रसुवागढी नाकामा उच्च सर्तकता, बाह्य व्यक्तिलाई प्रवेश निषेध

विदुर खबर २०७८ वैशाख २१ गते १४:३४

नुवाकोट । देशभर कोरोना संक्रमण बढ्दै गएपछि उत्तरी व्यापारिक नाकामा उच्च सुरक्षा सर्तकता अपनाउन शुरु गरिएको छ ।

Advertisement

व्यापार सहजताका लागि नेपालले अधिकतम् सुरक्षा अपनाउनु पर्ने भन्दै चिनियाँ प्रशासनको आग्रहपछि रसुवागढीमा बाह्य मानिसको प्रवेश समेत रोकिएको भन्सार कार्यालयहरुले जनाएका छन् । रसुवागढी नाकाभन्दा डेढ किलोमिटर वरबाटै मानिसहरुको प्रवेशलाई अहिले निषेध गरिएको रसुवागढी भन्सार कार्यालय प्रमुख रामप्रसाद रेग्मीले बताए ।

खोपको मात्रा पूरा गरेका, क्वारेन्टिनमा बसेका र व्यापारसँग सम्बिन्धत जनशक्ति मात्रै अहिले नाकामा रहेको भन्सारका कार्यालय प्रमुख रेग्मीले बताए । कोभिड सुरक्षा सर्तकताका लागि चिनियाँ पक्षले निकै चासो दिएको पनि उनले बताए ।

Advertisement

‘नेपालमा संक्रमण बढेपछि चिनियाँहरुले निकै चासो देखाएका छन् । बोर्डरमा रहेका सबै जनशक्तिले खोप लगाएका छन् भने पीपीई, स्यानिटाइज र ज्वारो नापेर मात्र काममा खटिने गरेका छन्,’ भन्सार प्रमुख रेग्मीले थपे, ‘बोर्डर प्वाइन्टभन्दा डेढ किलोमिटर पर नै प्रहरीले नयाँ मानिसलाई प्रवेश रोकेको छ । नाकासम्म कोभिडको असर पर्न नदिन हामी सचेत छौं ।’

सरकारले तोकेको पूर्ण स्वास्थ्य मापदण्डको बोर्डरमा अधिकतम पालना गरेको पनि उनले बताए । कुनै पनि हालतमा नाकाको व्यापार कोभिडका कारण प्रभावित नहोस् भन्नेमा भन्सार प्रशासन सचेत रहेको रेग्मीले बताए । पछिल्लो समय नाका भएर आउने कन्टेनरको संख्या पनि बढेको उनले बताए । पहिले दैनिक पाँच सात वटा मात्रै कन्टेनर नेपाल भित्रिने गरेकोमा त्यो संख्या अहिले दैनिक ८ वटासम्म पुगेको उनले बताए । नाकाबाट स्याउ, लसुन, ओखर, जलविद्युत परियोजनाका सामानहरु आयात भइरहेका छन् ।

Advertisement

प्रतिक्रिया