मोटरसाइकल चोरी गर्ने नुवाकोटका तीनजना पक्राउ

विदुर खबर २०७८ वैशाख ७ गते ८:५३

नुवाकोट । काठमाडौ तारकेश्‍वर नगरपालिका वडा नं. ६ पैयुटारस्थित घरमै पार्किङमा राखेको मोटरसाइकल चोरी गर्ने तीन जनालाई मोटरसाइकलसहित महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियन्त्रणमा लिएको छ ।

Advertisement

पक्राउ पर्नेमा नुवाकोट पञ्चकन्या गाउँपालिका वडा नं. ४ घर भई हाल तारकेश्‍वर नगरपालिका वडा नं. ९ बस्ने बर्ष २० को नमराज अधिकारी र बर्ष २२ को रामचन्द्र अधिकारी तथा नुवाकोट तादी गाउँपालिका वडा नं. ३ घर भई हाल तारकेश्‍वर नगरपालिका वडा नं. ९ बस्ने बर्ष १९ को रामचन्द्र थापा रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए ।

तारकेश्वर नगरपालिका १० नं. वडा कार्यालय शुभकामना चोक स्थित सडक खण्डमा बास्तबिक नम्वर प्लेटका साथै स्वरूप समेत परिवर्तन गरी बा ८८ प ६७१६ नम्बर प्लेट प्रयोग गरेर चलाई हिडेको अवस्थामा उनीहरूलाई सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले पक्राउ गरेको भट्टराईले जानकारी दिए ।

Advertisement

उक्त मोटरसाईकलको वास्तविक नम्बर बा ९५ प ३३३५ नम्वरको २२० सी.सी. को कालो रातो रङ्गको पल्सर मोटरसाईकल रहेको खुल्न आएको छ । उक्त पक्राउ भएका मोटरसाइकल यहि चैत्र २७ गते तारकेश्‍वर न.पा. – ६, पैयुटारबाट हराएको भनी नुवाकोट पञ्चकन्या गाउँपालिका वडा नं. ४ घर भएका राजु तामाङले हुलिया निवेदन महाशाखामा दिएका थिए ।

पक्राउ गरिएको व्यक्तिसहित उक्त मोटरसाइकललाई चोरी मुद्दामा अनुसन्धान कारबाहिका लागी महानगरीय प्रहरी बृत्त गौशालामा पठाएको महाशाखाले जनाएको छ । पछिल्लो समय उपत्यकाको बिभिन्न स्थानहरूबाट चोरी भई हराएका मोटरसाईकल र चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूको सूचना संकलन एवं निग्रानी राखी बिशेष कारबाही अभियान महाशाखाले चलाएको छ ।

Advertisement

प्रतिक्रिया