बहुमतको सरकार गठनको आज अन्तिम दिन

विदुर खबर २०७८ वैशाख ३० गते ९:१८

नुवाकोट । दुई वा दुई भन्दा बढी दल मिलेर बहुमतको आधारमा सरकार गठन गर्न राष्ट्रपतिले दिएको समयसीमा आज सकिंदै छ ।

Advertisement

तर राजनीतिक दलहरुबीच नयाँ सत्ता गठबन्धन बन्न सकिरहेको छैन । सत्ता समीकरणमा निर्णायक जस्तो देखिएको जनता समाजवादी पार्टी (जसपा) नयाँ सरकार गठनको विषयमा दुई धारमा बिभाजित भएपछि नयाँ सरकारको नेतृत्व गर्न कस्सिएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस अप्ठ्यारोमा परेको छ । त्यसैले कांग्रेस अब एमालेको माधव नेपाल पक्षसँग सहकार्यको हात बढाउने रणनीतिमा जुटेको छ ।

कांग्रेस नेता एनपी साउदले एमालेभित्रको अन्तरविरोधलाई नजिकबाट नियालीरहेको र सभापति शेरबहादुर देउवाले माधव नेपाल पक्षका नेताहरुसँग छलफल जारी राखेको बताए । नेता साउदले भने, ‘हामी सबै पक्षलाई मिलाएर अघि बढ्न चाहन्छौं यसैक्रममा एमालेभित्रको उत्पीडित र असन्तुष्ट पक्षसँग पनि हाम्रो छलफल भइरहेको छ ।’

Advertisement

यद्यपि नयाँ सत्ता समीकरण बन्ने गरी प्रगति नभइसकेको उनले स्वीकार गरे । नेता साउदले भने, ‘जसपाले एक ढिक्का भएर निर्णय गरिसकेको छैन । यहीबीचमा डा. बाबुराम भट्टराईको पछिल्लो धारणालाई संशय पैदा गरेको छ ।’ डा. भट्टराईले पूर्व र बहालवाला प्रधानमन्त्री बाहेकको नेतृत्वमा नयाँ सरकार गठन गर्नुपर्ने धारणा ट्वीटरमार्फत् सार्वजनिक गरेका थिए ।

दुई वा दुईभन्दा धेरै दल मिलेर बहुमतको सरकार बनाउन नसके संविधानको धारा ७६ को उपधारा ३ अनुसार सबभन्दा ठूलो दलको हैसियतले फेरि ओलीकै नेतृत्वमा सरकार बन्ने सम्भावना छ ।

Advertisement

तर ओलीले फेरि पनि ३० दिन भित्र विश्वासको मत लिनुपर्छ । विपक्षीको अहिले अहिलेसम्मको स्थितिलाई हेर्दा ओलीको पक्षमा विश्वासको मत पुग्ने देखिंदैन । संसदमा कसैको पनि बहुमत नपुग्ने स्थिति आएमा संसद विघटन गरी देश पुनः चुनावमा धकेलिने नेताहरु बताउँछन् ।

प्रतिक्रिया