यकर्मीको माग अनुसार जनशक्ति पूर्ति नभएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । दुर्गम स्थानमा स्वास्थ्यकर्मीहरु जान इच्छुक नभएकोले तत्कालै पठाउन नसकिएको मन्त्रालयको प्रवक्ता डा. पुरुषोत्तमराज सेढाईले बताए । उनले अन्य अस्पतालहरुले खुलाएको विज्ञापनमा सर्टलिस्टमा परेकाहरुलाई सकेसम्म छिटो त्रिशुली अस्पताल पठाउने प्रयास गरिरहेको जानकारी दिए । 

यसैबिच बागमती प्रदेश सरकारले २ सय थान अक्सिजन सिलिन्डर खरिद पक्रिया अघि बढाएको छ । तत्कालको लागि स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र बागमती प्रदेशले खरिद पक्रिया अघि बढाएको प्रवक्ता सेढाईले बताए ।  
  

प्रतिक्रिया