कहाँ होलान् दुप्चेश्वरका छोरीहरू !

विदुर खबर २०७८ वैशाख १२ गते १२:१०

नुवाकोट । दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीका ६८ वर्षीय श्याम तामाङकी २४ वर्षीया जेठी छोरीको पोहोर मृत्यु भयो । १५ वर्षमै बेचिएकी उनी एचआईभी संक्रमित भएपछि भारतबाट गाउँ फर्किएकी थिइन् तर फर्किएको एक वर्ष पनि बाँचिनन् ।

Advertisement

‘तलबाट आउँदै बिरामी थिई,’ श्यामले भने, ‘उपचार गर्न काठमाडौं लगेको हो तर खसी ।’ दिदीसँगै बेचिएकी उनकी माइली छोरी भने अहिले घरमै छिन् । १० वर्षअघि गाउँकै मान्छेले जागिरको प्रलोभन देखाइवरी श्यामलाई २० हजार रुपैयाँ थमाएर उनका दुई छोरी लगेका थिए । छोरीहरूलाई काम पनि दिने आफूलाई पैसा पनि हुने भएपछि श्यामले राजीखुसी छोरीलाई दलालको साथ लगाएर पठाएका थिए ।

‘त्यसो भए त तपाईंले आफ्नै छोरीहरूलाई १०/१० हजारमा बेच्नुभएछ !’ कान्तिपुरको यो कुरामा श्याम सहमत देखिएनन् । उनले भने, ‘त्यतिखेर पैसा लिएर जल्ले पनि छोरी पठाउँथ्यो, अहिले कोही–कोहीले मात्रै पठाउँछन् ।’ श्यामको उत्तरले उक्त भेगका अभिभावकको मनोवृत्ति त बुझाउँछ नै, जागिरको प्रलोभन आर्थिक अभावमा हुर्किरहेका गाउँले छोरीहरूलाई पासोमा पार्ने सजिलो उपाय बनिरहेको पनि देखाउँछ ।

Advertisement

जिन्दगी नफक्रिँदै बेचिएका उनका छोरीहरू एक दशकपछि घर फर्किंदा ओइलाइसकेका थिए । जेठी छोरीले रोग बोकेरै आएकी थिइन्, धेरै बाँच्न पनि सकिनन् । बाँचिरहेकी २३ वर्षकी माइली छोरी पनि कमजोर छिन्, खेतीबालीको काम गर्न सक्दिनन् । ‘अब उसलाई लान पनि कसैले लाँदैन, काम गर्न पनि सक्दिनँ,’ श्यामले निराशाको भावमा भने, ‘पैसा कमाउन गा’की छोरी बिमार पो बोकेर फर्किई ।’

शिरमेन्दो तामाङको घर अरूको भन्दा फरक छ । नीलो जस्ताले छाएको घरमा रङरोगन पनि गरिएको छ । काठैकाठले बनेको घरको भित्रीभाग सफा र चिटिक्क छ । २५ वर्षअघि एकाएक घरबाट हराएकी उनकी जेठी छोरी गतसाल मात्रै फर्किइन्, अलिकति पैसा पनि ल्याएकी रहिछन् । उनीहरूले अलिक सुबिस्ताको घर बनाए । ७८ वर्षीया शिरमेन्दोकी छोरी अहिले उमेरले ५० वर्ष कटिसकिन् । उनलाई कसले कसरी दिल्लीसम्म लग्यो, एक एक थाहा छ तर अब त्यो सब भनेर कुनै फाइदा नभएको उनले बताइन् । ‘मेरो भाग्यमा त्यही लेखेको थियो होला,’ उनले भनिन्, ‘भैगो यो कुरा नै नगरम् ।’ सायद जिन्दगीका सबैभन्दा उर्बर वर्षहरू भारतका कोठीहरूमा बिताएकी उनीसँग बाँकी भन्नु अब दुई मुठी सासमात्रै छ ।

Advertisement

‘बिमारले थलिएपछि इन्डियामा केही काम गर्न सकिनँ, गाउँ फर्किएर आएँ,’ उनले भनिन् । जाँचपडताल नगरेकाले न उनलाई लागेको रोगको पहिचान भएको छ न त उनले नै जँचाउने जाँगर चलाएकी छन् । शिरमेन्दोकी छोरीले सुनाइन्, ‘कहिलेकाहीं त यतिधेरै खोकी लाग्छ कि, खोक्दा खोक्दै रात कट्छ ।’ भारतको कोठीमा छँदा पनि गाउँले, दौंतरी र आमालाई नसम्झिएकी भने होइनन् । तर परिबन्दले उनलाई गाउँ फर्किन दिएन तर मनले गाउँ बिर्सिन मानेन ।

उनी उतै छँदा यता गाउँमा सबैथोक बदलियो । साथीसंगी गाउँमा उति भेटिँदैनन्, नयाँ पुस्ताका युवायुवतीले उनलाई चिन्दैनन् । अँध्यारोमा बिताएको लामो समयले होला उनलाई आफैं हुर्किएको आँगन र दौडिएको पखेरा बिरानो लाग्छ रे । आफूलाई सकभर घरबाहिर निस्कन मन नलाग्ने सुनाउँदै उनले भनिन्, ‘एउटै कोठामा थुनिएर बस्ने बानी नै लागिसक्यो मेरो त ।’ कोठीभित्रका ‘दर्दनाक’ जिन्दगीको २५ वटा वर्ष बिताउँदा उनलाई आमाको याद नआएको कुनै त्यस्तो दिन थिएन । ‘उता हुँदा सबैभन्दा धेरै आमाकै याद आउँथ्यो, आफ्नी आमा र आफ्नो भाषा बिर्सिने मान्छे त मान्छे नै होइन नि,’ उनले भनिन्, ‘तर साहूले बिरामी भएर काम गर्न नसक्ने भएपछि मात्रै छाडिदियो ।’ हामीसित अप्ठ्यारो गरी नेपालीमा बोलेकी उनी बीचबीचमा हिन्दी शब्दहरू मिसाउँथिन्, आमासँग भने तामाङ भाषामा नै बोल्थिन् ।

रामबहादुर तामाङ ३५ वर्षका भए । बाल्यकाल सँगै बिताएकी उनकी बैनी अहिले ३३ वर्षकी भइन् । रामबहादुरले बैनीलाई भेट्न नपाएको १३ वर्ष भइसक्यो । वर्षौंअघि हराएका अरूका दिदीबैनी फर्केको देख्दा उनको मनमा आशा पलाउँछ, कतै मेरी बैनी पो कुनै दिन टुप्लुक्क आइपुग्छे कि ? ‘तर अब त देख्यो भने पनि चिन्दिनँ होला,’ रामबहादुरले आफैंलाई शंका गरेजसरी भने, ‘गएदेखि खबर पनि आएन, ज्युँदो छे कि बितिसकी, थाहै छैन, कहाँ होला बैनी !’

रामबहादुरकी बैनी मात्रै हैन, त्यो बेला उनीसित खेल्ने धेरै दौंतरी गाउँबाट एकाएक ओझेल परे । कतिको खैखबर केही आएन, कोही बिरामी भएपछि फर्किए, कति उतै बितिगए । रामबहादुरका अनुसार उनको वडाबाट छोरीहरू अहिले पनि महिना, दुई महिनामा हराइरहेको सुनिन्छ तर भेटिएको सुनिँदैन । छोरीबुहारी हराएको उजुरी गर्न प्रहरीसम्म गाउँले पुग्दैनन्, प्रहरी अवस्था के छ भनेर गाउँसम्म आउँदैन । एकाएक दिदीबैनी अलप भएपछि पारि घोप्टेभीरतिर हेरेर टोलाउने रामबहादुरजस्ता दाइभाइको हरहिसाब राखेकै छैन घ्याङ्फेदीले ।

गाउँमा महिला र किशोरी बेचबिखन रोकिँदै नरोकिएपछि केही गाउँले युवा जागरुक भए । उनीहरूकै सूचनाका आधारमा बेचिएका छोरीहरूको उद्धार पनि भयो । बेचबिखन रोकथामका लागि पहल गर्ने अम्बर तामाङले ७ वर्षसम्म दिल्लीका कोठीमा कष्टकर जीवन बिताएकी बिना तामाङसँग बिहे गरे । १४ वर्षीया बिनालाई बेच्ने उनका काकाविरुद्ध मुद्दा लडे र जिते पनि । २४ वर्षीया बिना र ३१ वर्षका अम्बरको अहिले २ सन्तान छन् । ‘यही सिसिपु गाउँका छोरीहरू पहिलेजस्तो हराएका त छैनन्,’ अम्बर भन्छन्, ‘तर हराएका छैनन् भनेरै खुसी मान्नैपर्ने पनि छैन, हाम्रो गाउँबाट नहराए पनि अर्को गाउँबाट हराएको खबर दिनदिनै सुनिन्छ ।’

अम्बरजस्ता धेरै युवा गाउँमा देखिएका त छन् तर उनीहरूले सुरु गरेको काममा भाँजो हाल्नेको कमी छैन । ‘गाउँले महिला बेचबिखनका विषयमा कुरै गर्न खोज्दैनन्,’ अम्बरले भने, ‘हामीले युवा क्लब गठन गरौं भनेर लागेको धेरै भइसक्यो तर राजनीति हुन्छ, कोही क्लबमा बस्नै मान्दैन ।’ गाउँस्तरमै सचेतना फैलाउने भनेर उनीहरूले सुरु गरेको युवा क्लब २ महिना पनि टिक्न सकेन । ‘जो आए पनि यौनशिक्षा र मानव बेचबिखनविरुद्धको शिक्षा दिने मात्रै भन्छन्, हामीलाई छाक टार्ने समस्या छ,’ स्थानीय कामी तामाङले गुनासो गरे ।

घ्याङ्फेदीबाट १० वर्षअघि हराएकी निर्मला नुवाकोटको तादी गाउँपालिकामा पोहोर एकाएक देखा परिन् । त्यहाँका तीन बालिकालाई फकाईफुल्याई काठमाडौंको गोंगबुसम्म पुर्‍याइन् । त्यहाँबाट अर्को व्यक्तिले भैरहवा नाका र अर्को एक जनाले कोलकाताबाट भारतको सोनागाछीसम्म पुर्‍याउने उनीहरूको योजना थियो । तर बालिकाहरूलाई सीमा नाकाबाट उद्धार गरियो, तस्करहरूलाई पक्राउ गरियो । निर्मलालाई १० वर्षअघि गाउँबाट यसैगरी लगिएको थियो । त्यतिखेर फकाईफुल्याई भारत पुर्‍याइएका निर्मलाजस्ता अरू पनि महिला बेलाबेला गाउँतिर देखिइरहने स्थानीय बताउँछन् । घ्याङ्फेदीको बुलुङ र सिसिपु गाउँमा यस्ता कहानी घरघरमा भेटिन्छन् । यी गाउँमा आफन्त नबेचिएको मान्छे भेट्न मुस्किल छ ।

दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ अर्थात् साविकको घ्याङ्फेदी गाविस वडा नम्बर ६ मा पर्ने सिसिपु गाउँभन्दा माथि अर्को कुनै बस्ती छैन । १० वर्षअघिसम्म महिला तथा किशोरी बेचबिखनका लागि कुख्यात मानिएको यही गाउँबाट अहिले छोरीचेली हराउन छाडेको दाबी स्थानीय बासिन्दाको छ । तर उनीहरूको दाबी पुष्टि हुने गरी गाउँमा युवती र किशोरी भेटिँदैनन् । करिब सय घरपरिवारभरिमा भेटिएका ८/१० जना युवती पनि विदेश जाने भनेर पासपोर्ट बनाएर बसेका छन् । ‘कुन घरमा कति जना छोरी छन् औंलामै गन्न सकिन्छ,’ स्थानीय राजु तामाङले भने ।

गाउँबाट बेचिएका कति छोरी फर्कंदै फर्किएनन् । जो–जो फर्किए बुढ्यौली, रोग र दुःख बोकेर आए । ‘बस्न पो हामी गाउँको शिरमा बस्छौं, हाम्रो पीर कति गहिरो छ, छ नि,’ शेरबहादुर तामाङले भने, ‘सानोमा सँगै खेलेका दौंतारी कता पुगे कता, अब त भेट पनि हुन्न होला ।’ गाउँका अधिकांशसँग कुरा गर्दा उनीहरूले गाउँका छोरीबुहारीलाई जागिर मिलाइदिन्छौं भनेर लाने र उतै बेपत्ता पार्नेहरूको चित्र मनभित्र राखेका छन्, तर भन्न डराउँछन् । ‘हामीभन्दा उनीहरू (तस्करहरू) बलिया छन्, उजुरी गर्‍यो भने पनि पैसा खुवाएर छुट्छन्, गाउँमा आएर तर्साउँछन्,’ स्थानीय एक युवाले भने, ‘तस्करहरूले गाउँगाउँमा सुराकी राखेका छन् ।’ सायद यसैकारण अधिकांश गाउँले महिला बेचबिखनको विषयमा खुलेर बोल्न चाहँदैनन् । दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ तिनै सातवटा गाउँ हो, जहाँका वडाध्यक्ष सुनबहादुर तामाङ मानव बेचबिखनको मुद्दामा १८ महिना जेल बसेर पोहोर असार ३० गते निस्किए ।

‘हाम्रो गाउँ लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्छ, अरू जंगली जनावर त के बर्खामा स्याउँस्याउँ पाइने जुका बेचियो भने पनि आर्मीले लगिहाल्छ,’ दुप्चेश्वर–१, सिसिपुका आशिक तामाङले भने, ‘तर छोरीचेली बेच्न छुट छ ।’ आशिककी श्रीमती रीनालाई पनि भारतमा रोजगारी दिन्छौं भनेर केही मान्छे फकाउन आएका थिए । ‘तर म मान्दै मानिनँ, उनीहरू अर्को गाउँतिर गए,’ रीनाले सुनाइन् । रीनाका अनुसार राम्रो काम खोजिदिन्छौं भन्नेहरू कोही गाउँकै हुन्छन्, कोही नचिनेकाहरू पनि । ‘कहिलेकाहीं त केटीहरू पनि आउँछन्,’ रीनाले भनिन् । तर हराउनेको लगत कसले राख्लान् र ! ‘हराउने त कति हो कति हराइरहेकै हुन्छन्, हामीले पनि थाहा पाउन्नौं ।’

उनै आशिकले गत वर्ष बुलुङ गाउँका दुई किशोरीलाई दलालले लगेको खबर प्रहरीलाई गरे । गाउँपालिकाको केन्द्र समुद्रटार पुगेपछि प्रहरीले किशोरीहरूको उद्धार गर्‍यो । ‘एक जना जेलमा परिसक्यो, अर्को एक जनालाई भेट्टाउन सकिएको छैन, अर्कै गाउँमा गएर केटीहरू फकाउँदै छ कि,’ आशिकले भने, ‘उसलाई पक्रिन पाए दिदीबहिनी सुरक्षित हुन्थे ।’ तर सबैको यसरी उद्धार गर्न सम्भव हुँदैन । आशिककै अनुसार पनि गाउँमा उद्धारमा भन्दा तस्करीमा खटिनेको सञ्जाल बलियो छ ।

स्थानीय सरकारसँग आफ्नो पालिकामा बेचबिखनमा परेका र उद्धार भएका महिलाबारे कुनै तथ्यांक छैन । दुप्चेश्वर गाउँपालिकाकी उपाध्यक्ष अञ्जु आचार्यले दुप्चेश्वर–१ घ्याङ्फेदीमा चेलीबेटी बेचबिखन धेरै हुन्छ भन्ने हल्ला आफूले पनि सुन्ने गरेको तर त्यसको पुष्टि कतैबाट नभएको बताइन् । ‘कतै नयाँ मान्छे भेटिएर चिनजान गर्दा ठेगाना भनेपछि चेलीबेटी बेचबिखन हुने ठाउँको हो भनेर सोध्छन्, यसले हाम्रो पनि मन दुख्छ,’ आचार्यले भनिन् । उनले गाउँपालिकामा बेचबिखनको स्थिति कस्तो छ भनेर गत वर्ष लगत संकलन गर्ने योजना बनाए पनि लकडाउनका कारण नसकिएको जानकारी दिइन् । ‘यसपालि लगत संकलन गर्ने योजना छ, त्यसका लागि सबै वडामा जनशक्ति परिचालन गर्दै छौं,’ उनले भनिन् ।

मानव बेचबिखन नियन्त्रणकै क्षेत्रमा काम गर्ने शक्ति समूहका अनुसार नुवाकोटमा विद्यालय तहका ६७ प्रतिशत बालिका बेचबिखनको उच्च जोखिममा छन् । समूहले दुप्चेश्वरका सातवटै वडा, ताँदी गाउँपालिकाको वडा नं. २, पञ्चकन्याको वडा नं. ४ र शिवपुरीको वडा नं. १ मा यो सर्वेक्षण गरेको थियो । समूहसँग पनि देशभरबाट कति महिला हराए भन्ने तथ्यांक छैन । तर उद्धार भएर सेल्टरमा बस्न आउनेमध्ये ३ प्रतिशत महिला नुवाकोटका छन् । तीमध्ये सबैभन्दा धेरै घ्याङ्फेदीकै छन् । स्थानीयका अनुसार भूकम्पअघिसम्म तत्कालीन घ्याङ्फेदी गाविसका सातवटै वडामा छोरी बेचिएको र नबेचिएको घर स्पष्टै छुट्टिन्थ्यो । ‘भूकम्प हाम्रा लागि देवता बनेर आयो, म त भूकम्पलाई धन्यवाद भन्छु,’ बुलुङका आइत तामाङले कान्तिपुरसँग भने, ‘भूकम्प पहिले छोरीहरू बेचिएका घरमा मात्रै जस्ताको छानो हुन्थ्यो, अरूको घरका छानो काठको फलेकको । भूकम्पले सबै भत्काइदियो, अहिले सबैको घर टिनले छाएको छ, हामी सबै बराबर छौं ।’

गरिबी र बेरोजगारीले आक्रान्त गाउँमा छोरीलाई रोजगारी दिन्छौं भनेर आउनेले बाआमालाई समेत केही पैसा दिने भएपछि अभिभावक लोभिनुलाई गाउँले स्वाभाविक मान्छन् । छोरीलाई दलालको जिम्मा लगाउँदा आउने पैसाले उनीहरूको घरको गर्जो टर्छ, अर्कोतिर किशोरीहरू आफैं पनि तस्करका मीठा कुरामा लोभिइन्छन् । ‘उनीहरू कि किशोरीहरूलाई बिहे गर्छु भन्छन्, या जागिर लगाइदिन्छु भन्छन्,’ मानव बेचबिखनका मुद्दामा १० वर्षदेखि वकालत गर्दै आएका अधिवक्ता दीपक कोइरालाले भने, ‘यी दुवै विषयले गरिबी र बेरोजगारीसँग जुधिरहेका युवतीलाई छिट्टै आकर्षित गरेको देखिन्छ ।’

घ्याङ्फेदीबाट कति महिला हराएका छन् भन्ने तथ्यांक कसैसँग छैन । ‘केटाहरू इन्डिया गएका छैनन्, काम गर्न भनेर गएका केटीहरू गाउँ आएका छैनन्,’ स्थानीय अगुवा सानु तामाङले भने, ‘तर यहाँका पसलमा गएर हेर्नुस्, नेपालीभन्दा आईसी (भारतीय मुद्रा) पैसा धेरै चल्छ, यो अनकन्टार ठाउँमा कहाँबाट आउँछ आईसी ?’ उनका अनुसार भारतमा बेचिएका छोरीहरूले कहिलेकसो मौका मिल्दा घरमा पैसा पठाइदिन्छन् ।

छोरीहरू स्कुल बाहिर हुनु पनि बेचबिखनको जोखिममा पर्नुको मुख्य कारण भएको स्थानीय नेता कर्मजित तामाङ बताउँछन् । ‘गाउँमा छोरालाई पढाउनुपर्छ भन्ने चेतना आएको छ, तर अहिले पनि छोरीहरू स्कुलबाहिर छन्,’ कर्मजितले भने, ‘वडा नम्बर १ भरि ८ सय चानचुन घर छन्, एउटा घरका २ जना बच्चाको हिसाब गर्ने हो भने पनि १६ सय बच्चा स्कुलमा हुनुपर्ने हो तर जम्मा साढे २ सय विद्यार्थी मात्रै स्कुलभित्र छन् ।’ शक्ति समूहको सर्वेक्षणले पनि विद्यार्थी स्कुल बाहिर हुनुलाई बेचबिखनको मुख्य कारण हो भनेको छ ।

‘बिहे गर्ने केटी पनि पाएनौं’

को, कसका छोरी कहिले कहिले बेचिए उनीहरू एक/एक भन्न सक्छन् । कसका छोरीलाई कुनचाहिँ तस्करका मान्छेले बेचे भन्ने पनि गाउँलेलाई थाहा छ । तर सबैतिर गरी ठ्याक्कै कति जना बेचिए भन्ने हिसाब गाउँलेले राखेका छैनन् । ‘गनेर साध्य पनि छैन,’ घ्याङ्डाँडाकी कल्पना तामाङले भनिन् । स्थानीय प्रशासन र प्रहरीमा पनि त्यो रेकर्ड छैन । स्थानीय बासिन्दाका अनुसार २०६५ देखि ०७० सालका बीचमा गाउँबाट असाध्यै धेरै किशोरी र युवती हराए । गाउँमा आफ्ना उमेरका युवती नभएपछि त्यो बेला १८ देखिमाथि २५ वर्षबीचका २७ जना युवाले बिहे गर्न पाएनन् । ‘नाम त मेरो नलेखिदिनुहोला मिस,’ एक स्थानीयले भने, ‘मंसिर थियो, अब दुई चार दिनमा भागौंला भनेर सल्लाह गरेकी केटीलाई दलालले फकाएर बेच्न लगेछ, ऊ गएपछि बिहे गर्न पनि मन लागेन ।’ उनले माया गरेकी ती किशोरीको अवस्था के होला बेलाबेला सोच्छन् पनि उनी । स्थानीय राजु तामाङका अनुसार मानव बेचबिखनका कारण कतिपय घरमा एउटा पुस्ता नै नहुनेजस्तो देखिएको छ । सिसिपु गाउँको चलनअनुसार १८ देखि २० वर्षको बीचमा अधिकांश युवाको बिहे भइसक्छ । ‘टाढाबाट बिहे गर्न त मिल्थ्यो होला तर गाउँबाट केटाहरू बाहिर नै निस्किँदैनन्, डाँडापाखामा बाउबाजेको छाला टाँसिएको हुन्छ, यतै सेवा गर्नुपर्छ भन्छन्,’ अनिश तामाङले भने, ‘उमेरमा त मेरो पनि बिहे भएन, एक पटक मलेसिया गएर आउँदा सिन्धुपाल्चोककी केटी भेटेर बिहे गरें ।’ ३५ वर्षीय अनिश गाउँका केटी बेचिएर सकिएकाले आफूले उमेर घर्किएपछि मात्रै बिहे गर्न पाएको बताउँछन् ।

स्थानीय ४१ वर्षीय छार लामाको कहानी भने अलिक फरक भेटियो । ३७ वर्षसम्म बिहे नभएपछि अब जोडी भेटिएला भन्ने आस मारिसकेका रहेछन् । तर ५ वर्षअघि दुप्चेश्वरमा मेला भर्न गएका बेला भेटिएकी १४ वर्षकी पासाङ ल्हामु तामाङलाई उनले जबर्जस्ती तानेर ल्याए र बिहे गरे । आफ्नो बुबाभन्दा एक वर्ष जेठा छारसँग बिहे गरेकी पासाङलाई सिसिपु आउँदासम्म बिहे गरेपछि के हुन्छ भन्ने थाहा थिएन । ‘मलाई केही पनि थाहा थिएन, उनले जाम भने, म आएँ,’ पासाङले भनिन् । १८ वर्षकी पासाङका २ वर्षकी छोरी र दुई महिने छोरा छन् । छार पनि आफूभन्दा २३ वर्ष कान्छी श्रीमती र एक वर्ष कान्छो ससुरा पाएकामा दंग छन् । ‘हाम्रो त चलनै यस्तै छ, मन परेकी केटीलाई तानेर बिहे गर्न पाइन्छ,’ छारले भने ।

कान्तिपुर दैनिकबाट ।

प्रतिक्रिया