नयाँ सरकार गठनको गृहकार्यमा कांग्रेस

विदुर खबर २०७८ वैशाख ९ गते ८:५४

नुवाकोट । सरकारको नेतृत्व गर्ने निर्णय गरेको नेपाली कांग्रेसले नयाँ सरकार गठनका लागि गृहकार्य तीव्र बनाएको छ ।

Advertisement

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा कांग्रेसका पूर्वपदाधिकारी तथा वर्तमान पदाधिकारीको बुधबार बसेको बैठकमा सभापति देउवाले नयाँ सरकार गठनका लागि वातावरण सकारात्मक बन्दै गएको ब्रिफिङ गर्नुभएको छ । कांग्रेसका एक नेताले देउवाको भनाइ उद्धृत गर्दै भने– ‘अन्योलता र आशंका हट्दै गएको छ, केही दिनभित्र परिणाम आउँछ ।’

देउवाले बैठकमा माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने जानकारी गराउनुभएको थियो । २० चैतमा बसेको केन्द्रीय समिति बैठकबाट प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने औपचारिक निर्णय गरेको नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्ने विषयमा पहल गर्दै आएको छ ।सरकार गठनका लागि आवश्यक पर्ने सांसदको संख्या पुग्ने सुनिश्चित भएलगत्तै संसद्मा अविश्वासको प्रस्ताव दर्ता गर्ने गरी कांग्रेस अगाडि बढेको छ ।कांग्रेसले माओवादी केन्द्र, जनता समाजवादी पार्टीभित्र डा. बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षका सांसद र नेपाल पक्षका सांसदको साथ पाउने अवस्था सिर्जना भएकाले सरकार बन्ने अवस्था बनेको निष्कर्ष निकालेको हो ।

Advertisement

यसै गरी, कांग्रेसले पार्टीको केन्द्रीय निर्वाचन समितिको संयोजकमा पूर्वसांसद, पूर्वमहान्यायाधिवक्ता एवं वरिष्ठ अधिवक्ता महादेवप्रसाद यादवलाई नियुक्त गर्ने निर्णय गरेको छ । पार्टीको विधान–२०१७ (संशोधन सहित) को धारा ३५ बमोजिम केन्द्रीय निर्वाचन समितिको संयोजकमा उहाँलाई नियुक्त गरिएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल जानकारी दिनुभयो । निर्वाचन समितिका यसअघिका संयोजक राधेश्याम अधिकारीले पदबाट राजीनामा दिएपछि वरिष्ठ अधिवक्ता यादवलाई सो पदमा नियुक्त गरिएको हो ।

कांग्रेसले पार्टीको १४औं महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने तालिका निर्धारण गरेको छ । महाधिवेशनका लागि पार्टीका गाउँ-नगर, वडा अधिवेशन आगामी असार २० गते, गाउँ-नगरपालिका अधिवेशन असार २२ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असार २५ गते निर्धारण गरिएको छ ।

Advertisement

प्रतिक्रिया